ऊ आकाश, अनि म धर्ती
क्षितिज भैदियो
दुनियाँको नजरमा हाम्रो माया
न कहिल्यै मिल्न नै सक्यौँ
न त कहिल्यै छुट्टिन नै
जसरी क्षितिजलाई टाढाबाट हेर्दा
आकाश र धर्ती मिलेको झैँ देखिन्छ
तर वास्तवमा आकाश आकाशमै हुन्छ
धर्ती, धर्तीमै
हो, त्यस्तै छ
हाम्रो प्रेम कहानी पनि।
सधैँ सँगै रह्यौं
तर एक हुन कहिल्यै सकेनौँ
त्यो क्षितिजलाई हेर्छु,
अनि कल्पना गर्छु
त्यो आकाशलाई धर्तीतिर झुक्न
कुनै आवश्यक छैन!
तर धर्ती भने
आकाश छुनका निमित्त
हरदम प्रयत्नशील छ,
निरन्तर लागिपरेको छ
जसरी म,
उसको साथ अनि
माया पाउन प्रयत्नशील छु
हर पल, हर क्षण।
जे हुन्छ, त्यो देखिँदैन
जे देखिन्छ, त्यो वास्तविक हुँदैन
कहिलेकाँही जीवनमा
जे चाहेको हुन्छ, त्यो पाइँदैन
अनि जे पाइन्छ, त्यो चाहेको हुँदैन
कहिलेकाहीँ जीवनमा।
हो,
यस्ता हजारौं झूटा सत्यलाई अँगाल्दै
बाँचिरहेका मानिस
हजार छन् यहाँ
झूटा आशलाई संगाल्दै
बाँचिरहेका मानिस
हजार छन् यहाँ
र ती हजारौंको भिडमध्यको
एक हो म पनि।
झूटा सत्यलाई अँगाल्दै
बाँचिरहेको मानिस
एक हो म पनि।