गजलहरु कोर्दा कोर्दै एकदिन खुब कथा लेख्ने रहर जाग्यो। कथा त लेख्ने तर मसँग कुनै विषवस्तु थिएन। शनिबारको दिन भएर होला बिहान ८ बजेसम्म सहर निदाउँदै थियो। मैले आज सबै काम सकिसकेँ, नुहाइधुवाइदेखि खानपानसम्म।
आज कतै एकान्तमा निस्कन्छु र प्रकृतिको कथा लेख्छु। मनमा यही संकल्प जप्दै यात्रा खुर्कोट सिन्धुली तिर जाने निधो भयो।
काठमाडौँको धुलो धुँवा र कोलाहलले वाक्क भएको मन आज सफा सडकमा स्वच्छ हावा खाँदै दौडिरहेको छ। वीपी राजमार्गमा राखिएको ऐनाहरु हेर्दै थिएँ। मान्छेका एक हुल ताँती माथितिर दौडिँदै थिए।
बुढापाका, अर्धबैंसे, बालबच्चा सबै स्वाऽ स्वाऽ गर्दै। सबैजना यसरी कुदेको देखेर म पनि दौडिएँ। करिब २ घण्टाको उकालो हिँडेपछि एकहुल मान्छे र केही प्रहरीको हुल भएनिर पुगियो।
बुढादेखि अर्धबैंशे सबैको अरुहारमा शून्यता थियो। म पनि अघि सरेँ र त्यहाँ हेरेँ। प्रहरीले भिरबाट खसेर मरेकी महिलाको शवका टुक्राहरु जम्मा पार्दै थियो। साथै यता नआउनु भन्दै सबैलाई हकार्दै थियो।
म भिरको आधा भागमा थिएँ। तर फेरि अचानक त्यो भिरको टुप्पोमा पुगेर मलााई कासी अनि ती वस्तीहरु हेर्न मन लाग्यो।
टुप्पोमा पुगेँ। त्यहाँ एउटा बुढो रुख रहेछ। त्यसैमा अढेस लागेँ। हातले भुँइमा के टेकेको थिएँ च्वास्स काँडा बिझे जस्तो भो। यसो हेर्दा एउटा रातो रुमालमा केही पोको पारे जस्तो देखिन्थ्यो।
डर डर लागेजस्तो भयो। यस्ता रुखमुनि त देउता वा पिसाच राखेको हुन्छ भन्थे न अब केही हुने हो? तर रुमालभित्र केही पुस्तक र कलम भएजसतो लाग्थ्यो।
त्यो बााँधिएको रुमाल खोलेँ। त्यसमा कानमा लागाउने एकजोर रिङ, सुनको औँठी, एउटा कलम र एउटा नोटबुक थियो।
तल महिलाको लासको टुक्रा बटुलेको याद आयो। यो पक्कै उसैको हुनुपर्छ भन्ने लाग्यो। त्यसैले त्यो नोटबुक खोलेँ। नभन्दै हो रहेछ।
त्यस नोटबुकमा यस्तो लेखिएको थियो-
मन मस्तिष्क सबै एकोहोरो थिए। मानौ कुनौ शोकमा डुबेकी छु। कोही कतै नभए जस्तो। लागिरहन्थो विस्तारामा ढलेको यो ज्यान अब सधैँका लागि ढल्नेछ। खै किन कहिले नपलाएको यो सोच अचानक आज आउँदै छ?
दिनको करिब १ बजेको बज्यो। तर पनि ति मस्तिकमा डेरा जमाएका सोचहरुले मध्यरातको निद्रामा आएका सपनाको भान गराउँथ्यो।
एकाएक फोन बज्न लाग्यो। होस हराएको मस्तिष्क पनि झस्किँदै थियो। फोन उठाउन खोज्थेँ तर पनि मनले दोधार मान्थ्यो। लगातार फोन बजिरहेपछि उठाउन बाध्य भएँ र उठाएँ।
'हेलो! कति व्यस्त हो मुइयाँ। तुरुन्त मेरो कोठामा आ, आइनस् भने परिणाम के हुन्छ भनिरहनु नपर्ला!'
एकाएक शरीरका सबै कोष र तन्तु तातेर आएजस्तो भयो। तरपनि मनलाई बलियो बनाएँ। त्यस्ता धम्कीदेखी डराउदिनँ, बरु आत्महत्या गर्छु भन्ने प्रण गर्दै फोन काटेँ।
तुरुन्तै म्यासेन्जरको घन्टी बज्यो। खोलेर हेरेँ। आज फेरि म चेत हराएको अवस्थामा पुगेकी छु। जिउमा खलखल परिना बग्न थाल्यो। बारम्बार आफूलाई चेतना दिने प्रयास गर्थें तर असमर्थ भएँ।
म्यासेन्जरमा एउटा अश्लील भिडिओ आएको थियो। जसमा मेरो चरित्रलाई नाङगो रुपमा हेर्न सकिन्थ्यो। त्यो कुरुप भिडिओ पहिला पनि नदेखेको त होइन तर आज अझै डर लागेको थियो। कारण म उसको विस्तारामा पल्टिनु पर्नेछ।
हातमा भएको स्मार्टफोन भुइँमा खस्यो। अनायासै आँखाबाट दन्दनाएर आएको आँसु मुसलधारे भएर दर्किन लाग्यो।
कास आँखाले देखिने चोटहरु कुनै न कुनै औषधिले निको पार्छ। त्यस्तै मनको घाउ निको पार्ने कुनै मलम भए सायद अहिलेसम्मकै बढी क्रेता मै भइसक्थेँ।
मनमा हरेक किसिमका हड्ताल उत्पन्न थिए। कसैलाई सुनाउन सक्ने हिम्मत ममा थिएन। कारण म कसैकी छोरी हुँ। मैले अधिकार पाउने कुरा बोल्दा इज्जत जाने डर हुन्छ। नबोल्दा मनको पीडा मनमै गुम्सिएर आगो दन्किए जस्तो।
अनाथ जस्तै भएको छु। हुन त रमिते समाजमा हुर्केर पनि होला। यस समाजका मान्छेका दुई वटा मुख हुन्छन्। बाहिर मुखुन्डो अनि भित्र वास्तविक। जुन मान्छेले कहिले देखाउँदैन त्यसैले त उसको असलियत पहिचान गर्न गाह्रो हुन्छ।
डाँको छोडेर रुप मन थियो। तर मलाई जन्माउने बा-आमाले नै मलाई थुक्लान् भन्ने पिर पनि। त्यसैले अब यो धर्तीको बोझ भएर बाच्नुभन्दा मर्छु भन्ने निर्णयसम्म पुगेँ।
कलिलो उमेर। खाइलाग्दो ज्यान। लाग्थ्यो भर्खर फक्रिन लागेको गुलाब झैँ उमेर।
आफ्नो सुन्दरतादेखि आफैँलाई डाहा चलेर आउँथ्यो। लोभै लाग्ने नयनहरु ऐनामा हेर्दै कति जलाउथेँ। संगै पढेका खेलेका साथीहरु आज यी सबैसँग मनले बिदा माग्दै छु।
मन पुरै लथालिंग र एकोहारो भइसकेको थियो। सरासर भान्सामा पुगेछु। र्याकमाथि राखेको चक्कुमा सिधा नजर पुग्यो। आँखा चिम्म गरेर त्यसलाई उठाएँ।
फेरि फोनको घन्टी बज्न लाग्यो। त्यति नै बेला घरमा आमा-बुवाको होकि भनेँ। सबैसंग बिदा मागेपनि उहाँहरुसँग बाँकी नै रहेछ भन्ने लाग्यो। सायद दैवले जुराएको फोन हो।
मनमनै यसो सोच्दै फोन उठाएँ। तर बाआमाको नभएर त्यही पापीको फोन रहेछ। जसले मलाई नङ्ग्याएको थियो र अझै पनि मलाई नङ्ग्याउनै चाहान्छ।
पराईले दिएका चोटहरु त आफ्ना भएपछि भुल्न सकिने रहेछ। तर आफ्नाले नै दिएको चोट न निल्न सकिने न ओकल्न।
समाजले छुटाइदिएको हाम्रो साइनो राम्रो थियो। तर नाबालक हुँदा नै उसले मलाई नङ्ग्याएको छ। म के गरौँ? बोलौँ फलानाकी छोरी नै यस्ती र उस्ती भन्ने आरोप सहनु पर्ला? नबोलौ म अब नाङ्गो हुन सक्दिनँ।
मलाई अब खुला आकाशमा अलप भएर बस्न मन छ। जहाँ मेरो मनलाई भत्काउने, बगाउने कुनै आँधी आउने छैन। त्यसैले म यो भौतिक शरीर यही पृथ्वीमा दान गर्दैछु। जलाइदेऊ वा मेरो शरीर कंकाल बनाइदेऊ।
छुराले आफूलाई मार्न सकिनँ। तल्लो तल्लामा रहेको खै कुन्नी कसको हो स्कुटर हुइँकाएँ। करिब ४ घण्टा भएछ यात्रा गरेको। पारिपट्टि साना निलन रंगका घरहरु देखिन्थे भने वारि उराठलाग्दा भिरहरु।
वरिपरिका रुख विरुवामा कलकलाउँदा मुना पलाउँदै थियो। पर पर राता लालिगुराँस ढकमक्क फुलेको देखिन्थ्यो। घरी घरी मन डुलाउन खोज्थेँ तर मनले 'आत्महत्या! आत्महत्या! आत्महत्या गर्नै पर्छ!' भन्ने सन्देश दिइरहेको थियो।
स्कुटरमा तेल सकिएछ। त्यो पनि अब एउटा मुढो बन्यो। त्यसलाई वार-पार गर्न सक्ने शक्ति ममा थिएन। एउटा बुढो अग्राखको रुखमुनि पुगेँ र थचक्क बसेँ।
यो मेरो जिन्दगीको अन्तिम पाना कसैले भेट्नु भयो भने सल्यानको बाहुन गाउँमा रहेका दाजु श्री मदननाथ न्यौपानेलाई दिनू।
आदरणीय माता-पिता, दाजुभाइ अनि बुइनीहरुलाई धेरै सम्झना र माया पनि।
मैले केही कुरा माथिल्ला पानामा लेखिसकेकी छु। मलाई सक्नु हुन्छ भने मन सानो नबनाई माफ गर्दिनू। मलाई बाचुन्जेल दिनु भएको त्यो माया र साथ म मरेर गएपनि बिर्सिने छैन।
तर आमा-बा म आजबाट धेरै टाढा जाँदै छु। फोन गरेर एकपटक हजुरहरुको बोली सुन्ने एकदमै धेरै रहर छ तर आमा अहिले म यो तारे भिरको एउटा बुढो रुखमा अडिएकी छु। मलाई माफ गरिदिनुस्।
मैले बोलेको भए तपाईहरु यो समाजमा मरेतुल्य भएर हिँड्नु पर्थ्यो। मनलाई धेरै सम्हाल्ने प्रयत्न गरेँ। मलाई बाच्ने आधार देऊ भनेर भगवानसँग प्रार्थना गरेँ तर निष्कर्षमा आत्महत्याको विकल्प भेटिनँ।
बा-आमा, म घरका काकाबाट बचिनँ, सहरमा स्यालहरुबाट बचिनँ, स्कुल-कलेज जहाँ पनि मलाई मेरो क्षमताभन्दा पहिला मेरो शरीरको बनावट, ओठको मुस्कानलाई मूल्यांकन गर्नेहरु भेटेँ।
म कहीँ कतै सुरक्षित छैन। जो देख्दा पनि डर र भयवित मात्र हुन्छु। मैले तपाईहरुको समाजले दिएको इज्जत बचाएकी छु बाआमा। म मरेको होइन, मलाई माफ गरिदिनुस्। बिदा मागे है!