न दशैँ, न त तिहार
न गर्मी, न त जाडोको छुट्टी
तर पनि बिना अर्थ
घरमा लामो बिदा मनाइरहेको छु
टेबलमाथि लहरैसँग
किताबहरु बसेका छन्
कलम यत्तिकै ठिंग उभिएको छ
कापीसँगै अन्य औजार
यत्तिकै थन्केका छन्
किताब मेरो साँझ, बिहानको साथी थियो
ऊसँग म कहिले विज्ञान, कहिले इतिहास
कहिले भूगोल त कहिले साहित्यका कुरा गरिरहन्थेँ
समाजशास्त्र, राजनीतिशास्त्रमा
हाम्रो तर्क वितर्क भइरहन्थ्यो
कहिले बसेर पढ्थेँ, कहिले उठेर पढ्थेँ
कहिले डुल्दै त कहिले पढ्दापढ्दै निदाउथेँ
महिनौं भयो ती पानाहरु नपल्टाएको
धेरैपछि आज पाना पल्टाउँदा
किताबका ती शब्दहरू
काला अक्षर, भैंसी बराबर जस्तै देखियो
केही लेख्न खोजेँ, कलमको मसी सुकिसकेछ
ती औजार चलाएँ, काम नलाग्ने भएका छन्
कापी पनि किराले खाएछ
एकदिन यसो सोचेँ
मैले किताब छोडेँ जस्तो लाग्यो
तर मैले किताब छोडेको होइन
किताबले मेरो साथ छोडेको रहेछ।