पूर्व जाने गाडीका नाम क्या कमेडी हुन्छन है! जुन हिन्दी फिल्म आयो त्यही फिल्मबाट नाम राख्छन्- धुम- टु डिलक्स, धुम- थ्री डिलक्स, दबंग डिलक्स, बाहुबली डिलक्स के-के हो के के।
एक पटक त अचम्मै लाग्यो! संजयलिला भंसालीले सलमानलाई लिएको फिल्म ‘इन्साअल्लाह’को अनाउन्स भएको केही दिनपछि इन्साअल्लाह डिलक्स नै देखेँ गौशाला जाँदा। पछि उक्त फिल्म क्यान्सिल भयो। आजकल खै! उक्त गाडी कुन फिल्मको नाममा चल्दै होला।
भदौको महिना पाँच बजे बसपार्कबाट छुटेको गाडीले कलंकी काट्दा झन्डै आठ बज्यो। हाम्रो गाडी कलंकी चोकमा रोकिरहेको छ, अन्डरग्राउन्डबाट भने गाडी बेतोडसंग हुईकिरहेका छन्। अन्डरग्राउन्डमा हुइँकिने गाडी र दोहोरी साँझको झिलिमिलीले कलंकी जोसिलो देखिएको छ।
अन्डरग्राउन्ड बनेपनि जाम सोचेजस्तै कम भएको छैन, चक्रपथ घुम्नेलाई बाहेक उपत्यका बाहिरिनेहरुको लागि यो दिक्दारी कम भएको छैन।
एउटा मभन्दा लगभग १० वर्ष जेठो मान्छेले दाइ काक्रो खानुहुन्छ भन्दै झ्यालको सिसा नक गर्छ।
काक्रो देखेर मेरो मुख रसाउँछ, म झ्याल खोल्न तम्सिएको देखेर सहचालक भाइ कराउँछ- ‘दाइ, एसी चलाएको छ देख्नुहुन्न?’ भोलाले खाएका राता दाँतहरु किट्दै ऊ मलाई हकार्छ।
मोबाइलमा चार्ज गर्न बिर्सिएछ। म बस्ने सिटको चार्जरको प्लग नै चुँडिएको रहेछ। पानी राख्ने जाली पनि दुइटै च्यातिएको। मसँगैको सिट पनि खाली छ। बोल्नलाई पनि छिमेकी सिटको मान्छेको कुरालाई समातेर बोल्नु पर्ने कस्तो दिक्दारी।
‘कस्तो जाम छ्या!’ मभन्दा अगाडिको सिटमा बसेकी केटीले लामो सुस्केरा हाली। त्यो केटी मलाई गाडी चढेकै बेलादेखि मन परेको थिएन। थोप्डाभन्दा एटिच्युड धेरै।
बसमा बस्ने बित्तिकै बोइफ्रेन्डसँग चर्कोचर्को स्वरमा कुरा गर्न लागी।
‘बहिनी, सुस्त कराउन’ एउटा दाइले हकारे।
‘बाँदरजस्तो मान्छेले गाली गर्यो, म चर्को बोलेँ भनेर।’
ऊ बोइफ्रेन्डसँग गुनासो गरेको सुनेर ‘कसलाई बाँदर भनिस्? आफैँ छे बादर्नी जस्तै’ भन्दै दाइले रिसाएर हकारे। सबै प्यासेन्जर कराएपछि भने ऊ चुप लागी।
पहिलो कुरा त त्यो सिटमा बस्न बित्तिकै सिटलाई सुताई।
‘यति लामो मान्छे देख्नु हुन्न पछाडि, के दिउँसै ओछ्यान लगाएको?’ म उसलाई गाली गर्छु, ऊ सुनेको नसुनै गर्छे।
‘कान छैन कि के हो मेडमको, सुन्नु भएन मेरो घुँडा रगटियो?’ यति भनेपछि ऊ केही मात्रामा सिटलाई तान्छे तर अझै पनि मलाई कम्फर्ट भएको थिएन। यस्तासँग के कराउनु भनेपछि म छेउको सिटमा झोलाको तकिया बनाएर सुत्छु।
आँखा यसो झप्काउन लागेको बेलामा सहचालक आएर हल्लाएर उठायो।
‘कहाँ सुतेको दाइ? अहिले मलेखुबाट मान्छे हाल्नु पर्छ, आफ्नो सिटमा मात्र सुत्नुस् न’ भोलाको गन्ध उसको मुखबाट आइरहेको थियो, अनि ऊ मलाई उठाएर अगाडि जान्छ।
म यसो हल्का आँखा खोलेर बाहिर चिहाउँछु, गाडी त जहाँको त्यही छ। दुई जना केटा सारंगी लिएर भित्र पसेपछि यात्रुले हुटिङ गर्छन्।
प्युठानको बर्जिबाँङ घर बताउने ती केटाले सारंगीबाट र्याप हान्छन्। युट्युबमा तिनीहरुको भिडिओ हेरेको थिएँ, जे होस् एकछिन माहोल सांगीतिक बनाएर केही द्रव्य लिएर तिनीहरु झरे।
गाडी केही स्लो चलेको अनुभव भएसँगै गाडीले केही गति लियो।
मुग्लिन नजिकै ठूलो जाम पर्यो, गाडी धेरैबेर रोकियो। के भयो कसैलाई थाहा भएन। दुई/चार जना केटा गाडीबाट झरेर अलि पर गए। केही बेरपछि फर्केर आए अनि भने- ‘इच्छाकामनामा पहिरो गयो रे, तीन/चार किलोमिटर लामो जाम छ भन्छन्।’
ड्राइभरले गाडीको स्टार्ट बन्द गरेर झर्यो। बसका सबै यात्रु झरे। मलाई भने झर्न मन लागेन। ‘टाढा नजानुहोस् है फेरि छुट्नु होला’ सहचालक करायो।
छेउमा अग्नि यातायातको गाडी उभिइरहेको छ, गाडीका यात्रु झरेर होला गाडीमा एक/दुई जना देखिन्छन्। गाडीमा हरियो रङको बत्ती बलेको छ।
अग्नि यातायात बाटोमा हिँड्दा धेरै देखेको र याद भएको नाम हो। सायदै यो काँकडभित्तासम्म चल्छ होला। यसले आफ्नो नाम अझैसम्म फेरेको रहेनछ।
अग्नि यातायातको हरियो प्रकाशमुनि पछाडिको सिटमा एकजना युवक झ्याल खोलेर गुड्खा थुकिरहेको छ भने मसँगैको सिटतिर बसेकी एकजना युवती मस्त सुतिरहेकी छे।
केहीबेरमा उसको फोन बज्छ र ऊ निद्राबाट ब्युझिन्छे। फोनमा खै कोहीसँग बोलेजस्तो दृष्य देखिन्छ अनि झ्यालबाट बाहिर हेर्छे। म नि झ्याल खोलेर बाहिर हेरिरहेको छु। भाद्र महिना रात्रीको समय, सिमसिम पानी, उकुसमुकुस गर्मी अनि लामो जाम।
‘दाइ कुन ठाउँ होला यो?’ ऊ मलाई इंकित गरेर सोध्छे।
‘खै! मुग्लिन क्रस भयो भन्छन्। इच्छाकामनामा पहिरो गएको छ रे, तीन/चार किलोमिटर जाम छ भन्छन्।’
ऊ आश्चर्यको आँखाले हेर्दै जिब्रो टोक्छे। र झ्याल बन्द गर्छे।
लोमसले म्यासेज गरेछ, टिंग म्यासेन्जरको धुन बज्छ। म झसंग हुन्छु। ओ! मेरो डाटा अन छ।
‘कता पुगियो? सिटमा को छ?’
‘जाममा छु, तीन घण्टा भो मुग्लिन नेर, मेरो साइडको सिट खाली छ।’
ऊ हाँसेको इमोजी पठाउँछ।
अग्नि यातायातकी युवती म तिर हेर्छे र दिक्दारीको मुस्कान फाल्छे। म नि उसको दिक्दारीलाई साथ दिन्छु।
११:३० बजेको रहेछ। ल सबैजना भित्र भन्दै सहचालक करायो। ड्राइभरले गाडी स्टार्ट गर्यो। मान्छेहरु आत्तिदै आएर गाडीमा चढे। अग्नि यातायात नि स्टार्ट भयो। उक्त युवती नि म तिर हेरेर खुसीको मुस्कान फ्याकी।
केहीछिन धिमा गतिमा चलेपछि गाडी पहिरो काटेसँगै स्पिड लिन्छ। बाटोमा एउटा प्रतिस्पर्धा चल्छ, कहिले अग्नि यातायातले उछिन्छ अनि कहिले हाम्रो कान्तिपुर डिलक्सले।
उसको गाडीले जित्दा ऊ खुसी भएर मलाई हेर्छे अनि मेरो गाडीले जित्दा म उसलाई खुच्चिङको आँखाले हेर्छु। धेरैबेर यो दोहोरी चलेपछि भने अग्नि यातायातको गाडीले हाम्रो गाडीलाई उछिन्न सकेन।
अप्ठ्यारो बाटो, तल कहालीलाग्दो कुम्भकर्ण सुतेझैँ सुतेको त्रिशुली। त्रिशुली नकाटुन्जेलसम्म त यसै भन्न सकिन्न। जे होस् त्रिशुली काटेपछि भने लगभग सकुशल घर पुगे सरह नै हो। केही समयपछि गाडी देवघाट जाने बाटो नेर आयो।
त्रिशुली कट्यो अब त, मनमा खुसी लाग्यो। गाडी नारायणगढ पुलनिर नपुग्दै मोबाइलमा लोमसको फोन आयो।
‘कहाँ पुगिस्?’
‘म नारायणगढ’ जवाफ दिन्छु।
‘झापा जाने अग्नि यातायातको बस त्रिशुलीमा खसेछ।’
‘कतिबेला!’ म आश्चर्यको भावले सोध्छु।
‘भर्खरै १५ मिनेट भयो रे, कान्तिपुरले हालेको छ। पख् है म स्क्रिनसट पठाउँछु।’ यति भनेर उसले फोन काट्यो।
म लामो सास फेर्छु, अग्नि यातायातको ठाँउमा कसो कान्तिपुर डिलक्सको समाचार आएनछ! मेरो मुटु बेतोडले धड्किन्छ। गाडीका सबै यात्रुहरुलाई हेर्छु, सबै लामो निद्रामा सुतिरहेका छन्।
उनीहरुलाई मलाई जस्तो सम्भावित दुर्घटनाबाट बचेको कुराको याद छैन। म त्यो युवतीलाई आँखाभरि सम्झँदै दुखी भएँ। मान्छेको चोला कसलाई के थाहा कतिबेला के होला!
गाडी नारायणघाट चोक पुगेपछि रोकिन्छ। पोलेको मकै बेच्ने एउटा भाइ मकै मकै भन्दै बसभित्र पस्छ, पुलिसका गाडी बेतोडले साइरन बजाउँदै घटनास्थलतिर लाग्छन्।
समुन्द जस्तो नारायणीमा शेषनाग जस्तो पुलमा नारायण सुतेझैँ सुतेका यात्रुहरु बोकेको गाडी नारायणीको पुल क्रस भएर पश्चिम हानिन्छ। ऊ पुरै बेखबर छ आफ्नो प्रतिद्वन्दीको बारेमा। उसलाई त केबल यति थाहा छ, चल्ते गाडी जिन्दगीका नाम।