पर्खाल बाहिर
साइरन रोइरहेछन् सडकमा
चीत्कारले भरिएका छन् अस्पतालहरु
जीवन छटपटाइरहेका छन् शैय्याहरुमा
शोकमा छन अक्सिजनका सिलिण्डरहरू।
***
एकमुठी सासको हार गुहार गर्नेहरु
किक्लीकिक्ली गर्दागर्दै निस्तवब्ध भैसक्छन्
जब एउटा ज्यान जान्छ
अर्को जीवन सर्छ त्यही बेडमा
उसैलाई थाहा छैन त्यो खुसी कतिन्ञ्जेल टिक्छ।
***
आइसियूबाट सन्देश आउँछ
मलाई यहाँ नराख, घर लैजाउ
केहीक्षणमै चिकित्सक भन्छन्
त्यो शवलाई पर लैजाउ
डाँको छाडेर रुन्छन, सग्लो जीवन पर्खनेहरु ।
***
बिलौना मात्रै छ यत्रतत्र
बिहे गरेको हप्ता नहुँदै निधन भयो
भोलि आउँछु भन्थ्यो कहिल्यै नफर्कने गरी गयो
माफ गर तिमीलाई बचाउन सकिन
कसरी दिउँ म श्रद्दान्जली !
***
पर्खालभित्र
सत्ताको हिसाव किताब चल्छ तारन्तार
सांसदको संख्या पुर्याउन चलिरहन्छ दौडधुप
भोटको ग्राफ बनाउँछन् प्यादाहरु
स्टाण्डवाई छन् गाडीहरु
तम्तयार छन् हेलिकोप्टर
किनकि
जुनसुकै बेला सांसदलाई कुदाउनुपर्ने हुन्छ
स्तर अनुसार उडाउनुपर्ने हुन्छ
पर्खालबाहिर शवयात्राको सन्नाटा चलिरहँदा
पर्खालभित्र विजयाेत्सवको रौनक शुरु हुन्छ
कुनामा बसेर तमासा हेर्छ विपक्षी ।
***
बर्लिनको पर्खाल ढलेको इतिहास पढेको म
सद्दाम हुसेन,फाँसी चढेको स्क्रीनमा हेरेको म
अहिले आँखै सामुन्ने
नदी किनारमा डोजरले शवदाहस्थल बनाएको हेरिरहेछु
मान्छे नमर्दै चितामा दाउरा चिनिरहेको देखिरहेछु
आँखा रसाउँछन् यी दृश्यले
लगलग काँप्छन् हातगोडा
भक्कानिएर आउँछ आफ्नै मुटु
अब भन् म कसरी लेखुँ समाचार !
उ आइसियू नपाएर मर्यो
उनीहरु अक्सिजन नपाएरै मरे ।