विश्वविद्यालय जाँदै गरेका बौद्धिकहरु
डिभी भर्न हतारो गर्दैछन्।
बौद्धिकताको कदर 'अवसरको भूमि'
'स्ट्याचु अफ लिबर्टीले' गर्नेछ
तिनले पाएको ज्ञानले भन्छ
अनपढ अबुझसँग बस्नु पनि पाप हो।
सोध्नुस् उनीहरुलाई
कुन देशको नागरिकता चाहिएको छ?
नेपाली कि अम्रिकन
डलरले भरिएको कि
जिन्दगीको कलरले?
तिनले ग्याँस स्टेशनमा
जिन्दगीको रहर साटेर
यो देशको नागरिकता
त्याग्न तयार छन्।
झिसमिसेमै डोको बोकेर दौडनेहरु
लाहुरे हुने हतारो गर्दैछन्।
बहादुरीको कदर 'घाम नअस्ताउने साम्राज्य' को
'बिग बेनले' गर्नेछ
तिनका पाखुरीको बलले भन्छ
गाउँका कुना कन्दरामा बस्नु पनि अभिशाप हो।
सोध्नुस् उनीहरुलाई
कुन देशको नागरिकता चाहिएको छ?
नेपाली कि बेलायती
पाउन्डले घेरिएको कि
सुखसयल सहितको?
जीवनसँगको कि
मृत्यु टाँसिएको?
तिनले युद्धभूमिको मैदानमा
जिन्दगीको मूल्य चुकाएर
यो देशको नागरिकता
त्याग्न तयार छन्।
कलेज पढ्दै गरेका युवा-युवती
कंगारूको देश जान हतारो गर्दैछन्।
महत्वाकांक्षाको कदर 'सपनाको सेतु'
'हार्बर ब्रिजले' गर्नेछ।
तिनले खोजेको समयले भन्छ
गरिबीमै रुमल्लिनु
सपनाहरुको हत्या हो।
सोध्नुस् उनीहरुलाई
कुन देशको शिक्षा चाहिएको छ?
शिक्षासँग साटिने नागरिकता चाहिएको छ?
नेपाली कि अस्ट्रेलियन
दौडधुपसँग सम्झौता गर्नु पर्ने कि
आत्मसम्मानयुक्त?
तिनले हण्डर ठक्कर खाने स्टेशनमा
जिन्दगीको भोलि बेचेर
यो देशको नागरिकता
त्याग्न तयार छन्।
आफ्नै माटोमा अनागरिक भएकाहरु
नेपाली हुने हतारो गर्दैछन्।
आत्मसम्मानको आनादर 'माटोले बिर्सेको'
'धरहराले' गरिरहेछ।
तिनले पाएको हण्डर ठक्करले भन्छ
माटोको सुगन्ध
सपना र कर्म दुवै हुन्।
सोध्नुस् उनीहरुलाई
कुन देशको नागरिकता चाहिएको छ?
ढाकाटोपी कि सगरमाथा
अपनत्वले भरपूर कि
समानताको भर्याङ?
तिनले देशको धर्तीमा
आफू हुने सपना देखेर
यो नेपाल देशको नागरिकता
लिन हतारो गर्दैछन्।
के तिमी दिन तयार छौ
देश मेरो पनि भएको प्रमाण?