अरुको दुःख तिमीलाई महशुस हुँदैन,
आफ्नो दुःख पहाडभन्दा ठूलो लाग्छ!
अरुको सुख देख्दा इर्ष्या गर्छौ,
तर, आफू सदा सुखमा रमाउँ भन्छौ।
ए मान्छे, आज तिमी यति धेरै स्वार्थी किन?
अरुको आँसुमा तिम्रो हाँसो किन?
आफ्नो क्षणिक स्वार्थको लागि,
अर्काको सपनालाई तिलाञ्जली दिन्छौ!
आफ्नो अनि आफ्नाको सुखको लागि,
पहाड पनि फुटाउन खोज्छौ!
ए मान्छे, आज तिमी यति धेरै स्वार्थी किन?
अर्काको आँसुमा तिम्रो हाँसो किन?
धर्तीमा पाइला टेक्दै गरेको नवजातलाई हेर,
त्यो कति निस्वार्थ छ!
तिम्रो घरको पहरेदार कुकुरलाई हेर,
त्यो कति बफादार छ!
जब तिमी, अबोधबाट बोध हुँदै जान्छौ
यति धरै स्वार्थी किन?
अरुको आँसुमा तिम्रो हाँसो किन?
प्रकृतिसँग धावा बोल्दा तिमीले,
अतिवृष्टि, अनावृष्टि, अनिकाल र महामारी भोग्नुपर्यो!
तिम्रै स्वार्थको कारणले आज तिमीजस्तै मानिसहरूको
बस्ती बस्तीहरुमा चित्कार सुन्नु पर्यो!
अझै पनि, ए मानव तिमी यति धेरै स्वार्थी किन?
अरुको आँसुमा तिम्रो हाँसो किन?
नखोज पौठेजोरी यो प्रकृतिसँग,
पछ्याऊ उनको पथ
तिमी त नाथे प्राणी न हौ,
त्याग रिसराग अनि स्वार्थ।