एक अञ्जुली सास दे सरकार
म बाँच्न चाहन्छु!
एक अञ्जुली आश दे सरकार
म बाँच्न चाहन्छु!
मैले के मागेको छु र तँसँग
त्यही एउटा जीवनको भिख त हो,
चिल्लो गाडीमा साइरन बजाउँदै
मेरो घरमा भोट माग्न आउँदा
कहिलै रित्तो फर्काइनँ,
हेर् न, अस्पतालको शौचालय नजिकै
पहेलो बस्त्र ओढेर पल्टिरहेको छु
र पनि मलाई प्राणको भिख दिन्नस्!
मेरा सपना त साना-साना छन्
बा-आमाको अश्रुधारा छट्पटी मात्र रोक्ने,
तेरा जस्ता ठूला सपना कहाँ छन् र सरकार
जीवन र मृत्युसँग लडेका म जस्ताको
छातीमा टेकेर सत्ताको उन्माद ठोक्ने!
तँसँग त पैसा छ किन्न सक्छस्
दुई/चार हजार जनता मरे पनि चुनाब जित्छस्,
म त एक्लो छु नि, म मरेँ भने
आमाको गुन्यु र बाको धोती कस्ले किनिदिन्छ!
भेन्टिलेटर दिइनस्, आइसियू दिइनस्
एउटा सुत्ने खाट र एक अञ्जुली सास दे सरकार
म बाँच्न चाहन्छु,
तँ नभए पनि म छु त भन्, त्यो पर्दैन नभन् न सरकार
म बाँच्न चाहन्छु।