तिमीले सुझाए जस्तै-
मात्रा मिलाएर
भान्साका जडिबुटी,
गुर्जोको रस र बेसार पानी खाएकै हो।
बिहान बेलुका गार्गील त गरैको हो।
खाक्कखुक्कको संस्कार पनि पालना गरेकै हो।
खुल्ला ठाउँमा बसेर हिमाली हावा पनि खाएकै हो।
प्रतिरोध क्षमता बढी हुँदाहुँदै पनि
यो फ्याटिय तत्त्वले
कसरी भेट्यो, भेट्यो सरकार!
यसले छुनु अगाडि
तिमीले बोलाएको कुन ठाउँमा पुगिएन?
किङ्स वे,
बटौली,
माडी,
धरहराको अगलबगल।
तिम्रो हरेक बातलाई
ताली पिटेर अनुमोदन गरेँ
म सास गनेर बसिरहँदा
तिमी बोधिचित्तको माला जपेजस्तै
गन्दैछौ टाउकोहरू
९३, ९४, ९५...
यत्रो त्रासदीले झ्याप्पै छोपिसक्दा
एउटा सानो आशाको
फिलिङ्गो बाल्न नसक्ने
तिमी 'बा' नै हौ या पानीलौरो?