जेठ १५, गणतन्त्र आएको दिन, बिहानै कृष्णाको स्टाटस देखेँ- गणतन्त्रमाथि प्रश्न उठ्ने काम कोही कसैबाट नहोस्। गणतन्त्र दिवसको शुभकामना।
यस्तै थियो उनको स्टाटस। माथि मुस्कुराइरहेको फोटो थियो कृष्णाको। मैले फोटो जूम गरेर हेरेँ।
उनका मुस्कुराइरहेका ओठमाथिको सानो दाग अझ स्पष्ट देखिएको थियो। रसिला आँखा केही बोल्न खोजेझैं लाग्दै थिए। त्रिभुजाकार उनको अनुहार र सानो नाक अझै विशेष देखिएको थियो। सदाझैं उनको अनुहारमा कुनै सजावट थिएन। तर पनि केही खास थियो।
उनको स्टाटसको आशय विपरीत मैले कमेन्ट लेखेँ- तपाईंको दैनिक जीवन राम्रै बितिरहेको होला!
कृष्णाका लागि मैले एक कथामा दिएको नाम हो सानुमाया। एक प्यारो नाम। मेरो कथाको प्यारो चरित्र। उनको टिठलाग्दो वास्तविकता र त्यसैमाथि जन्मिएको प्यारो पात्र।
प्रकृतिको सुन्दर बगैंचामा मेरो नायक र उनी डुल्दै गर्दा मलाई मेरो नायकसँग इर्ष्या भएको थियो, यो लेख्दै गर्दा। तिनले थकाई मारेको चौतारी, कफी पिएको सानो कफी सप, ढुंगाको सानो पर्खालका बीचको सानो गोरेटो र तोरीबारीमा फूलेको तोरीका पहेलो फूलहरू। मेरो मानसपटलमा वास्तविकताझैं फनफनी घुम्छन्।
म फेरि फेसबुक खोल्छु। उनको प्रोफाइलमा छिरेर फोटा हेर्न थाल्छु। केहीअघि उनले आफ्नो श्रीमानसँग एउटा फोटो पोस्ट गरेकी रहिछिन्। उनी खुलेर हाँसेकी छन्। उनको श्रीमान भने गम खाए जस्तो देखिन्छ। ठ्याक्कै यही फोटो मैले मानसपटलमा सिर्जना गरेको थिएँ जतिखेर उनको श्रीमानलाई उनको प्रोफाइलमा देख्न सकिन्नथ्यो।
उनी हाँसेको तस्बिर र वास्तविकता दुवै मैले देखेको थिइनँ। बरू उनले रक्सीको चुस्की लगाउँदा देखेको रसिलो आँखा र अनुहारको आधारमा मैले यो फोटोको कल्पना मात्र गरेको थिएँ।
उनी हाँस्दा ओठ सिरिक्क परेका पातला देखिन्छन् भन्ने अनुमान विपरीत उनको मुख केही चुच्चो नै देखिएको थियो। मैले हत्तपत्त कथा खोलेँ र सच्चाइहालेँ। धन्न अहिलेसम्म प्रकाशित भइसकेको छैन र मलाई सच्याउने अवसर प्राप्त भयो।
कहिलेकाहीँ शब्दहरू कम्ती कठिन हुँदैनन् यसरी सच्याउनलाई।
मेसेन्जरमा टिंग नोटिफिकेसन आयो। कृष्णाको मेसेज रहेछ।
'हाउ केयरिङ यु आर। थ्यांक यु फर द कम्प्लिमेन्ट।'
मेसेज पढेर आनन्द आयो। म सानुमायामा फेरि एक पटक डुबेँ।
शब्दहरू पानीका फोकाजस्ता हुन्छन् जुन फुल्दा पनि आनन्द र फुट्दै गर्दा पनि आनन्द लाग्छ। यति धेरै कम्प्लिमेन्ट के दिएँ र, मैले?- मैले मेसेज लेखेँ।
'ओहो! साहित्यकारज्यू! शब्दहरूसँग खेल्न जानेरै त लेखक बन्नुभएको नि!'
थ्यांक यु सानुमाया!
झट्ट सम्झना आयो उनको नाम त कृष्णा। धन्न डिलिट गर्ने अवसर छ। मैले हत्तपत्त डिलिट गरेर लेखेँ- थ्यांक यु कृष्णा।
साँझको समय, रातो घाममा आफ्नै लामो छाया हेर्दै बाटैबाटो हिँड्नु आनन्द आउँथ्यो। लकडाउन जारी छ। निरुद्देश्य डुल्ने सुविधा छैन। छतमा बसेर हेर्ने सुविधा छ। तर समय नलागी आएको बर्खा, ऊ बेला भए धानको बिउ राख्न राम्रो हुन्थ्यो। कुलोको सुविधा नभएको खेतमा मिचाहा नहुने गरी रोपाइँ चलाउन राम्रो हुन्थ्यो। मकै र बारीका तरकारीलाई राम्रो हुन्थ्यो। काँठका सबै जग्गामा घर फले। अब पानी आउँदा झिँजो लाग्छ।
वर्षौंदेखि रोकिएको सडक बन्ने कामले खेत जस्तो बनेको बाटो देखेर दिक्क लाग्छ। सिमसिम पानीले छतमा उक्लने सुविधा पनि दिएन। कोठामा बसेर मोबाइल चलाउनुभन्दा प्रिय केही लागेन।
कृष्णाको मेसेज फेरि आएछ।
'नमस्ते सर, के गर्दै हो?'
नमस्ते, केही होइन।
'अफिस कता हो सर, आजकल?'
मैले नयाँ अफिसको नाम बताएँ।
'कति फेरिएको हो, अफिस पनि?'
घाम फेरिन्छ। जुनको प्रकाश फेरिन्छ। बिरूवाको पालुवा पनि त फेरिन्छ। कार्यालय फेरिनु पनि त नियमित आकस्मिकता होइन र?
'अहो! कति रमाइला शब्दहरू। सुनिरहुँ जस्तो लाग्ने। पढिरहुँ जस्तो लाग्ने।'
कहिलेकाहीँ शब्द र घाम उस्तै हुन्छन्। बादलभित्र लुकेर आउँदै नआउने घाम जस्ता।
'लुकामारी खेल्ने घाम र जीवनको मोडमा लुकामारी खेल्न आइपुग्ने बुख्याचाहरू उस्तै लाग्छन् मलाई त।'
अनायास कृष्णाका शब्दहरू सानुमायाका शब्दहरू जस्तै लाग्छन्। म फ्याट्ट लेख्छु- किन त्यस्तो भन्छ्यौ सानुमाया? बुख्याचा जस्तो तर्साउने र मानिस जस्तो स्वार्थी त होइन नि घाम।
'सानुमाया? हुँ?'
अचानक कृष्णाको सोधाइले अलमलमा पर्छु। म उनलाई भन्न पनि सक्दिनँ।
त्यो त तिमी हौ कृष्णा। मैले तिम्रो लागि कथामा दिएको नाम। कतिखेर कृष्णामा सानुमाया भेट्न पुग्छु म। माफ गर कृष्णा, म मेरी सानुमायालाई प्रेम गर्दागर्दै तिमीलाई प्रेम गर्न पुग्छु कि भन्ने डर लाग्छ। तिमी वास्तविकता हौ, सानुमाया मेरो कल्पना। मेरो सिर्जना। मेरा पात्रहरू मलाई असाध्य प्यारा लाग्छन् कृष्णा। पात्रहरू कथाबाट निस्किएर कतिखेर तिनका वास्तविक पात्रमा घुस्छन् र म तिनमा मेरा पात्रहरू खोज्न थाल्छु। मैले लेखे जस्तै भए हुन्थ्यो भन्ने लाग्छ। त्यसैले त कृष्णा मलाई तिमी सानुमाया नै भैदिए हुन्थ्यो जस्तो लाग्छ। म तिमीलाई सानुमायाको रूपमा प्रेम गर्छु। मलाई माफ गर ल!
'ओ सर! को सानुमाया भनेको?' कृष्णाको मेसेज फेरि आउँछ।
सरी! झुक्किएछु, यति मात्र भन्छु म। उताबाट हाँसेको इमोजी आउँछ।
म आफूलाई पूरै डिस्टर्ब महशुस गर्छु। एक कोठाबाट अर्को कोठा, तलबाट माथि, फेसबुकबाट ट्वीटर, ट्वीटरबाट इन्स्टा, टिभीका च्यानलहरू फेरिन्छन्। किताब पल्टाउँछु, मन अडिँदैन। फेरि अर्को किताब, एक दुई पानामा नै मन भरिन्छ। युट्युब भिडिओ हेर्न खोज्छु। त्यो पनि चेन्ज गर्छु।
हे! भगवान, यो कुन चक्रमा पर्दैछु। फेरि ल्यापटप खोलेर सानुमायाका त्यही कथा पढ्न थाल्छु। सम्पादन गर्ने ठाउँ खोज्छु। प्रत्येक पटक कृष्णाको वास्तविकतामा ठोकिन्छु। ओहो, मेरो पात्र त्यस्तो नै छैन, कहाँ परिवर्तन गर्ने? मानौं ढुंगामा कोपिएको अक्षर हो। फेरि पनि म सानुमायालाई प्रेम गर्छु। टाउको दुख्न थाल्छ। एकछिन आँखा चिम्लिन्छु।
केही बेरमा केही आइडिया फुरेझैं लाग्छ। म कृष्णालाई पत्र लेख्न थाल्छु।
'कृष्णा,
तिमीलाई सहकर्मीका रूपमा पाउनु मेरो लागि भाग्य थियो। कामप्रतिको तिम्रो लगावलाई मैले सदैव प्रशंसा नै गरेँ। सायद तिम्रो र मेरो सम्बन्ध सहकर्मीभन्दा केही बढी नै थियो कि, थाहा छैन। तिमीले आफ्नो जीवनका अनुभवहरू मलाई बतायौ। ती अनुभवहरूलाई काल्पनिकतामा ढालेर मैले एउटा कथा लेखेँ।
सावधानीपूर्वक ठाउँ, घटनाक्रम र पात्रहरू रोजेँ। स्वभाविक रूपमा कतै दुःख र कतै रोमाञ्चकता देखाएँ। त्यतिखेर तिम्रो वास्तविक आनिबानी र व्यवहारलाई न्याय गर्न खोजेँ। त्यसलाई ढुंगाको अक्षरसरह बनाउन खोजेँ। सानुमाया सिर्जना गरेँ। सानुमाया तिम्रो बिम्ब हुन्, तिमी होइन।
म मेरा पात्रहरूलाई असाध्यै माया गर्छु। सानुमायालाई पनि। कतिखेर कृष्णाभित्र पनि सानुमाया छिर्छिन्। र त म तिमीलाई केयर गर्छु। कृष्णाप्रतिको केयरिङ र सानुमायाप्रतिको प्रेम कहिलेकाहीँ लठारिएर आउँछन्। मलाई त्यो परिस्थितिबाट उम्कन कठिन हुन्छ, कृष्णा।
त्यसैले तिम्रा स्टाटसहरूमा म तिमीलाई फूलजस्तै ठानेर लेखिदिन्छु। मलाई माफ गर। मेरो कारणले तिम्रो निजी जिन्दगीमा असर नपरोस्। मेरो शुभेच्छा सधैं तिम्रो साथमा छ।
-तिम्रो साथी, विश्व।'
पत्र र कथा एकैसाथ कृष्णालाई इमेल गरिदिन्छु। त्यसपछिको समय मेरा लागि झन् दुरुहः हुन्छ। छटपटाहट बढ्छ। प्रत्येक पल एक दिनजस्तो लाग्छ।
करिब एक घण्टा यो छटपटाहट भोगेपछि मैले कृष्णाको इमेल पाएँ।
'मेरो प्यारो सहकर्मी,
म जुन विगतमा फर्किन चाहन्नथेँ, फेरि फर्किएँ। तिमीले मलाई यो सब नभनेको भए हुन्थ्यो। कृष्णाका लागि र तिम्रो सानुमायाको लागि सच्चा प्रेमस्वरूप, यो कथा कहिल्यै प्रकाशन नगर्नू र कहिल्यै डिलिट पनि नगर्नू।
-तिम्रो साथी, कृष्णा।'