बा,
आज मैले चाउचाउ खाएँ
हातमा लागेको मसला
तिमीलाई सम्झिँदै चाटेँ
आज तिमीलाई पनि
मलाई कहिलेकाहीँ लाग्ने
बाडुल्की हिक्क हिक्क गर्दै
थाप्लोमा नाम्लो राख्दा गाह्रो हुने
सासै अड्किने गरी लाग्यो होला है!
तिमी त साहुको घर सक्दा
मालिकको मन खुसी हुँदा
जिम्मल बालाई रिझाउँदा
दिनभरि बगाएको पसिनासँग
ढुंगे धाराको मिठो जल मिसाउँदै
चाउचाउ खाँदा मलाई बाडुल्की लाउछौ।
म आज तिम्ले पसिनासँग साटेको
रात, बिहान, साँझ, दिन केही नभनी
मेरा लागि तिम्रा सारा खुसी फाटेका
तिम्रा चरचरी फुटेका हातका रेखा सम्झिँदै
तिम्रो प्रिय चाउचाउ बडो सकसका साथ खाँदैछु।
आँखाले हाम्रा लागि धेरै उत्पादन गरेका
हामीलाई कहिल्यै नछोड्ने आँसुको नुनिलो पानी
तिम्रो बुढ्यौलीले चाउरिएका गाला
तिम्रो खुम्चिएका नसा
लोलाएका आँखा अनि
वाक्यहीन तिम्रो टिठ लाग्दो चेहेरामाथि
सिँचाइ गर्दै तिम्रो शान्त मुहार हेरिरहन्छु।
पढेर गाउँमै मास्टर बनाउने तिम्रो इच्छा
पढेलेखेको शिक्षित छोराको बाउ हुने रहर
तिमीले दिएको राष्ट्रियताको शिक्षा
हातमुख जोर्न मागेको भिक्षा
यस्तै अनेक अनेक सम्झिँदै आएको छु बा
तिमी बिरामी भएको खबर सुनेर।
उठ बा! अब पानी खाऊ
म पनि पानी खाएरै सहरबाट आइपुगेँ
अब जम्मा दुई वर्ष पानी खाऊ
साहुको काममा हर दिन जाऊ
केही दिनमा बन्द खुल्ला नि त
त्यसपछि म तिमीलाई दबाई गर्छु
साहुकोमा जानू पर्दैन अनि
सुतेरै बस, बुहारीले ख्याल राख्छिन्।
जिद्दी नगर न बा!
अब उठ, आँखा हेर
खोरियाको पानी छ, थोरै निल बा
पानी नै हाम्रो शक्ति भन्थ्यौ
यो शक्ति लिन्नौ र बा?
आँखा खोल्दैनौ?
मसँग बोल्दैनौ?
नंग्रा खियाउँदैनौ?
ए बा, सास नि फेर्दैनौ?
मैले हारेँ मेरा बा, हारेँ मैले
मैले औषधि गर्न सकिनँ बा!
मलाई नसराप है
म तिम्रो पसिनाको ऋणी भएँ
तिम्रो लायकको सन्तान बन्न सकिनँ
मैले तिम्रो गर्भको ऋण तिर्न सकिनँ बा।
अब जाऊ आमा, सँगै जाऊ
आमाको माया त पाउछौ नि है!
स्वर्गको भोग गर
आमाले सपनीमा भनेको
त्याहाँ हाम्रो साहु छैनन् रे
अब आराम गर, धेरै दुख नगर है!
म तिमीभन्दा झन् गरिब भएँ
म त परजीवी भएँ, आफै केही गर्न सकिनँ
कात्रो किन्ने पैसा नि भएन
दाउरा झन् म कसरी किनौँ र बा
खोलामा बगाउँछु बग्दै बग्दै
आमासँग जाऊ है मेरा दुखी बा! अल्बिदा।