आहा !
क्या मजाको धारा छ
सबै धाराको पानी मिसाइएको
गुलियो, मिठो
सबैको आकर्षण
सबैको गन्तव्य ।
योे धारा
जहाँ
नाङ्गै नाचे पनि हुन्छ
बाङ्गै नाचे पनि हुन्छ
बाँकी त मूल सुकेका धाराहरू
जहाँ न नारा बाँकी छ
न अभिभारा बाँकी छ
यसमा त मजैले नुहाउन पाइन्छ
एक्लै नुहाउँदा पनि हुने
पालैपालो नुहाउँदा पनि हुने
विश्वास नामको साबुन जिउभरि दल्न पाइन्छ
छिन छिनमा विश्वास बदल्न पाइन्छ
कुर्सी यहीँ छ
बुर्कुसी यहीँ छ
यहाँ लुकामारी खेल्नेहरू
भन्छन्
सकेजति एक अर्कोलाई छल्न पाइन्छ ।
चाहिए खोल्न पाइन्छ
नचाहिए बन्द गर्न पाइन्छ
आहा !
क्या मजाको धारा छ।