तिमी शितल निवासमा छौ र पो
म बालुवाटारमा हाँसेको छु
तिमी मध्यरातमा पनि मेरा लागि जागा रहन्छ्यौ र पो
म बालुवाटारमा ढुक्कसँग बाँचेको छु
तिमी मेरी राजनैतिक आकाशकी जून हौ
मेरो प्रतिगमनरुपी नशा नशामा बग्ने खुन हौ
तिमी धरहरा र पशुपतिमा राखिएको जलहरीभन्दा माथि
चौबिस क्यारेटकै सुन हौ
बिर्सिनै नसकिने गुन हौ।
तिमीले मेरा लागि विधिविधान र संविधान मिचेकी छौ
मेरा अहम्कारलाई तिमीले प्रतिगमनले सिंचेकी छौ
तिम्रो त्यागलाई मैले सम्मान गर्नैपर्छ र त गरेकै छु
तिम्रो अपमान गर्नेहरुलाई ठेगान लगाउन
यत्रतत्र साइबर सेनाहरु छरेकै छु
तिम्रा निम्ति पनि त मैले कति गरेकै हो
मेरै करले शितल निवासमा दोस्रो पटक चिट्ठा परेकै हो
बीचमा गाँसिनेहरुका त के कुरा गरौँ
वर्षौदेखिका सहयात्रीहरुलाई छोडेकै हो।
अहिले हेर त
दुई-तिहाईबाट अल्पमतको जबरजस्त यात्रा थालिँदै छ
हाम्रा बीचमा आउन खोज्नेहरुमाथि
दुनियाँलाई चक्मा दिँदै टारिँदै छ
तिम्रो दर्जाको अपमान गर्दै
तिमीलाई तपाई भनेर सम्मान दिन नजानेकाहरुलाई
दाह्रा किट्दै झेँको झारिँदै छ
तिमीले मैले सात कक्षामा पढेको नैतिक शिक्षाले
विपक्षीलाई सोत्तर पारिँदैछ।
सुन्न त मैले बजारमा के-के सुनेको छु
पिर नगर,
अक्सिजन माग्छन् भनेर दुवै कान थुनेको छु
बुढेसकालमा काम लागोस् भनेर
कमिसन खान जानेका मान्छे
जताततै चुनेको छु
यिनलाई तह लगाउन मैले धेरै योजनाहरु बुनेको छु
कसैलाई लोभ्याएर, कसैलाई धम्क्याएर कतिका मुख थुनेको छु
चुनाव त मेरो अग्रगमन देखाउने खेल बन्दैछ
गणतन्त्रमा मेरो त्याग खोज्नेहरुलाई
भन्नलाई चौध वर्षे जेल छँदैछ
चुनाव गर्नैपर्ने बाध्यता आएछ भने
आर्यघाटका चिता गन्दै भोट मागौँला
चिताबाट कोही उठेनछन् भने
मेरा पछिल्ला प्रिय मित्र महतो र ठाकुरजीलाई पनि लिएर
मध्यरातमै गोयलसँगै दिल्ली भागौँला।
शितल निवास, तिमी मेरा निम्ति सधैँ हाँस्नैपर्छ
तिम्रा निम्ति पनि म युगयुग बाँच्नैपर्छ
अझैँ धेरै काल्पनिक योजनाहरु बाँकी नै छन्
महामारीले आर्यघाटमा सिलिन्डर नपाई जलिरहेका चिताहरुमा
शिलान्यास गर्न बाँकी नै छ
त्यहाँ भव्य र सभ्य शिलान्यास गर्नुछ
मध्यरात नै किन नहोस्
शिलान्यास त गर्नैपर्छ
किनकि हामीलाई पनि एकदिन मर्नैपर्छ
त्यो समयभन्दा अगाडि नै
दर्जनौँ रिटहरु पर्दै जालान्
न्यायामूर्तिहरुले जेसुकै गर्दै जालान्
अनौठा अनौठा असंवैधानिक कर्म
यस्तै मध्यरातहरुमा गरेर
नयाँ नयाँ इतिहास कोर्नुछ
सयौँ शिलालेखमा तिम्रो र मेरो नाम भर्नुछ।