छोरी ठूली भएर के बन्छ्यौ?
फलानाका छोरी ठूली भएर के बन्ने रे?
मेरो कानमा गुन्जिरह्यो
सुन्ने कानलाई बन्द पनि गरिनँ
सोध्ने मुखलाई चुप पनि लगाइनँ
बरु प्रयास गरें।
प्रयास गरेँ
डाक्टर, इन्जिनियर, पाइलट भन्न सिकाइएका ओठलाई
नयाँ शब्द उच्चारण गराउन
लिडर।
बन्छु म लिडर राष्ट्रको
बन्ने छु आवाज
देखाउने छु भोगाइ
हाँक्नेछु देश
गर्ने छु भङ्ग राजनीतिमा उम्रेको पितृसत्ताको
बन्ने छु म नेतृत्व, निडर, नवीन अनि नैतिक।
के थाहा
के थाहा थियो र यसरी आउने उथलपुथलको
गणतन्त्रमा मच्चिएको आँधीबेरीको
संविधानमा लाग्ने दागको
लोभ, लालचमा नीति गुमाउनेहरूको।
झण्डै-झण्डै लागेको छ पूर्णविराम मेरो प्रयासमा
सायद हाम्रो प्रयासमा
प्रश्नचिन्ह खडा छ महिला नेतृत्वको
प्रशस्त बाजा र ताली, लिङ्ग विवेद गर्नेहरूको।
बोल्नुपर्ने एक सुनियो अर्कै
बोल्नुपर्ने ‘उहाँ दोषी किनकि उहाँको नेतृत्व दोषी’
सुनियो ‘नेतृत्व दोषी किनकि नेतृत्व एक महिला’।
मान्नु पनि पर्छ, भएको पुर्ने नसक्ने गल्तीको
संविधानको धजिया उडेकै हो
नेतृत्व असफल भएकै हो
पहिलो प्रयासमा अपराध गरेकै हो।
तर, गल्ती महिलाको होइन, गलत नेतृत्वको
गल्ती प्रयासको होइन, प्रयास गर्दै नगर्ने लिडरको
गल्ती ‘त्यो पर्दैन’मा खित्का उडाउने त्यो हासोको
गल्ती त सही नेतृत्व छान्न नसक्नुको।
यसरी नलगाइदिनुस्, पूर्णविराम मेरो प्रयासमा
यसरी नबनाइदिनुस् विवेद
पाइन्छन् अझै पनि संविधानलाई पूजा गर्ने
संविधानमा आशा राख्ने
र संविधानको मर्म बुझ्ने।
सुन्ने कोसिस गरौं, आवाज गुञ्जिनेछन्
बुझ्न कोसिस गरौं, प्रयास झल्किनेछन्
खोजी कायम राखौं, जताततै गाउँ, सहर, सडकमा
मात्र नजानुस् फेरि त्यै मोहमा बेरिएका अपराधीका काखमा।
आशा छ अझै, कुशल नेतृत्वको
माया छ अझै, देश अनि अस्ति भर्खरको गणतन्त्रको
मात्र नछोडौं प्रयास अनि प्रार्थना।