केही खुलदुली, केही डर र केही शून्यताको तुवाँलोले मेरो वायुमण्डल ढपक्कै ढाक्यो।
यो मध्यरातमा उसले मलाई नै किन डाँकी?
कतै 'प्राङ्क' गरेकि त हैन?
ऊ एक्लै बस्छे डेरामा। एक अविवाहित युवतीले यो मध्यरातमा एक अधबैंसे युवकलाई आफ्नै डेरामा सुटुक्क डाक्नुको अर्थ चाहिँ?
सोचूँ भने के सोचू? नसोची चुपचाप कसरी बसौं? हामी जोडी पनि त हैनौँ नि फेरि! कुच भि...!
कल गरेँ। अहँ, उसले फोन उठाइन।
म्यासेज गरेँ, 'मिया, आर यू जेनियुन एण्ड सिरियस एट दि मोमेन्ट?'
'युनुस, यस आई डू। प्लिज बि एभाइलेभल सुनर! साथमा केही रोएका इमोजी!'
जब मैले उसको डेराको ढोकानेर कपास, प्याड र पेन्टी रगतले लतपतिएको देखेँ, उसले तीन महिना अगाडि बोलेको सम्झिएँ, 'युनुस, मलाई बाँचिनसक्नु हुन्छ जब मलाई हरेक महिना पात्रोले पिरियडको सामु डोराउँछ।'
हो, आज पनि मियालाई पिरियडको पीडाले सताइरहेको छ, अन्दाज काटेँ। बस्त्रमा लतपतिएका रगतका टाटा सुकिसकेका थिएनन्।
उसका आँखाबाट आँसु खस्न थाले जब उसका आँखाले मैले डेरा कुल्चेको स्पर्श गरे।
'मिया नरोऊ न।'
'तिमी छौ र त रुन्छु नि। यी आँसु पनि कम्ता बाठा छन्, जो पायो त्यहीँको अगाडि यी मरिगए खस्दैनन् क्यारे।'
'तिमी मुस्कुराउँदा लाग्छ, त्यो ओठमा सजिएको मुस्कान मेरो हो। तिमी रुँदा लाग्छ, मेरा आँसु तपतप चुहिरहेका छन्' मैले मियाका नयनमा हेर्दै भनेँ।
'अत्याधिक रगत बग्यो आज। पिरियडको दोस्रो दिन, हाँस्दा पनि शरीर दुखेको छ। पिरियडमा मलाई अति नै सकस हुन्छ। एकदमै एक्लो महशुस हुन्छ। आफू आफैसँग रुन्छु।
सके, आँसु आफैले पुछ्छु। नसके, बग्छन् यी आँसु आफ्नै किनारै किनारा' मिया पुनः भक्कानिइ।
मामुलाई फोन गरेथेँ। मामु पनि रोइसियो। आमाछोरी सँगे रोयौँ।
'मिया एक्लै छैन। यो सहरमा म पनि त एक्लै छु। एक एकलको उपस्थितिले अर्को एकललाई एक्लै भएको महशुस कदापि नहोस्' यत्ति त थियो मेरो अठोट।
उसलाई मैले सम्झाउँदै भनेँ, 'पिरियडकै कारणले त तिमीले जन्म लियौ, मैले जन्म लिएँ, र हर कोहीले जन्म लियो। यो पीडा, यी लतपतिएका रगतका टाटाहरु त तिम्रो अस्तित्व हुन्। यो दुखाइ भित्र सुख पनि मिसिएको छ। गहिरिएर हेर त।'
मियाले मेरा वाक्यको सुरमा ताल मिलाउँदै भनी, 'जुन कुराले मान्छेलाई चरम खुसी दिन्छ, सो कुराले नै चरम पीडाको बोध पनि गराउँदो रहेछ है युनुस। पिरियड पनि यहीँ वाक्यको प्रतिबिम्ब रहेछ नि।'
'मलाई दिउँसै बोलाएको भए पनि त हुन्थ्यो नि मिया।'
'सकेसम्म म पीडाबाट आफै उत्रन खोज्छु, आफै उम्कन खोज्छु। आज न उत्रन सकेँ, न उम्कनै सकेँ। त्यसैले तिमीलाई सम्झन पुगेँ।'
'अघिल्लो महिनाहरुमा के गर्थ्यौ?'
'हरेक महिना पात्रोको रंग फरक। पिरियडको रंग उस्तै। पीडा भने बाह्रै महिने जस्ताको त्यस्तै।'
'अनि, अघिल्लो महिनाहरुमा मलाई किन सम्झिएनौ?'
'हरथोकको समय आउँदो रहेछ युनुस। आफ्नो समय नआउन्जेल पर्खन सक्नुपर्दो रहेछ।'
'युनुस, जीवनमा कुनै पल यस्तो आउँदो रहेछ, जहाँ शक्तिको शून्यताको कारणले श्वासलाई पनि माथि-तल गरिरहन गाह्रो हुन्छ। मलाई त्यस्तै भएको छ अहिले। मिल्ने भए त टाइम ट्राभल गरेर ४/५ दिन अगाडि जान्थेँ।'
'मिया, तिमी यो पीडादेखि भाग्ने हैन, यसलाई जितेरै छाड्ने हो। याद गरेकी छौ, ठिक उज्यालो हुनुअघि सबैभन्दा बेसी अँध्यारो हुन्छ नि।'
मियाले मलाई मुस्कुराउँदै उसकै डेरामा सुत्न आग्रह गरी। घडीमा एक बजिसकेको थियो। उसलाई खुसी देख्दा मेरा नयन गद्गद भए। मैले सन्तोषका साथ लामो सुस्केरा काडेँ।
आफ्नो कारणले कोही कसै खुसी हुन्छ भने, ज्यादै गज्जबको अनुभूति हुँदो रहेछ। मनैबाट यो पल महशुस गर्न पाएँ।
सुत्नु अघि कफी बनाएँ। आधा कफी पिइसकेपछि कप साटासाट गर्यौं। साँच्चीकै त्यस रात माया बढ्यो पनि, माया बाढियो पनि।
त्यसै रातदेखि मैले बुझेँ, 'एउटै खाटमा सँगै सुतेर आफ्ना शरीरका रंगहरु साटासाट गर्नुको साटो, सुख/दुखका रंगहरु आपसमा साटासाट गरियो भने माया आफसेआफ फस्टाउँदो रहेछ, प्रेम फुल्दो रहेछ।
हो, हाम्रो प्रेमले टुँसा हाल्ने क्रममा थियो।