‘म सोच्न सक्छु, प्रतिक्षा गर्न सक्छु, र लामो समय उपवास वस्न सक्छु,’ यीनै हुन मेरा योग्यताहरू, सिद्धार्थ सदैव यहि दोहोर्याउने गर्दछन्।
प्रतिष्ठित व्राम्हण परिवारका सिद्धार्थप्रति सम्पूर्ण गाँउभरि नै एउटा भिन्नै आशा रहेको हुन्छ। उनका घनिष्ठ मित्र गोविन्द सिद्धार्थको वोल्ने शैली, हिँड्ने गति, उठ्ने वस्ने तौर-तरिका आदिमा नतमस्तक हुन्छन्। यसैकारण पनि गोविन्द सिद्धार्थबाट एकदिनै पनि टाढा रहन चाँहदैन र उनका प्रत्येक कदम पछ्याउन चाहन्छ।
सँधै उत्सुक रहने सिद्धार्थको मनमा ‘व्यक्ति भनेको के हो? अस्तित्वमा यसको प्रारम्भिक उपस्थिति कहाँ, कहिले र किन भयो? स्वयम् आफ्नो र आत्माको अस्तित्वको सारतत्व के हो?’ जस्ता जिज्ञासाहरु निरन्तर वगिरहन्छ। त्यसैक्रममा एक पटक गोविन्दलाई वोलाई भन्छन्, ‘जाऊँ, पल्लो वरको रूखमुनि वसेर ध्यानको अभ्यास गरौं।’ र सहजरुपमा मधुरो मन्त्रध्वनि उच्चारण हुन थाल्छ।
‘प्रणवो धनु:शरोह्यात्मा ब्रह्मतल्लक्ष्यमुच्यते।
अप्रमत्तेन वेद्धव्यं शरवत्तन्मयो भवेत् ॥’
गृहस्थ त्याग र श्रवण शिक्षा
शिक्षित अनि ज्ञानी वुवा, अन्य गुरूहरूबाट पनि वास्तविक आफ्नो उत्सुकता नमेटिने महसुस भए पछि एकदिन आफ्ना वुवालाई अनुरोध गर्छन्, ‘वुवा, हजुरको यो महल लगायत सम्पूर्ण सुख-सुविधा, सामाजिक वन्धन त्यागेर भोलिको सूर्योदयसँगै म श्रवण जीवन प्रारम्भ गर्न चाहन्छु। मलाई हजुरको आज्ञा चाहिएको छ। यसमा कुनै आपत्ती महसुस गर्नुहुनेछैन।’ सिद्धार्थको मन, मस्तिष्क र भावनाले संसारका सम्पूर्ण भौतिक मोह त्यागिसकेको भान भईसकेपछि उसलाई रोकिराख्नुको सार्थक औचित्य देख्दैनन् एक मजवुर वुवा। सो कदमको गोविन्दले पनि साथ दिँदै अर्को दिन साँझ दुवैजना पुग्छन्, श्रवण समूदायको आश्रमस्थल।
श्रवण शिक्षामा कहिले चौध दिन, कहिले अट्ठाईस दिन लामो व्रत वस्ने प्रयाशले उनको खुट्टा, गालाको मासु सुकेर केवल हाड र छाला मात्र बाँकि रहन्छ। कहिलेकाँहि नगर प्रवेश गर्दा भेटिने युवतिप्रति वितृष्णाको भाव उत्पन्न हुन थाल्छ। राम्रा राम्रा वस्त्रहरु लगाएर हिँडेको देख्दा तिरस्कारको भावना जागेर आउन थाल्छ। श्रमणकालमा कोहि व्यापारमा व्यस्त भएको, शाही परिवार शिकारमा रमाएको, मलामी लागेकाहरू लाशको अघिपछि आकुल व्याकुल गर्दै रोईरहेको, वेश्याहरू स्वयम् आफूलाई ग्राहक समक्ष समर्पण गरिरहेको, चिकित्सकहरू उपचारमा तल्लिन, युवा-युवतीहरू प्रेमालापमा लिन भईरहेको देख्दा उनलाई लाग्छ, यी सम्पूर्ण दृष्यहरु भ्रम हुन्, फगत् दुर्गन्धित भ्रम। वस्तुत: संसारको वास्तविक नियति नै दु:ख हो, पीडाहरुको श्रृङ्खला नै जीवन हो। यहि नै यतिञ्जेलसम्मको सिद्धार्थको अनुभूतिहरुको सार हो।
आफ्नै मौलिक शैलीको यात्रा
सिद्धार्थ र गोविन्द, एकदिन श्रावस्ती नगर, अनाथपिण्डक कुञ्जको जेतवनमा, भगवान बुद्धसँग साक्षात्कार गर्ने अभिलाषासहित जान्छन्। गोविन्द, वुद्धसँगको साक्षात्कार नै यात्राको अन्तिम गन्तव्यको रुपमा मानिरहेको हुन्छ, अनि वुद्धको प्रवचन सुन्न सिद्धार्थ र गोविन्द आतुर रहन्छ। व्यग्र प्रतिक्षापछि त्यो दिनको प्रवचनमा बुद्धले दु:ख, दु:खका स्रोत र दु:खबाट मुक्त हुने उपायका वारेमा चर्चा गर्नुहुन्छ। सो बाट, जीवन पीडामय छ, सम्पूर्ण संसारमै दु:ख र पीडा व्याप्त छन्। तर यी सबै दु:ख र पीडाबाट मुक्ति पाउन आ-आफ्नो यथास्थितिबाट पूर्णत: जाग्रत हुन सके बुद्धत्व प्राप्त भइ मुक्ति पाइन्छ भनि सिद्धार्थले बुझ्छन्। तर अलि संकुचित स्वभावका गोविन्द भगवान बुद्धसँग आग्रह गर्दै बुद्धका अनुयायी समूदायमा समाविष्ट हुन्छन्।
सिद्धार्थ बुद्धसँग जिज्ञासा राख्छन् कि, ‘हजुरले प्राप्त गर्नुभएको बुद्धत्व प्राप्तिका लागि असङ्ख्य व्यक्तिहरु कैयौँ पिँढीदेखि अनवरत प्रयाशमा छन्, यद्धपि सफल हुन सकिरहेको छैनन्। जुन परम्परागत अनुकरण मात्र हुने गरेको छ। हजुरले जुन बुद्धत्व प्राप्त गर्नुभो। ती सवै हजुरको मौलिक शैली हुन्। जसमा हजुरले आफ्नै मौलिक शैलीमा ध्यान गर्नुभयो, ध्यानको विपश्यना शैलीको पुनर्स्थापना गर्नुभयो, अनापान गर्नुभयो, अधिस्थान गर्नुभयो। यी सवै क्रियाकलापमा कुनै दोस्रो व्यक्तिको निर्देशन थिएन। हजुर स्वयम् आफ्नै गुरू र शिष्य हुनुहुन्थ्यो। दोस्रो व्यक्तिको मार्ग अवलम्बन गरेर कसैले मोक्ष, मुक्ति वा बुद्धत्व प्राप्त गर्न सक्दैन। यसर्थ सिद्धार्थ पनि अगाडीको यात्रा त्यहीँबाटै आफ्नै मौलिक शैलीमा प्रारम्भ गर्ने ईच्छा बुद्ध सामु राख्दा ईच्छा अनुरुप गर्न बुद्धबाट स्वीकृती प्राप्त गर्छन्।
सिद्धार्थ, बिहानै बुद्धको निवासस्थानस्थित जेतवन कुञ्ज र गोविन्दको साथ छोडेर मनमा जागरणसहित अघि बढ्छन्। सन्यास्त जीवन व्यतित गर्ने क्रममा वर्षौं घर, परिवार छोडेका उनलाई घर फर्कने लालसा पनि आउँछ। हठात् रोकिएका उनका पाईला आफूले नवजिवन पाएको र पुनर्जीवित भएको आभास पनि गर्न थाल्छन्। यसर्थमा ‘अब म सन्यासी, पण्डित, पुरोहित वा ब्राम्हण होईन। यो स्थितीमा घर फर्केर के गर्नू? त्यहि पुरानो शैलीमा अध्ययन, पूजा, ध्यानको अभ्यास गर्ने हो र? त्यसको के अर्थ रहन्छ र?’ यस्तै मनमा उठेका अनुत्तरित प्रश्नहरु, जिज्ञासाहरु सहित अनन्त यात्राको प्रारम्भ त्यँहिबाट थाल्छन्।
यात्राको क्रममा बाटोमा एउटा सुन्दर नदी, डुङ्गा खियाउँदै गरेको माझी र किनारामा सो माझीको सानो घर भेट्छ। त्यो रात सिद्धार्थ माझी कै घरमा आश्रय लिन्छन्। वर्षौं जङ्गलको एकान्त र विरानोमा रात विताउँदै आएकोमा पहिलो छाना सो कुटीकै भएको महसुस गर्छन्। सो रात सपनामा गोविन्द पिताम्बरधारी सन्यासी भेषमा उनलाई सोधिरहेको हुन्छ, ‘तिमीले मलाई किन छोड्यौ?’ भोलिपल्ट बिहान माझीले उनलाई नदी पार गराईदिन्छन्, तर त्यस बापत माझीलाई दिन सिद्धार्थसँग केहि हुँदैन।त्यस सम्बन्धमा माझी भन्छ, ‘सिद्धार्थ, तिमीसँग गाँसिएको मित्रता नै मेरो उपलब्धि हो, मैले यो नदीबाट नै सिकेको हुँ कि हरेक कुरा बारम्बार फर्किन्छ, अनि हाम्रो पुन: भेट हुन्छ।’
सुन्दरी कमलालाई चुम्बनको प्रस्ताव
सिद्धार्थ कुनै शहरमा प्रवेश गर्ने क्रममा शहर भित्रको कुञ्जमा महिला पुरूषसहितको पङ्क्तिबद्ध शोभायात्राको विचमा गरगहनाले सुसज्जित पालकीमा एउटी सुन्दरी महिलालाई देख्छन्। कुञ्ज परिसरका एक व्यक्तिले ती सुन्दरीको नाम कमला भएको र शहरकी सुपरिचित भद्र महिला हुन् भनि जानकारी गराउँछ। अनेक प्रयासपछि सिद्धार्थले कमलासँग भेट्ने मौका पाउँछ। पहिलो भेटमा कमलाले ‘किन मलाई भेट्न खोजेको हो?’ भन्ने जिज्ञासामा सिद्धार्थ उत्तर दिन्छन्, ‘म सिद्धार्थ, एक ब्राम्हणपुत्र, जीवन र जगतको सत्यता पहिल्याउने उद्देश्यले घर, परिवार र समाज त्यागेर निर्धारित मार्ग अवलम्बन गर्दै तीन वर्षसम्म पूर्ण श्रमण बनेँ। त्यसपश्चात त्यो श्रमणको मोह पनि भङ्ग भएकोले यो शहर पसेँ। यहाँ सबभन्दा पहिले देखेको ब्यक्ति नै तपाईँ भएकोले भेट्न आईपुगेँ। म तपाईँको वाह्य सुन्दरताका साथै भित्री सुन्दरताबाट धेरै कुराहरु सिक्न चाहन्छु। तपाईँलाई गुरू मान्नुका साथै मित्र सम्बन्ध स्थापित गर्न चाहन्छु।’
त्यसको जवाफमा कमला भन्छिन, ‘आजभन्दा पहिले कुनै श्रवण, जङ्गलबाट तिमीले जस्तो पुरानो, फाटेको पहिरन लगाएर म सँग यो प्रकारको प्रस्ताव राखेको छैन। म कहाँ कयौं ब्राम्हण युवक लगायतका व्यक्तिहरु आउने गर्छन्। तिनीहरु सब राम्रा स्तरीय वस्त्रहरु, जुत्ताहरु लगाएका र केशमा अत्तर छर्किएका हुन्छन् साथै गोजीमा टन्न पैसा हुने गर्दछन्। सिद्धार्थ भन्दै जान्छ, ‘स्तरीय वस्त्र, जुत्ता र गोजीमा पैसा मात्र मानिसको योग्यता नहुन सक्छ। म सोच्न सक्छु, प्रतिक्षा गर्न सक्छु, र लामो समय उपवास बस्न सक्छु। यीनै मेरा योग्यता हुन्।’ ‘बस यति मात्र,’ कमलाले भन्छिन्।
‘म कविता रच्न पनि सक्छु, तर त्यसको बदलामा एक चुम्बन दिन सक्नुहुन्छ?’
एकक्षण सोचेर कमला बोल्छिन्, ‘तिम्रो कविताले मेरो हृदय छुन सकेमा विचार गर्न सकिन्छ।’ त्यसपछि सिद्धार्थ कविता वाचन गर्दै जान्छ,
‘सुन्दरताको सर्वोत्तम नमुना हौ तिमी, कमला।
तिम्रो प्रत्येक कदम पछाडि नतमस्तक हुन मन लागेको छ,
कमलको फूलभन्दा पनि मोहक तिम्रो यौवन
तिमीमा समर्पित हुने अभीप्सा जागेको छ,
तिमीलाई देख्दा अन्य सम्पूर्ण साधना
पूजा अनि प्रार्थना
अधुरो लागेको छ,
यसर्थ
तिम्रै आराधनामा डुब्ने अभीप्सा जागेको छ,
केवल तिमीमा समर्पित हुने इच्छा जागेको छ।’
मिठो आफ्नो प्रशंसा सहितको कविता सुनेपछि अनायासै कमला उन्मुक्त एवम् स्व:स्फूर्त तालीसहित सिद्धार्थलाई न्यानो अङ्गालोमा बाँधी चुम्न पुग्छिन्। अनि भन्छिन्,
‘अबदेखि मलाई तिमी भनि सम्बोधन गर्नू। म, हाम्रो मित्रताको सम्बन्धलाई अगाडि बढाउन तयार छु।’
सफल धनाढ्य व्यक्ति बन्दै गर्दा
अव विस्तारै सिद्धार्थ र कमलाको मित्रता र सम्बन्धमा गाढापन आउन थाल्छ। वस्त्र, जुत्ता र पैसा शीघ्रातिशिघ्र आर्जन गर्ने अभिलाशा पुरा गराउन कमलाले सिद्धार्थलाई नगरका प्रख्यात व्यापारी कामास्वामीसँग भेट गराउँछे। पहिलो भेटमा नै सिद्धार्थ आफ्नो सोच, धैर्यता र उपवास क्षमता सम्बन्धी योग्यताहरु बताउँछन्।
सो क्रममा कामास्वामीले केहि कुराहरु लेखेर देखाउन भनेपछि ‘राम्रो कुरा लेख्नको लागि परिष्कृत विचार पहिलो शर्त हो। एक तर्फ चातुर्यताको शिक्षा प्राप्त गरिरहँदा अर्को तर्फ धैर्य धारणाको शिक्षा प्राप्त गर्न अत्यावश्यक छ, किनकि धैर्यको अभावमा कुनै पनि शिक्षा निर्थक हुन पुग्दछ।’ भनि लेखेर देखाउँदा उनि सिद्धार्थसँग प्रभावित भई आफ्नो कारोवारमा सहायकको रुपमा राख्छन्।
त्यहाँ उनलाई आवश्यक तमाम सामाग्री, सुविधा उपलब्ध गराईन्छ। दैनिक दुई पटक उत्कृष्ट भोजन तयार गरिदिए पनि एकछाक मात्र त्यो पनि पूर्णत: सात्विक र शाकाहारी भोजन मात्र लिन्छन्। मधपान लिएनन्।
व्यापारको क्रममा कहिले राम्रो हुँदा दङ्ग पर्ने र कहिले कारोवार नराम्रो हुँदा खिस्रिक्क पर्ने कामास्वामीको व्यवहार भए पनि सिद्धार्थ हरेक क्षणमा स्थिर भावमा देखिन्छ। सिद्धार्थको कार्यशैलीको कारण कामास्वामीको कारोवार निरन्तर फस्टाउँछ। ग्राहक, अन्य कारोवारसँग सम्बन्धित व्यक्तिहरु अव कामास्वामीभन्दा सिद्धार्थसँग सम्पर्क राख्न बढी मन पराउन थाल्छन्।
यही क्रममा सिद्धार्थ कमलासँग दैनिक जस्तो भेटघाट गर्न थाल्छन्। भेटघाटमा प्राय: उपहारहरु सहित र अरु धनाढ्यहरु जस्तो ठाँटका साथ जाने गर्न थाल्छ। यो क्रममा कमलाको वैँशालु मादकतापूर्ण ओँठ, अनि कोमल सुन्दर हातहरुले सिद्धार्थलाई कैँयन नयाँ कुराहरु सिकाईरहन्छ। सिद्धार्थ जो यौन क्रीडामा अझै परिपक्व भई सकेका छैनन्, अझै कमलासँग यौवनको मादकतापूर्ण क्रीडामा गहिराईमा डुवुल्की लगाउन चाहन्छ। कमलाबाट उनले सिकिसक्छन कि यौन क्रीडाको पूरा आनन्द उठाउनको निम्ति दुवैको एक समान भावनात्मक सहभागिता अत्यावश्यक छ। शरीरका प्रत्येक मुद्रा, प्रत्येक स्पर्श, प्रत्येक दृष्टी र प्रत्येक अङ्गमा एक किसिमको मिठो रहस्य समाहित भई रहेको हुन्छ। यो मिठासको स्वादानुभूति उसले मात्र गर्न सक्छ, जो सँग यी कुराहरुको रहस्य वुझ्ने क्षमता हुन्छ।
प्रेम भन्नु निरन्तर एक समान गतिमा प्रवाहित भईरहेको भावना भएकोले यस्को गतिलाई कसैले पनि सुस्त वनाउन नसक्ने हुँदा यौन क्रीडापूर्व प्रेमी र प्रेयसीका बीच एक-अर्काप्रति जुन उर्जामय आकर्षण हुन्छन्, त्यही आकर्षण क्रीडा पश्चात पनि कायम रहुनपर्छ। प्रेम कुनै प्रतिस्पर्धा होईन। यसमा हारजित मनस्थितिको कुनै स्थान हुँदैन। यसरी सजग र सुन्दर कमला र सिद्धार्थ एक-अर्कासँग कहिले शिष्य र अध्यापिकाको रुपमा, कहिले प्रिय र प्रेयसीको रुपमा त कहिले घनिष्ट मित्रहरुको रुपमा घन्टौँ समय विताउँछन्।
वेला वेलामा कमला भन्थिन्, ‘सवै मानिसहरू तिमी जस्तै सजग हुँदैनन्, धेरैजसो वेहोशीमै वाँच्न मनपराउँछन्। किनकि, वेहोशीमा भ्रामक सुविधा जो उपलब्ध हुन्छन्।’ अनि कमलाको विचारमा आंशिक सहमति जनाउँदै सिद्धार्थ भन्छन्, ‘सुख र शान्तिको खोजिमा भगवानको शरणमा निस्कने अधिकांश मानिसहरुलाई यो थाहा छैन कि जीवनमा सत्यानुभूति एवम् सुखानुभूतिको बाटो कसैले कसैलाई देखाउन सक्दैनन्, हरेकले आ-आफ्नो मार्ग स्वयम् आफैँले पहिल्याउनु पर्छ।’
सफल व्यापार, उपलब्ध सुविधाहरु र कमलाको यौवनसहितको साथ प्राप्त हुँदा पनि अधिकांश सिद्धार्थको मनोदशा खेलको मैदानमा भकुण्डो खेलिरहेका खेलाडीको समान हुने गर्दथ्यो, यानि जो खेलमा वा मैदानमा दौडी रहेको हुन्थ्यो, दर्शकहरु पनि उनलाई हेरेर मनोरञ्जन पनि लिने र स्वयम् पनि दर्शकहरुबाट प्रतिमनोरञ्जन लिईरहेको हुन्छ। तर स्वयम् खेलाडीको मन भने खेल मैदान भन्दा धेरै टाढा सुदूर स्थानमा अल्झिरहेको हुन्छ। किनभने उनलाई थाहा हुन्छ कि जीवनको वास्तविक सत्यानुभूति गर्नको निम्ति यो खेल मैदान उपयुक्त स्थान होईन। ऊ भिन्न स्थानको खोजिमा रहन्छ।
उनी प्राय: सोच्ने गर्छ कि, विगतमा म ब्रम्ह र ईश्वरको परिकल्पनामा बढी आवद्घ थिएँ। आज म पृथक विषयमा लिन हुँदैछु। त्यो आवद्घता त्यो वेलाको वर्तमानको वास्तविकता थियो भने यो आवद्घता यो वेलाको वर्तमानको वास्तविकता हो तर यी दुवै सत्य होईनन्- सत्य भन्नु र वास्तविकता भन्नु दुई भिन्न फरक पाटो हुन्। यद्धपि सिद्धार्थले मनन् गर्छन् कि, ‘यसरी स्वयम आफैंलाई झुक्याएर आनन्दित भई बाँचिरहनु सांसारिक मानिसको विशेषता नै हो।’
दुनियाँसँगै सिद्धार्थमा परिवर्तन
समयको अन्तरालपछि विस्तारै त्यो शहरमा सिद्धार्थ धनाढ्यको रुपमा स्थापित हुन्छन्। उनीसँग अहिले आफ्नै सुविधा सम्पन्न सुन्दर बगैँचा सहितको एउटा भव्य महल छ। शहरमा उनी सर्वाधिक लोकप्रिय छन्। कमलासँगको घनिष्टता पनि रहिरहन्छ। सिद्धार्थ व्यापारको व्यवहारिक नीतिमा पनि पारङ्गत भई उनमा व्यापारी प्रवृत्ति आईसकेको छ। आफ्ना नोकर, सहयोगीमा आधिपत्य जमाउने, दवाब अनि प्रभुत्व जमाउन थाल्छ। मन वहलाउन वेश्यालय जाने, अत्तर मिश्रित पानीले स्नान गर्ने, नित्य नयाँ पहिरन लगाउने भई ठाँट र स्वभावमा पनि पूर्णत: धनाढ्य प्रवृत्ति देखिन्छ।
आफ्नो लागि खाना पकाउन पाकशाष्त्रमा निपूण भान्छेको नियुक्ति गर्छन्। भोजनमा कालिज र हाँसको मासु साथै प्राय जाँडरक्सी सेवन गर्न थाल्छन्। जुवा, पासा र सतरञ्ज दैनिकी बन्छ। यो सब गरिरँहदा आफूलाई पृथक एवम् विशिष्ट अनुभूत गर्छन्। अन्य समूदाय, सहकर्मी, सहयोगी मित्रहरुलाई हेयको दृष्टीले हेर्न थाल्छन्। जसले गर्दा अव उनको सामान्य जीवन, सोच, क्षमता र स्मरणशक्ति अलिक क्षीण हुँदै जान्छ। आफ्नो मूर्खतापूर्ण कर्मलाई न्यायोचित ठहर्याउन प्राय: पर्याप्त मनगढन्ते तर्कहरु पनि गर्न थाल्छन्।
सिद्धार्थको वर्तमान जीवनमा उनको क्रियाकलापले वनाउँदै गरेको जालोको आवरण र तुँवालो समयसँगै निरन्तर वाक्लिँदै जान्छ। उनको मन, मस्तिष्क, भावना र विचार साथै समग्र व्यक्तित्व नै त्यही जालो र तुँवालो भित्र निस्सासिँदै रुग्ण हुँदै जान्छ। समयको चपेटाले जसरी वस्त्रको आकर्षक रङ्ग खुईल्याउँदै जान्छ, मक्किएर ठाउँ, ठाउँमा च्यातिन थाल्छ, फाट्न थाल्छ, उध्रिएर धागोहरुले छोडेको डोव अनि दागहरु देखिन थाल्छ। त्यसरी नै सिद्धार्थको जीवन पनि पुरानो हुँदै जान थाल्छ। विभिन्न दागहरु एकत्रित हुँदै जान थाल्छ।
सिद्धार्थ सांसारिक जञ्जालमा पूर्णत: जकडिन्छ। तुच्छ कुरामा आश्रित भ्रामक खुशी, लोलुपता, आफ्नै व्यक्तिगत भौतिक लाभ वाहेक अन्य सत्योन्मूख कार्यहरुप्रति अकर्मन्यता, केवल आफ्नै स्वार्थप्रति अन्धोलगाव, अन्धाधुन्द सम्पत्ति सञ्चय, तमाम वैभव, सम्पत्ति र सम्पूर्ण कुराहरुमा आधिपत्यता जमाउनमा अग्रसर हुनपुग्छ, जुन विगतमा उनि हल्का रुपमा लिन्थे, अहिले ति सवै जटिल र निर्वाह गर्न वाध्य वन्धनको रुपमा परिणत भई सकेका छन्। अचेल उनका प्रत्येक कर्महरु, हरेक परिणाम आफ्नै पक्षमा हुनुपर्छ र सकारात्मक मात्र हुनुपर्छ भन्ने हठले प्रेरित हुन थाल्छ।
सिद्धार्थको करीव चार दशकको जीवनमा एकदिन कमलाले भन्छिन्, ‘कुनै दिन, यथासम्भव चाँडो म यो सम्पूर्ण सम्पत्ति त्यागेर शान्तिको अनुयायी बन्न चाहन्छु।’ त्यो पल सिद्धार्थले कमलाको आँखामा जीवनको सन्ध्याकाल अनुभूत गर्छन्। अहिले कमलाको पहिलेको त्यो रातो मादक ओँठ र नशालु आँखाका किनारमा चाउरी पर्न थालेको देख्दछन्। आफैँमा पनि वृद्धावस्थामा संकेतहरु महसुस गर्न थाल्छन्। केश फुल्न थालेका छन्। उनी महसुस गर्छन्, कमलाले जीवनमा जुन मार्ग हिँडेका थिए, त्यसको कुनै सार्थक गन्तव्य छैन। उनले प्राप्त गरेको भ्रामक उपलब्धि र क्षणिक खुसी- यी सब कुराहरुको परिणति यहि हो, सायद-थकाई, उदासी र अव्यक्त पीडाहरु।
एकरात भरि आफ्नै घरमा सिद्धार्थ अन्य वेलामा भन्दा बढी रक्सी पिउँदै नृत्याङ्गनाहरुको नाच हेर्छन्। गहनताहिन कोलाहल संगीतका धुनहरु, घाँटी पोल्ने रक्सीका घुटहरु, नर्तकीका कृतिम मुस्कानहरु, तिनै नर्तकीहरुले आ-आफ्नो केश र वक्षस्थलमा छर्किरहेका अत्तरको निस्सासिँदो गन्धहरुले सिद्धार्थलाई आफू आफूमै एकाएक घृणा जागृत हुन थाल्छ। त्यो कहालिलाग्दो रातमा अवेला सुतेका सिद्धार्थले विहानीपख एउटा सपना देख्छ। सपनामा कमलाले सुनको पिँजडामा थुनेर राखेको अति सुन्दर र दुर्लभ चरा जुन प्राय: विहान मीठो आवाजमा गाईरहन्छ। त्यो दिन चराको कुनै आवाज नसुनेपछि उत्सुकताका साथ सिद्धार्थ हेर्न जाँदा मरिरहेको पाउँछ, अनि त्यो मरेको चरालाई बगैँचाको एकछेउको फोहोर थुप्रोमा हुत्याईदिन्छ। त्यसपछि सिद्धार्थ सपनाबाट विउँझिन्छ, उनलाई त्यस बखत डर लाग्नुका साथै मुटु दुखेको अनुभूत गर्छन्।
त्यसपश्चात सिद्धार्थ अनुभूत गर्न थाल्छन् कि, ‘संसार भन्नु नै फगत झुठो र तर्कैतर्कको श्रृङ्खलावद्ध खेल मात्र नै हो। मानिसहरु अनेकौं पाप गर्छन् र त्यसलाई सत्य साबित गर्न तर्कको आवरणको सहायता लिन्छन्। मिथ्या विजयको क्षणिकतामा रमाउँछन र दङ्ग पर्छन्। कहिलेकाँहि तर्क अलि फितलो भयो भने निराश र दु:खी हुन्छन्। तर सत्य, सत्य त तर्कातित हुन्छ।’
एकदिन सिद्धार्थले त्यो सबै सम्पत्ती, सुन्दर बगैँचा सहितको महल, शहरमा कमाएको ख्याति र कमलालाई त्याग गरेर शहर छाड्छन्।
निरन्तर बग्ने नदी किनारामा पुग्दा
सिद्धार्थ, सुदूर घना जङ्गलमा शहर छाडेर भौंतारिँदै गर्दा व्याकुलताको आँधी मनमा चलिरहन्छ। बालक छँदा गोविन्दसँग ध्यानको प्रयाश गरी शान्ति प्राप्त गर्ने प्रयास, वुवासँग श्रमण बन्न घर छाड्न गरेको अनुरोध, श्रमणकालमा गरेका प्रयाश, गौतमसँगको वार्तालापले एकतर्फ आफैंलाई झन अस्पष्ट र जटिल नीतिहरुको जालमा अल्झेको पाउँछ, भने पछि त्यहांबाट पनि नयाँ गन्तव्यको लागि हिँड्दै शहरमा पुग्दा कमलासँगको भेट र उनीसँगको जीवनचर्या, कामास्वामीसँगको दैनिकी, त्यो भौतिक सुविधासहितको जीवन सवैले अर्को तर्फ वेहोशी र विकृतिपूर्ण संसारको अनुभूत गराएको पाउँछ।
अव सिद्धार्थ आफ्नो विगतका सम्पूर्ण विषाक्त स्मृतिका साथसाथै जीवनलाई नै बिसर्जन गर्न चाहन्छन्। विगतका कुकर्मको बोझ उठाएर बाँच्ने हिम्मत उनी भित्र निख्रिसकेको हुन्छ। यतिवेला अलि विषाक्त रक्सीको प्याला पिएर तमाम विषाक्त स्मृतिलाई बिर्सिएर चीर निद्रामा पुग्न चाहन्छ। उनले सामना गरिरहेको सम्पूर्ण मानसिक, भावनात्मक र शारीरिक अवस्थाको दोषी आफैंलाई पाउँछ। यो बोझिलो मन र शरीरलाई घिसार्दै उनी त्यही नदिको किनारामा आईपुग्छ, जुन आफू जवानीमा बुद्धसँगको भेट गरेर आउँदै गर्दा एउटा माझीले तारिदिएका थिए, अनि भनेका थिए, ‘मैले यो नदीबाट नै सिकेको हुँ कि, हरेक कुरा बारम्बार फर्किन्छ।’
नदी किनारमा आफ्नो शरीरलाई पूरै शक्ति लगाएर, एकै डल्लोमा अँठ्याएर प्राण परित्याग गर्ने प्रयाश गरिरँहदा, उनको थकित आत्माको गहिराईबाट एउटा अस्पष्ट आवाज निस्कन्छ। जसमा पवित्र शव्द ॐ समाहित भएको अनुभूति हुन थाल्छ। सो अनुभूतिसँगै उनको चेतनालाई अचेत बनाईरहेको कुहिरो हटेको महसुस हुन्छ र आफूले गर्न गई रहेको कार्यमा मूर्खताको वोध हुन थाल्छ, सिद्धार्थलाई।
अचानक प्रस्फुटन भएको ॐ शव्दले उनलाई यसपटक छोटो अवधिको भए पनि स्वर्गानुभूतिको आभाष गराउँछ। त्यसपछि नदी किनारमा रहेको नरिवल रूखको जरामा टाउको अड्याएर गहिरो निद्रामा पुग्छन्। सो निन्द्रामा, अस्तित्वमा व्याप्त दैविय आनन्दको अनुभूतिका साथमा ब्रम्हा, विष्णु र महेश्वरको अभिव्यक्ति सहितको स्वर्गानुभूति गर्छन्, जुन उनलाई आजसम्म महसुस भएको थिएन्।
निरन्तर.........
(हर्मन हेस्सेको ‘सिद्धार्थ’ बाट संक्षेपीकरण गरिएको)