पल्लाघरे काका अक्सिजन नपाएर नै गए
तल्लाघरे बहिनी अस्पताल धाउँदै गइन्
सँगै पढ्ने साथी अस्पतालमा बेड खोज्दै गए
कोही साथी भेन्टिलेटरमा बाँच्न संघर्षरत छन्।
सरकार अझै रमिते बनिरहेको छ
सरकार अझै सुतिरहेकै छ
अब त उठ सरकार, अब त जाग सरकार
भोको पेट बोकेर बन्द कोठामा बस्नेको पीडा के थाहा ?
महलमा बसेर कालो चस्मा लगाउने लाई
अक्सिजन, भेन्टिलेटर पर्याप्त छ भन्दै भ्रम छरिरहेकै छ,
अस्पतालको गेट सम्म आएर त हेर
कुर्सी मोह त्यागेर एक छिन कालो चस्मा खोलेर त हेर सरकार ।।
सरकार आफ्नो कुर्सी जोगाउनमा नै लागिरहेको छ
स्वास्थ्य मन्त्रालय मृतक संख्या गन्दै बसिरहेको छ
प्रतिपक्षी पनि मूकदर्शक भइरहेकै छ
जनता जोगाउन कोही त आऊ नेता हो, कोही त आऊ ।।।
चुनाव चुनाव भन्छौ सरकार
भोट हाल्ने जनताको हालत के छ थाहा छ सरकार?
सास रहे भोट दिउँला अहिले खोप र अक्सिजन दिएर त बचाउ,
गत चुनावमा स्वस्तिक छाप त हानेकै हो नि,
समृद्ध नेपाल बनाउन हैन रहेछ त्यो छाप
आफ्नै जीवनलाई भीरमा लडाउन रहेछ ।।।।
कैयौंका सिन्दुर पुछिसकिएका छन्
कैयौं नानी टुहुरा भइसकेका छन्
कानमा पुग्ने गरी ठूलो स्वरमा कोही त सुनाइदेऊ
कुम्भकर्ण निन्द्राबाट उठने गरी सुनाइदेऊ
अब त उठ सरकार, अब त जाग सरकार ।।।।