घामको चर्को दादागिरी समुद्रले के थेग्न सक्थ्यो ? समुद्रको पानीको आयतन आकाशले थेगोस् कसरी ? चर्को घामलाई चर्कनै दिएर एकाएक पानी बर्सियो।
घाम लाग्दा लाग्दै यसरी पानी ओइरियो भने, स्कुल पढ्दा हामीले गाउँथ्यौ
घाम पानी घाम पानी स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन
न यो बिहे गर्ने मौसम थियो न त जन्त जाने नै। थियो त सबैतिर केबल कोरोना नै कोरोना।
चौबिस घण्टामा निदाएको बेलाबाहेक हरेक पल कोरोना सुन्नुपर्ने बाध्यता थियो। सुतेपछि सपना पनि धेरैले कोरोना नै देख्थे।
कोरोना विशेष अस्पताल बेलझुण्डीको ३ नम्बर आइसोलेसन वार्डमा भर्ना भएका छन् कमरेड रक्तबीज।
करिब २० वटा वेड अटाएको आयताकार कोठामा सबै बेडमा अक्सिजन सिलिन्डर छ अनि सबैका मुखमा अक्सिजनको पाइप जोडिएको छ।
कोभिड पुष्टि भएको तेस्रो दिनमा अचानक अक्सिजन लेबल घट्दै जान थालेपछि उनलाई होम आइसोलेसनबाट अस्पतालमा ल्याइएको थियो। सिकिस्त हुँदा पनि अस्पताल आउन उनलाई ठूलै सकस भएको थियो।
कमरेड रक्तबीजले २०३७ सालको जनमत संग्रहको बेला संसार देखे। जन्मँदा उनी संवेग पुन भएर जन्मिएका थिए। पाँच छोरीपछि जन्मेका हुनाले परिवारको उनको उपस्थिति निकै महत्वपूर्ण थियो। छोराको आशमा उनकी आमाले वर्षाैंदेखि ब्रत बसेको साकार भएको थियो। अनि गढी लेकमा बाबुले बोको पनि काटेका थिए। रोल्पाको तिलामा छोरा जन्मने घरहरू निकै कम थिए। उनी जन्मिएपछि गाउँमा उनका बुवाको प्रतिष्ठा एकाएक उकालो लागेको थियो।
‘छोरा जन्माउन सक्ने तागत भएको मान्छे हुँ, दुई चार जना टेरिँदैन’ रक्तबीज जन्मिएदेखि बुढाको शरीरमा तातो रगत उम्लिरहन्थ्यो।
कतै भेला भएका बेला बुढाले भन्थे, ‘मेरो छोरोले मेरो घरमात्रै होइन यो गाउँलाई उज्यालो बनाउँछ हेर्दै जाऊँ यो गाउँको मुहार फेर्ने मान्छे जन्मिसक्यो।’
उनी छन्जेल कुरा सुनेजस्तो गर्ने गाउँलेहरू उनी गइसकेपछि भने अनेक कुरा गर्थे।
‘आफूले छोरीमात्रै जन्मेपछि दाङ झरेर बुढीलाई एउटा तिघ्रेसँग सुताएपछि छोरो जन्मिएको हो, बात गर्छ ठूलो’ यसको सत्यता परीक्षण गर्नका लागि कुनै छानबिन समिति भने बन्न सकेन।
कमरेड रक्तबिज यतिबेला कोरोना क्याबिनमा छ।
भर्ना भएको दोस्रो दिनमा अक्सिजन लेबल ९१ पुगेपछि केही आराम महसुस गरेर अस्पतालको गोलाकार कौशीतिर लाग्यो।
कोठाभरि संक्रमितका चित्कार सुन्दासुन्दा उसलाई दिक्क लागेको थियो।
फराकिलो कौशीको एक कुनामा एक महिला फोनमा व्यस्त थिइन्। उसले ध्यान दिने कुरा भएन।
कोरोना अस्पतालको बन्द उकुसमुकुस कोठाबाट ऊ खुला ठाउँमा आएको थियो।
अस्पतालमा केही नयाँ संक्रमित थपिएका थिए भने केही सधैंका लागि जीवन गुमाएर प्लाष्टिकमा बेरिएका थिए।
अस्पताल आउँदा सबै मनमा बाँच्ने आशा लिएर आउने न हो। तर सबैका आशा कहाँ पूरा हुन्छन् र ?
‘हेलो कमरेड, धड्कन’ अघि फोन गर्ने महिलाको टोनमा सुनिएको आवाज उनीतिर पो सोझियो।
उनलाई धड्कन भन्ने यो संसारमा एक जना मान्छे मात्रै थियो, कमरेड प्रकृति। ठम्याउन नसक्ने कुरै भएन। १७ वर्षपछि उनको
धड्कन नाम कसैले उच्चारण गरेको थियो।
यो त्यस्तो नाम थियो, उच्चारण गर्ने बित्तिकै कानबाट हृदयका तारहरू हल्लाउन पुगिहाल्थ्यो।
कमरेड रक्तबिजको नाम धड्कन हुनुका पछाडि एउटा रोचक घटना छ। ५९ सालतिर उनीहरू सतवरिया आक्रमण गर्नका लागि तोकिएको समूहमा थिए।
रोल्पाको रक्तबिज र बागलुङकी प्रकृति एउटै बटालियनमा थिए। उनीहरू अनुहारले मात्रै एक अर्कालाई चिन्थे।
१ सय ५० जनाको बटालियनमा सबैलाई चिन्ने पनि भएन।
लडाइँको मोर्चामा दुश्मनलाई कसरी परास्त गर्नेभन्दा अरू कुरा केही पनि आँखा र मनमा हुँदैन थियो।
राख्ने कसैलाई अधिकार पनि थिएन। सतवरियाको आक्रमणलाई दुश्मनका एक दर्जन मानिसले ज्यान गुमाउँदा उनीहरूका २ दर्जन साथीहरूले ज्यान गुमाए।
मिसन पुरा हुन सकेन।
युद्ध पराजय मात्रै होइन केही महत्वपूर्ण हतियार समेत उनीहरूबाट बरामद भएको थियो।
भौवा नाका हुँदै थप नयाँ हतियार भारतबाट आउँदै थियो। त्यो हतियार ल्याउन समूहमा थिए प्रकृति र रक्तबिज।
देउखुरीबाट जंगलै जंगलै उनीहरू २ दिनमा भौवा नाका पुग्थे।
बाटोमा जाँदै गर्दा अचानक कमरेड रक्तबीजलाई ज्वरो आयो। केही त थेगे तर हिँड्नै नसक्ने भएपछि उनी सुनछहारीको जंगलबाट अगाडि बढ्नै सकेनन्।
कमान्डर कमरेड बारुदले उनको उपचार गर्नका लागि भनेर कमरेड प्रकृतिलाई जिम्मा दिए।
कमरेड प्रकृति र बारुद सोही ठाउँमा बस्ने भए अनि अरू चाहिँ सामग्री लिनका लागि नाकातर्फ लागे।
कमरेड रक्तबिजको समूहलाई भौवा नाकाबाट युद्ध सामग्री रोल्पा पुर्याउने जिम्मा दिइयो।
उनको समूहमा २० जना थिए। कमरेड प्रकृतिसहित ५ जना केटी पनि थिए। अन्य ४ जना भने नाकातर्फ नै गए।
जीवनमा कहिल्यै कुनै केटाको मायालु आवाज नसुनेकी प्रतिक्षा र प्रेम शब्द कागजमा मात्रै पढेको रक्तबिजका बीचमा प्रेम अंकुराउन केही घण्टा नै काफी भयो।
केही समय अगाडिसम्म आँखाले मात्रै चिन्ने उनीहरू मनबाटै चिनिने भएका थिए।
टाउको दुखाइकै बीचबाट कमरेड रक्तबीजले युद्ध कथा सुरू गरे।
क. रक्तबीज
बा गाउँका जान्नेमान्ने थिए। म जन्मिएपछि बाको फूर्ति थप बढेर गएको थियो। बुढा इन्डियन लाहुरे थिए। घरमा नपुग्दो केही थिएन। पल्टनमा इन्डियन कमान्डरले बुढालाई अरूभन्दा बढी हेप्दो रहेछ। राम्रो काम गर्दा पनि बुढालाई अनेक सजाय दिँदोरहेछ।
असह्य भएपछि एकदिन बुढाले पाता कसेर हानेका रहेछन्।
कमान्डर त रगत पो छाद्न थालेछ। त्यहाँबाट भागेका बुढा १५ दिनपछि घर आइपुगेका थिए।
घरमा आएपछि बाका दुखका दिन सुरू भए। उनले ल्याएर आएको दुःखले हामी सबैलाई दु:ख दियो।
पाँच दिदी र मेरो पालनपोषण कसरी गर्ने बाका लागि फलाम चलाएजस्तै थियो। इन्डियन लाहुरे भएर सारा गाउँलेलाई जोताएका मेरा बा अन्ततः गाउँकै एक जमिन्दारको जग्गा जोत्ने भए।
जति दु:ख पाउँदा पनि उनलाई पल्टन छाडेको कहिल्यै पछुतो भएन। जीवनमा जे हुन्छ राम्रोका लागि हुन्छ भन्ने उनी सोच्दथे।
एकदिन दिदी च्यातिएका कपडामा छरिएको कपाल बोकेर घर आई। बा रिसले आगो भए। जमिनदारले दिदीलाई हातपात गरेको रहेछ। उनले जमिनदारको कठालो समातेर प्रहरी चौकीमा लगे।
पूर्व गाउँ पञ्चायत प्रमुखसम्म भइसकेका जमिनदार जहिल्यै गल्ती गरे पनि कहिल्यै थुनामा परेनन्। प्रहरी चौकीको थानेदारले उल्टै हातपात गरेको भनेर बालाई निर्मम कुटेछ र केही दिन थुनामा राख्यो।
बा थुनामा रहेको बेलामा घरमा जमिनदारले जथाभावी गर्यो। दिदीलाई गर्नु नगर्नु गर्यो। म भर्खर १५ वर्षको थिए त्यतिबेला। केही दिनपछि बा थानाबाट छुटे र घरमा पनि नआएर सिधै जमिनदार कहाँ गएर उसलाई मारेछन्। त्यहाँबाट घरमा आएर उनले जमिनदारलाई मारेको र आफू सर्वहाराको मुक्तिकालागि जनयुद्ध लड्न बन्दुक बोकेर भूमिगत हुन लागेको उद्घोष गरे।
उनले हामी सबैको जिम्मा आमाको काँधमा छाडे। आमाले रोक्ने अनेक प्रयत्न गरिन् , दिदी र म पनि धेरै रोयौं। तर बा आफूले सोचेको कुरा जे गरे पनि पूरा गर्थे। हाम्रा आँसु कुल्चिएर उनी खुसी ल्याउन युद्धको बाटोमा हिँडे।
बा युद्धमा गएपछि हामीलाई घरमा अनेक खालका यातना प्रहरीले दिन थाल्यो। हामी यातना सहनका लागि जन्मिएका जस्ता भयौं।
आमाले हाम्रो जिम्मेवारीको भार थेग्न नसकेर जीवन बिसाइन्। तीन दिदीहरूको बिहे भइसकेको थियो।
आमा बितेको साँझ लुकिछिपी घरमा आएका बासँग म पनि जिद्दी गरेर बन्दुक समात्न गए। मलाई गाउँको तारा बनाउने सपना बोकेका मेरो बाले निधारका तारा कोरेको फेटा बाँध्न लगाए।
क.रक्तबिजले लामो सास फेरे।
पातको दुनामा क. प्रकृतिले राखेको पानी एकै सासमा पिए। कमरेडहरू रुनु हुँदैन। उनी देखिने गरी रोएनन्। पालो कमरेड प्रकृतिको थियो।
क. प्रकृति
दाङको विकट गाउँ बंगलाचुलीमा थियो मेरो घर। घोराहीमा डेरा लिएर पढ्थें। घोराहीमा मैले पढिरहँदा मसँगैका कैयौं साथीहरूले गाउँको रेखा नाँघेका थिएनन्। कलेज भन्ने कुरा उनीहरूका लागि मंगल ग्रहमा जानुजस्तै थियो।
एकातिर गरिबी अर्कोतिर सुरक्षा निकायको ज्यादती। गाउँमा सबै पीडित थिए। बुवा बामपन्थी राजनीति गर्नुहुन्थ्यो। तर जनयुद्ध सुरू भएपछि उहाँले राजनीतिको काम बन्द गर्नुभयो।
घरायसी काममा व्यस्त मेरा बालाई सेनाले अनेक बहानामा दु:ख दिइरहन्थ्यो। गाउँमा सेना पसेको दिन मेरा बालाई केही न केही गरिरहन्थे।
२०५८ मंसिर ८ गतेको घोराही आक्रमणको दुई दिन पश्चात म घर जान लागेको थिएँ।
अचानक रामपुरदेखि अलि पर जंगलमा पुगेपछि सेनाको टुकडीले गस्ती गरिरहेको देखें।
मसँग गाउँका अरू दुई जना केटी साथीहरू पनि थिए, बजार आफन्तीकोमा आएका रहेछन्।
सेनाले हामीलाई रोकेर खानतलासी गर्यो। मलाई नियत ठिक नलागेर प्रतिवाद गरे। मेरा छातीमा तेर्साएर उसले बन्दुक ठोक्ने जस्तो गर्यो।
मलाई हातमाथि पार्न लगाएर जंगलमा लग्यो। के के गर्यो थाहै भएन। मसँगका साथीहरूले त सहन नसकेर आत्महत्या नै गरे।
सेनाले निचोरेको शरीर बोकेर म घर जान सकिनँ। सहरमा सपना फुलाउन गएकी म कसरी क्षतविक्षत शरीर लिएर जान सक्थे ?
युद्धका लागेका गाउँका केहीलाई चिनेकी थिएँ। घर जाने मेरो बाटो मोडेर म जंगलतिर लागें।
हाम्रा कमरेडले पक्कै पनि यो देशमा वर्गिक मुक्ति र अन्यायमा परेकालाई न्याय दिलाउछन् भन्ने लाग्छ मलाई।
जीवनको कहानी सुनाउँदा सुनाउँदै उनीहरू दुवैको मनमा अलिअलि मायाको टुसा उम्रन खोजेको थियो। तर बन्दुक र विद्रोहको भाषा बोल्ने कमरेडहरूलाई मनको भाषा बोल्ने अधिकार नै थिएन।
प्रेम हुनुका सबै लक्षणहरू देखिएर पनि उनीहरूले त्यसलाई प्रमाणित गरेनन्। व्यक्त गर्न सकेनन्। युद्धका अनेक मोर्चामा सामेल भए। कैयौं रात जीवनका कथा बुनेर बिताए। तर प्रेमजाल बुन्न सकेनन्।
एकरात कमरेड प्रकृतिले इशारा गरेकै हो, ‘कमरेड म तपाईंलाई धड्कन बनेर बोलाउँछु ल, तपाईंलाई देख्दा मेरो धड्कनको गति आफैं बढेर जान्छ’ कमरेड रक्तबिजले एक टुक्रा जुन अनुहारबाट भुइँमा खसाएमात्रै।
एकपटक कुसुमको लडाइँमा उनीहरूसँगै थिए।
योजना मुताविक सफल हुँदै पनि गएका थिए। तर अन्तमा सेनाले बनाएको बाहिरीरूपमा चक्रपथ आकारमा घेरा हाल्यो, को कता तितरवितर भयो कसैलाई थाहा भएन। सरकारको रेडियोमा मर्नेहरूको नाममा उनीहरू दुबैको नाम थियो।
***
'कमरेड तपाईं कहाँ देखिनुभएको ?'
'अनि तपाईं नि ?'
दुबैले आश्चर्य प्रकट गरे। अनि
'रेडियोले त तपाईं...'
'हो नि तपाईंको पनि ....।'
प्रकृति नै बोली: मैले त त्यसपछि तपाईं संसारबाटै जानुभयो भन्ने लाग्यो। सााह्रै नरमाइलो लाग्यो। केही दिन शोकमा बिताएँ अनि फेरि पाटीको निर्देशन बमोजिम पूर्वमा खटिए।
रक्तबिज: म केही घाइते भएँ। साथीहरूले रातारात भारत पुर्याए। खुट्टामा दुइटा गोली लागेकाले बढी नै कष्ट भएको थियो। उपचार हुन मात्रै २ वर्ष लाग्यो। मैले त हिँड्ने आश नै मारेको थिएँ तर पछि विस्तारै निको भयो। उपचारका क्रममा कमरेड विप्लव पनि भेट्न आउनुभएको थियो।
आइसोलेसनको कोसीमा वर्षाैपछि भेटिएका दुई प्राणीसँग मनमा कुरा गर्नका लागि कैयौं विषय थिए, समय थियो अनि परिवेश पनि।
'म पनि केही युद्धहरूमा सामेल भए, जितियो पनि। हामीले चाहेको कुरा पुरा नहुँदै नेतृत्वले शान्ति सम्झौता गर्यो। जनताका लागि ज्यान दाउमा राखेका हामीलाई व्यारेकमा राखियो र सेना बनाउने भनियो। म सेना हुनका लागि ज्यानको बाजी राखेर युद्धमा गएकी थिइनँ, वर्गीय मुक्तिका लागि युद्ध लडेकाहरू लक्ष्यमा नपुग्दै सत्ताको सिनो खान पुगेपछि मैले बहिर्गनको मार्ग लिएँ' प्रकृतिले भन्दै गइन्।
'पार्टीले अचानक लिएको कार्यदिशाले म जस्ता मुक्तिकामी योद्धाहरूलाई ठूलो चोट पनि पुग्यो, अर्को विद्रोह गरौं जस्तो भयो तर हामी लडाकुहरूले युद्ध लडिदिने अनि नेताहरूलाई सत्तामा पुर्याउने। यो खेल निकै घृणापूर्ण लाग्यो। विवाह गरौं उमेर घर्किसकेको थियो। अरू केही सहारा थिएन।
सारा जनताको मुक्तिका लागि लड्छु भनेर बाबुआमाको आँसु कुल्चिएर हिँडेकी थिएँ। फर्केर घरमा नै कसरी जाने ? बाटो पनि थिएन। जीवन धान्न सजिलो होस् भनेर मुग्लिनको भिरमा सानो होटल थापेर बसें।'
अस्पतालको कौसीबाट एउटा पुरूष अनुहार देख्नेबित्तिकै कमरेड प्रकृति 'एकछिन है' भनेर तल ओर्लिई। करिब १० मिनेटपश्चात त्यो मान्छे अलप हुने बित्तिकै हटकेश बोकेर प्रकृति त्यहाँ आई।
'त्यहाँ मेरो बुढो हो के, घरमा मासु पकाएर ल्याइदिनुभएको लौ आउँ सँगै खाउँ' प्रकृतिले यति भनेपछि रक्तबिजलाई कथा थप रोचक लाग्न थाल्यो।
उसले करकाप गर्नै परेन। प्रकृतिले आफैं कथा सुरू गरी।
एक्लै बस्न पनि सजिलो हुँदो रहेनछ, विस्तारै सुनसान लाग्दै जान थाल्यो, चन्द्रसँग सधैं भेट हुन्थ्यो। उनी ट्रक चलाउँथे र सधैं मेरो होटलमा नै खान जान्थे। श्रीमतीको मृत्युपछि एक्लै भएका रहेछन् पछि मन मिल्यो र होटल सबै छाडेर उनीसँग दाङ आएँ। तर जहाँ गए पनि तिमीलाई सम्झिरहन्थें। तिमी बाँचेको भन्ने त मलाई केही पनि थाहा थिएन।
कमरेड बारुदको कथा पनि विरक्तलाग्दो थियो।
'भारतबाट नेपाल आएपछि फेरि पहिलेजस्तै युद्धमा जाने स्थिति थिएन। खुट्टा कमजोर भएर पहिलाजस्तो हिँड्न मिल्दैनथ्यो। मन भएर पनि युद्धमा सामेल हुन सकेन। म भारत मै भएको बेलामा बा कालिकोटको युद्धमा मरेछन्। धेरैपछि थाहा पाएँ। मर्दा मलाई सम्झे होलान्।
उनको र मेरो बटालिएन फरक हुने रात बुढा भन्दै थिए 'छोरा मेरो रिसले मलाई खायो, अलिअलि सहेको भए इन्डियन आर्मीबाट आउनु पर्दैनथ्यो त पढ्न पाउँथिस् गाउँको तारा हुन्थिस्' बुढाको जोस खासै सेलाएको थिएन। तै पनि उनले खै किन यति निराश कुरा बोले।
बुढालाई ढाडस दिएँ 'बा तिमी लाहुरे भएको भए ममात्रै तारा हुन्थें हामी सबैका लागि लडेका छौं। सबैका छोरालाई तारा बनाउने हो बा।'
उनले पाइन्टको भित्री गोजीमा राखेको आमाको फोटो दिँदै भनेका थिए, ‘यो तेरी आमालाई अब त मरेर स्वर्ग गए पनि चिनिहाल्छु,, ला राख, तलाई सम्झन काम लाग्छ’।
बाले आमाको फोटो थमाइदिए। त्यसपछि बुढासँग कहिल्यै भेट भएन।
रोल्पा छाडेको धेरै भएको थियो। आमा बितेपछि बाँकी दिदीहरू पनि बिहे गरेर कहाँ गए खासै थाहा थिएन।
युद्धमा लागेर परिवार सम्झनु क्रान्तिप्रतिको बेइमानी हुन्थ्यो। सबै परिवार रमाइलोसँग मिलेर बसेको घरमा मलाई घाइते शरीरमात्र लिएर जानै मन लागेन। दाङमै अल्झिएँ।
यही निर्माण कम्पनीको लेबरका रूपमा काम गरें।
कतिपय घर बनाउन जाँदा घरबेटीहरू माओवादी जनयुद्धका ठूलाठूला कहानी सुनाउँथे। म अवाक् भएर सुनिरहन्थे। विरक्त भएको जिन्दगीमा बिहे गर्ने समेत मौका आएन। खोई तिमीले कस्तो मोहनी लगायौ एकाध अनुहार हेरे पनि बिहे गर्नै मन लागेन।
न त मैले भनेजस्तो देशमा क्रान्ति नै सफल भयो न त मेरो जीवन नै सोचेजस्तो भयो।
गाउँमा बाले मलाई देखाउँदै सबैका सामु छाती पिट्दा यो देशकै राम्रो मान्छे बन्छु जस्तो लाग्थ्यो तर अहिले आफ्नै लागि बिझाउने भएको छु।'
कमरेड रक्तबिजको यो वास्तविक कथा थियो तर उनले सुनाएनन्। उनले जीवनको लघुकथा सुनाए।
‘निको भएपछि युद्ध लड्न सक्ने शक्ति थिएन। एउटा दिदीको यही दाङमा बिहे भएको थियो। उसको व्यापार पनि थियो। त्यही उसलाई सघाएर बसेको छु।’
कुरा सकिने छाँट थिएन। तर हटकेसको मासु सकिएछ।
‘तिमीलाई र मलाई कोरोना लागेर कस्तो फाइदा भयो है, नत्र कहाँ भेट हुन्थ्यो होला र ?’प्रकृतिले अनुहार उज्यालो बनाउँदै भनी।
डाक्टरको नियमित चेकजाँचको समय भएकाले बेल बजाएर सबै बिरामीलाई बेडमा जान आग्रह गरियो।
निको भएर घर जानु शुुभकामना प्रकृति तिमीलाई तिम्राहरूले कुरेर बसेका होलान्’ मैले भनिनसक्दै कमरेड प्रकृतिले मुसुक्क हाँस्दै भनिन्, ‘आज तिमी भेटिएपछि आफ्नाहरू त यही अस्पतालमै छुट्ने भए कमरेड धड्कन’