साइरन बज्यो स्वर्गबाट देवताहरू आए।
सुरक्षाका लागि सेना दायाँ बायाँ लाए।
पत्रकार अघिपछि फोटो खिच्न व्यस्त।
बाटो हिँड्ने जनतालाई सधैं गाडी बन्द।
राजतन्त्र हटाई गणतन्त्र ल्याउने जनता।
रगतको खोला बगाई सहिद भए जनता।
लाखौं दुखी गरिब जनता सधैं पछि पर्ने।
नेता ठूला सत्ताधरी कसले खोजी गर्ने।
कलि युगका देवता झैं नेता बनी आए।
आलापालो सरकारमा लुटी लुटी खाए।
पूर्व शासक, कर्मचारी, उद्योगपति सबै।
यो देशको ढुकुटीमा चल्छ तिम्रो राजै।
ठूला ठूला पद सम्मान लिने भिर्ने तिमी
राज्यकोषको खर्च लिई विदेश घुम्छौ तिमी।
सर्वहारा नेताहरू अर्बपति आज।
विचरा द्वन्द्व पीडित के खान्छ खै साँझ।
न्यायाधीश देखि कर्मचारी सबै तिमी सँगै।
चल्छ देश इसारा र भागबण्डा मै सब्बै।
ठूला ठूला भ्रष्टाचारी कमिसन कै खेलमा।
मागी खाने कुकुरलाई हाल्छौ तिमी जेलमा।
यो देशको नदीनाला कमिसन मै बेच्यौ।
चुनाव हारिसके पनि मन्त्री बन्न टिक्यौ।
कृषि प्रधान देशमा कृषिकै हाहाकार
जलस्रोतको धनी राष्ट्र हामी सधैं अन्धकार।।