बिग्रेको परतन्त्रले मुलुक याे नेता गुलामी सदा
पार्टी, भोट, चुनावमा टिकटको बिक्री हुने सर्वदा ।
राजा गाउँ भरी भए सहरमा खाएछ सम्भ्रान्तले
ख्यालीको गणतन्त्र गर्छ यसरी नेतृत्व सामन्तले ।।
१
सत्ताको झगडा सधैँ मुलुकमा राजा हटाएर हो
सीमा मिच्नु र बेच्नु यो मुलुकमा राम्रा हराएर हो ।
बेच्ने यो अधिकार देश कसरी राखेछ मर्लान्तले
ख्यालीको गणतन्त्र गर्छ यसरी नेतृत्व सामन्तले ।।
२
देख्दैनौँ गणतन्त्रमा कुकुरको सीधा कुनै पुच्छर
घिच्ने बाँच्छ बजेट यो मुलुकको औलो हुने मच्छर ।
नेता रेल र तेलको छ सपना पुग्दैन दृष्टान्तले
ख्यालीको गणतन्त्र गर्छ यसरी नेतृत्व सामन्तले ।।
३
मान्छे सत्र हजार मृत्यु नतिजा सम्पन्न नेता तिर
खै सम्बोधन निम्नवर्ग जनता, नेपाल आमा पिर ।
नेता शासन एकतन्त्र गुटको जल्दैछ षड्यन्त्रले
ख्यालीको गणतन्त्र गर्छ यसरी नेतृत्व सामन्तले ।।
४
गुन्डा नायक सत्य भन्नु कसरी आतङ्कवादीहरू
नेता रे सब आज देश भरका आदर्शवादीहरू ।
याे आदर्श कहीँ कतै मुलुकमा दन्केछ आक्रान्तले
ख्यालीको गणतन्त्र गर्छ यसरी नेतृत्व सामन्तले ।।