मान्छे हैन लासको मेला चल्ने गर्छ अचेल,
लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल ।
मान्छे हैन लासको मेला...
नदेखिने सूक्ष्म जीव खै कसरी आयो ?
शरीरमा जताततै फल्ने गर्छ अचेल ।
मान्छे हैन लासको मेला...
पशु बरु ढुक्क देख्छु उडेकै छन् पन्छी,
मृत्यु बनी मान्छे नै खोतल्ने गर्छ अचेल ।
मान्छे हैन लासको मेला...
गाउँ–सहर सबै शून्य मान्छे स्वयं बन्दी,
वृद्ध युवा बालसमेत छल्ने गर्छ अचेल ।
मान्छे हैन लासको मेला...
एक मुठी सास रै’छ मान्छेको यो जीवन,
‘मै हुँ !’ भन्ने जोकसैलाई दल्ने गर्छ अचेल ।
मान्छे हैन लासको मेला...
मान्छे मर्ला मानवता मर्ने छैन कहिल्यै,
भन्दै उत्साहको दियो बल्ने गर्छ अचेल ।
मान्छे हैन लासको मेला...
आपत् विपत् सबैलाई छ महामारी कत्रो ?
सारा विश्व सन्त्रासले गल्ने गर्छ अचेल ।
मान्छे हैन लासको मेला...
जित्छु भन्थ्यो प्रकृतिलाई हार्यो मान्छे आज,
विज्ञानको फूर्ति पनि ढल्ने गर्छ अचेल ।