'नमस्कार प्रधानमन्त्री ज्यू!' पत्रकारको अभिवादन।
'केको नमस्कार? देशको प्रधानमन्त्रीलाई सम्बोधन गर्ने तरिका यही हो?' च्याँठ्ठिए प्रधानमन्त्री।
'के भनूँ त प्रधानमन्त्री ज्यू?'
‘सम्माननीय प्रधानमन्त्री ज्यू, ढोग गरेँ भन्नुपर्यो। तिमी पत्रकारहरुलाई आदर, सम्मान, संस्कार हाम्ले सिकाउनुपर्ने? त्यही भएर धेरैले तिमीहरुलाई पत्रुकार भन्छन्।'
पत्रकारलाई ‘ढोगको ढोग गरेँ’ भन्न मन थियो तर मिलेन।
'ढोग गरेँ सम्माननीय प्रधानमन्त्री ज्यू।'
'ल ल,' प्रधानमन्त्रीले जवाफ फर्काए, 'के-के सोध्ने हो छिटो सोधिहाल।'
'हजुर तेस्रो पटक प्रधानमन्त्री बन्नु भएको छ। कुराकानीको सुरुआत म यहीँबाट गर्छु, आज्ञा पाउँ' पत्रकारले आफ्नो भाषाप्रति आफै मनमनै हाँस्दै अनुमति माग्यो।
'अनि को बन्छ त? अरु कोही देख्याछौ म बाहेक प्रधानमन्त्री बन्ने र बन्न सक्ने? म जतिको सर्वगुण सम्पन्न सर्वमान्य नेता कोही छ हाम्रो नेपालमा?'
'छैन हजुर, छैन', पत्रकारलाई सही थाप्न करै लाग्यो।
'माधव नेपाल समूहको राजिनामा त फ्याट्टै रोकिदिनुभयो नि, यो कसरी सम्भव भयो सम्माननीय प्रधानमन्त्री ज्यू?'
'अरे पत्रकार भाइ, माधव नेपाल नचिनेको विष्ट हुन् र? तिनको त नौनाडी छामेको छु मैले। तिनी के सोच्छन्, के चाहन्छन्, एक-एक थाहा छ मलाई। ज्ञानेन्द्रको पालामा ‘प्रतिगमन आधा सच्चियो’ भन्ने तिनी नै होइनन्? क्या झुरपट्याँस कुरा के! अब राजनीतिक कदम पनि आधा, एक चौथाइ, दुई तिहाइ सच्चिने या बिग्रिने कुरो हुन्छ त भन्या? यस्तै ताई न तुईको कुरा गर्ने मान्छे हुन् माधव नेपाल।
पूरै पेन्डुलम जस्ता। अस्ति हेर न, यस्सो गुलियो के चटाएको थिएँ, ‘राजिनामा तत्काललाई टर्यो’ रे। त्यसपछि त मलाई खुँदो परिहाल्यो नि। माधव नेपाल मेरो लागि पुरै बच्चा हुन् के। बच्चालाई कसरी फकाउने भनेर हामीजस्ता महान् राजनीतिज्ञलाई थाहा हुन्न र? तर यसपालि अलि बढी नै रोए विचरा। प्रचण्डले उल्क्याएर होला। पहिला पहिला चकलेटले मान्थे, यसपालि ललीपप नै चटाउनु पर्यो। दुई/तीन रुप्पे अलि बढी खर्च भयो।'
'तर माधव समूह त फेरि बिच्किएको अवस्था छ। उहाँसहित ११ जनालाई त पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसक्नु भयो। के एमाले अब चोइटिएकै हो त?'
'चोइटिएको भन्दा नि कैलेकाहीँ त तर्साउनु पर्छ भनेर तर्साको।'
'माधव समूहलाई कारबाही गरेपछि त खँड्कुलोलाई डाडु बनाएको आरोप र अपजस आउने भो, पार्टीले पनि राजनीतिक रुपमा ठूलो क्षती बेहोर्नुपर्ने भो। यसबारेमा यहाँको धारणा के छ सम्माननीय प्रधानमन्त्री ज्यू?'
'पार्टी ठूलो कि व्यक्ति ठूलो? व्यक्ति। व्यक्ति भनेको को? म। अध्यक्ष को? म। म भनेको को? पार्टी। यत्ति त मेरा भरौटे र आसेपासेहरुले बुझ्छन् त। म रहें भने मात्र एमाले रहन दिन्छु, नभए त कुरो उही हो। रह्यो कुरा क्षतीको' प्रधानमन्त्री बूढी औँलाले आफ्नो छातीमा पटक पटक ताक्दै गर्जिए, 'मुख्य कुरा मेरो क्षती हुनु भएन, मेरो।'
ठूलो स्वरमा 'केपी ओलीको।' अझै ठूलो स्वरमा- 'नेपालको प्रधानमन्त्रीको।' अनि अलि मत्थर हुँदै- 'एमालेको भए होस् न, त्यो मेरो सरोकारको विषय नै होइन। म यो नचाहिने कुरामा टाउको दुखाउने मान्छे पनि होइन। कुरो त्यै हो।'
'तर गोकर्ण विष्ट जस्ता केही नेताहरु त प्रधानमन्त्री जेठ २ मा फर्कनुहुन्छ भन्ने कुरामा अझै आशावादी छन् नि?'
'कुन जेठ २? कहिलेको जेठ २? अरे यार, जेठ २ त गैसक्यो। अब उनासी सालमा मात्र आउँछ। जेठ २ मा फर्किने भन्ने कुरो अब असान्दर्भिक भैसक्यो के। बितेको समयमा फिर्कन सम्भव छ र भन्या? तिमी अब फेरि बच्चा बन्न सक्छौ? लु भन त पत्रकार भाइ। बितेको समयमा फर्कनु त पश्चगमन भैगो नि। अब म जस्तो लोकतान्त्रिक सर्वमान्य नेता पश्चगामी हुन्छ त? हुन सक्छ?'
'भनेपछि सम्माननीय प्रधानमन्त्री ज्यू आफूले गरेका निर्णयहरुबाट पछि हट्ने मनस्थितिमा हुनुहुन्न, यत्ति बुझ्दा भयो?'
'अब तिम्लाई जसरी बुझ्न मन छ, बुझ।'
'अनि माधव समूहले पार्टी फुटाएर अर्को पार्टी बनायो भने?'
'हत्तेरी, कति चिन्ता गर्छ यो भाइ पनि। माधवलाई त म घुमाइहाल्छु नि। मैले अघि भनिसकेँ त यार यो बारेमा। खाली एउटा ललिपप होइन तिनलाई चटाउनुपर्ने? म चटाइहाल्छु नि।' प्रधानमन्त्री ढुक्क देखिए।
'यसै प्रसंगमा अर्को प्रश्न। ठाकुर-महतो समूहलाई चैँ आफ्नो पक्षमा पार्न कसरी सफल हुनुभयो, जब कि हजुरले संसद विघटन गर्दा महन्थले त सडक आन्दोलन नै गरेका थिए?'
'यो पनि ललीपपकै कमाल हो' यसपटक प्रधानमन्त्री रहस्यमयी तरिकाले मुस्काए।
'नेपालका नेता भनाउँदाहरु सब ललीपपका भोका छन् के पत्रकार भाइ। तर मधेसतिरका नेताहरुलाई दिने ललीपप अलि फरक खालको छ। त्यो ललीपपमा गुलियो पदार्थ तलतिरबाट आउँछ र दूतावासले जादूमन्तर गरेर चटाउँछ।
दूतावासले जतिखेर ‘ललीपप चाट्न आऊ’ भन्छ, मधेसका नेताहरु तँ छाड् म छाड् गर्दै दौडिहाल्छन्। दूतावासको गुलियो अलि गजबको हुन्छ के, अर्कै खालको मिठो र स्वादिलो। मैले त कतिपटक चाटेको छु! कस्तो मनै लोभ्याउने स्वाद छ!'
'त्यसो भए ०७२ सालको नाकाबन्दीको विरोधको दिखावा किन गर्नुभएको त? अनि नक्सा प्रकरणमा पनि त्यही दोहोरियो। यसबारे प्रष्ट्याइदिनुहोस् न सम्माननीय प्रधानमन्त्री ज्यू।'
'हैट्! यो पत्रकार भाइ पनि के-के सोधिल्याउँछ। अब मैले ०७२ सालमा त्यसो नगरेको भए जनताको मत र सहानुभूति जित्न सक्थेँ त भन्या? त्यही कारणले त म दोस्रो पटक प्रधानमन्त्री बनेँ नि। वास्तवमा दोस्रो पटक मलाई सकेसम्म दुई तिहाइको प्रधानमन्त्री बन्नु थियो। त्यसको लागि मैले प्रचण्डलाई पनि ललीपप चटाएँ।
उनी पनि मख्ख परे र मलाई भरपुर सहयोग गरे। जब म सत्तामा आएँ, अब मलाई प्रचण्डको साथको आवश्यकता परेन। त्यसकारण मैले उनको विभिन्न तरिकाले मानमर्दन गर्न थालेँ। उनीसँगको सहमति पालना गरिरहनुपर्छ भन्ने नै मैले ठानिनँ किनकि म जहाँ पुग्न चाहन्थेँ, त्यहाँ पुगिसकेको थिएँ र नेपालको राजनीति मैले चाहे जसरी नै अघि बढिरहेको थियो। विचरा प्रचण्डले आफू पङ्गु बनेको चालै पाएनन्।' फेरि हाँसो।
'अनि नक्सा प्रकरण?'
'कुरो के छ भने नि पत्रकार भाइ, नेपालमा राष्ट्रवादी छवि बनाउन दक्षिणको विरोध गरे जस्तो गर्नुपर्छ। तर यता विरोध गरे जस्तो गर्दा उतापट्टिको वफादारितामा अलिकति पनि आँच आउन दिनुहुन्न। कहिलेकै यतापट्टि विश्वास दिलाउन लगातार पौँठेजोरी खेले जस्तो गर्दा तलतिर कुराकानी गर्न भ्याइँदैन।
जसको कारण उतापट्टिका मान्छे अलि बढी नै सशंकित बन्छन् र तुरुन्त कोही न कोही भेट्न आइपुगिहाल्छन्। नक्सा प्रकरणमा सामन्त गोयलको आगमन त्यै कारणले भएको हो। यस्तो बेला फेरि नयाँ स्वस्ति नटक्र्याए आफैँलाई गाह्रो पर्छ। राजनीतिमा यस्तो हुन्छ के भाइ, तिमी बुझ्दैनौ।'
'हजुरको दोस्रो कार्यकाल त कुशासन र भ्रष्टाचारको पर्याय नै थियो भन्छन् नि मान्छेहरु, यसलाई कसरी लिनुहुन्छ सम्माननीय प्रधानमन्त्री ज्यू?'
'एउटा कुरा भन त पत्रकार भाइ, सुशासनभन्दा त कुशासन नै ठिक होइन र भन्या? सु त गन्हाउँछ पो त। त्यस्तो शासन किन गर्ने, भन त लौ। अब रह्यो भ्रष्टाचारको कुरा। अरे यार, भ्रष्टाचार कहाँ छ नेपालमा? एक रति पनि छैन। म त नेपालमा कहीँ कतै भ्रष्टाचार देख्दिनँ।'
अब यो तर्कलाई कसरी लिने? पत्रकार आफैँ जिल्ल। तैपनि सोध्यो, 'कसले भनेको नेपालमा भ्रष्टाचार छैन भनेर सम्माननीय प्रधानमन्त्री ज्यू?'
'मैले भनेको, सुनेनौ? देशको प्रधानमन्त्रीले भनेको। मैले भनेपछि छैन, कुरो त्यत्ति हो।'
'तर तथ्य र प्रमाणले त त्यसो भन्दैनन् नि। पेश गरुँ सम्माननीय प्रधानमन्त्री ज्यू?'
'त्यो पर्दैन।'
यस पटक भने पत्रकार पनि नहाँसी बस्न सकेन।
'हजुरको अस्तिको सपथ त विवादमा पर्यो नि।' पत्रकारले प्रसंग बदल्यो। 'राष्ट्राध्यक्षमाथि प्रधानमन्त्रीको अपमान भो भन्नेहरुको जमात ठूलो छ। यस सम्बन्धमा हजुरको भनाइ के छ?'
'हैन, त्यसमा ठूलो कुरो के छ हँ? मलाई दोहोर्याउन मन लागेन, ‘पर्दैन’ भनिदिएँ। मैले त्यति भन्न नपाउनु? यो त लोकतन्त्र नै भएन नि। ज-जसले प्रधानमन्त्रीको महान् शब्द र महान् कार्यहरुको विरोध गर्छन् नि, ती सब लोकतन्त्रविरोधी हुन्। म देशको प्रधानमन्त्री हुँ। मैले जे भन्छु, त्यो ठिक हुन्छ।
रह्यो कुरा राष्ट्रपतिको अपमानको। अरे यार, त्यो अपमान होइन, अपितु अपनत्व हो। संघर्षको दौरानमा हामी राजनीतिक सहकर्मी थियौँ। सहकर्मीसँग थोरै अनौपचारिक बन्न नपाउने भन्ने नि हुन्छ कतै? अब म प्रधानमन्त्री र उनी राष्ट्रपति भइन् भन्दैमा त्यो मित्रता अन्त्य हुन्छ भन्ने त होइन।
फेरि अर्को कुरा। उनलाई राष्ट्रपति बनाएको कसले? मैले। मैले ‘अध्यादेश जारी गर्नू’ भनेँ, उनले गरिदिइन्। ‘संसद विघटन गर्नू’ भनेँ, गरिन्। ‘विश्वासको मतको नाटक गर्नुपर्यो, संसद अधिवेशन बोलाउनू’ भनेँ, त्यो पनि गरिन्।
‘फेरि संसद विघटन गर्नू’ भनेँ', खुसी हुँदै- 'त्यो पनि गरिन्। ‘देउवाको नेतृत्वमा प्रधानमन्त्रीको दाबी आउँदै छ है, अनेक बखेडा झिक्नू तर स्वीकार नगर्नू’ भनेँ', उत्तेजित हुँदै- त्यो पनि गरिन्। आउने दिनमा पनि म जे-जे अह्राउँछु, त्यै त्यै गर्नेछिन्। अब यति आज्ञाकारी राष्ट्रपतिलाई यस्तो शक्तिशाली प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्न नपाउनू? मैले जानी जानी त्यसो भनेको हुँ, लौ लछारो कसलाई के लछार्नु छ।'
'राष्ट्रपतिको हाँसोको पनि आलोचना भयो नि।'
'हाँसो उठेपछि नहाँसेर के रुनु त? कस्तो आलोचना हो यो? अब राष्ट्रपतिले हाँस्न पनि अरुको अनुमति लिनुपर्ने? यस्तो हुँदैन। हामी जतिबेला मन लाग्यो त्यति बेला हाँस्छौँ, चाहे परिवेश र परिस्थिति जस्तोसुकै होस्। मन लागेको बेलामा हाँस्न पाउनु हाम्रो व्यक्तिगत स्वतन्त्रता हो।'
'राष्ट्रपतिज्यूले हजुरलाई सो वाक्यांश दोह्राउन बाध्य पार्न सक्नुपर्थ्यो, नभए सपथग्रहण रोक्नुपर्थ्यो भन्ने तर्कहरु पनि उठेका छन् सम्माननीय प्रधानमन्त्री ज्यू?'
'मलाई कुनै पनि कुरा गर्न भन्न र गर्न बाध्य पार्न सक्ने नेपालमा कुन ईन्द्रेको बाउ चन्द्रे छ, लौ न म पनि हेरुम्। अनि मेरो सपथग्रहण रोक्ने को? कसैसँग छ त्यो ताकत? एक बार अगर मेँने कमिटमेन्ट कर दिया तो मैं अपने आपको भी नहीं सुनता यार, अरुको त कुरै छोडौँ।'
'सरकारको विरुद्ध थुप्रै रिट परेका छन्, यसमा सरकारको तयारी के छ?'
'मैले यसबारेमा सर्वोच्चका न्यायाधीशहरुलाई भनिसकेको छु। कुनि के शर्माले भने जस्तो- ‘मलाई चिन्ता छैन क्यै।’
'प्रधानन्यायाधीशसँगको गोप्य भेट पनि यही सिलसिलामा हो सम्माननीय प्रधानमन्त्री ज्यू?'
'चुप चुप! यस्तो कुरा अलि संवेदनशील हुन्छ क्या, बाहिर भन्नु हुन्न। तिमेर्लाई त झन् भन्नु हुन्न। उनको र मेरो भेट भएको छैन, अहिलेलाई यत्ति ठान।'
'नागरिकता सम्बन्धी अध्यादेशको यत्रो विरोध भइरहेको छ, यस सम्बन्धमा हजुरको भनाइ के छ?'
'म यै कुरा बुझ्दिनँ कि विरोध किन भइरहेको छ। छिमेकीहरुलाई जति खुसी पार्न सक्यो त्यति आफूलाई फाइदा हुन्छ, परेको बेलामा सहयोग पाइन्छ, होइन र भन्या? हैन मान्छे किन एकालकाँटे बन्न खोज्छ हँ? जाबो एउटा कागजको टुक्रोको कुरो न हो, किन यत्रो कोकोहोलो? कत्ति न पुरै डायरी नै दिए जस्तो! मलाई अचम्म लाग्छ, मलाई ताज्जूप लाग्छ।'
'तर नागरिकता विधेयकको जति सक्दो विरोध गर्ने र ‘हामी यसलाई पास हुनै दिन्नौँ, नागरिकता बोर्डरमा बसेर बाँड्ने चकलेट होइन’ भनेर पैला त हजुर नै भन्नुहुन्थ्यो, होइन र सम्माननीय प्रधानमन्त्री ज्यू?'
'त्यो त्यतिखेरको आवश्यकता थियो के भाइ। त्यतिबेला मैले राष्ट्रवादको एउटा जाल हानेको हो। माछा पनि थुप्रै परे, तिम्ले पनि देखेकै थियौ होला। तर अब अहिले परिस्थिति त्यस्तो रहेन। यो राजनीतिक दाउपेच हो क्या।
‘अध्यादेश ल्याउँछु, मुद्दा फिर्ता लिन्छु’ भनेको भएर त म अहिले यहाँ छु नि। राजनीतिको म जस्तो कुशल खेलाडी कहाँ ‘मैले कैले के भन्या थेँ’ भनेर सम्झी बस्छन् त। होइन र?' प्रधानमन्त्री विजयी भावमा मुस्कुराए।
'अब कोरोना महामारीको प्रसंग। केही दिन अगाडि हजुरले एउटा विदेशी च्यानललाई दिनुभएको अन्तर्वातामा नेपालमा कोरोना महामारी नियन्त्रणको अवस्थामा रहेको अभिव्यक्ति दिनुभएको थियो। तर संक्रमित र मृतकको सङ्ख्या हेर्दा त त्यस्तो देखिएको छैन। सोही च्यानलले प्रसारण गरेको रिपोर्टिङले पनि हजुरको दाबीलाई असत्य सावित गरिदिएको छ। नेपालमा यो महामारी नियन्त्रणमा छ भनेर हजुरलाई कसले भन्यो?'
'मैले भनेको, सुनेनौ? देशको सर्वशक्तिमान् प्रधानमन्त्रीले। अब मैले भनेको कुरा पनि असत्य हुन्छ? मैले भनेपछि भन्यो भन्यो।'
'तर संक्रमितको सङ्ख्या त बढेको बढ्यै छ नि?'
'अनि त्यो मेरो दोष हो त? तिनीहरुलाई मास्क नलाउनू कसले भन्यो? भौतिक दूरी नराख्न कसले भन्यो? भीडभाडमा जानू, भोजभतेर गर्नू कसले भन्यो? सरकारले नियम बनाएर लागु गरेकै हो त, पालन नगर्नू कसले भन्यो?
मैले बेसार पानी खानु भनेकै थिएँ, बेलौतीको पात चपाउनु पनि भनेकै हो। त्यो पनि नमान्ने। आफैँ जे पायो त्यही गर्ने अनि सङ्क्रित भएँ भनेर कोकोहोलो मच्चाउने? सङ्क्रमण फैलेपछि सरकारलाई दोष लाउने? यो त तरिका भएन नि।'
'बेसार या बेलौतीको सम्बन्धमा त सायद अनुसन्धान हुन बाँकी नै होला। नियम कानुनको कुरा गर्नुपर्दा सरकारले लगाएका तमाम नियमहरुको त सरकारी तहबाट नै उल्लंघन भो नि हैन र सम्माननीय प्रधानमन्त्री ज्यू? देशमा महामारीको दोस्रो लहर सुरु हुनुभन्दा अगाडिदेखि नै विभिन्न स्थानमा आयोजना भएका सभा, आमसभा, शिलान्यास, उद्घाटन जस्ता कार्यक्रहरुमा स्वयम् प्रधानमन्त्री ज्यूको समुपस्थिति थियो।
महामारी नियन्त्रणको लागि भनेर नियम लागु भैसकेपछि पनि सरकारी तहबाट यस्ता कार्यक्रमको आयोजना हुन छाडेनन्। यसमा जनतालाई मात्र दोष दिएर उम्किन मिल्छ र सम्माननीय प्रधानमन्त्री ज्यू?'
'अरे यार, सरकार भनेको को हो? नेपालमा सरकार भनेकै म हुँ, त्यसमा अलि अलि मेरा आसेपासे र वफादारहरु पनि पर्छन्। अब मैले के मेरै लागि नियम बनाउँछु त भन्या? के पाङ् न पुच्छरको प्रश्न गरेको होला यो भाइले। मैले बनाएको नियम म र मेरा आसेपासेको लागि थिएन र हुन्न पनि, किनकि हामी नियम, कानून र संविधानभन्दा माथि छौँ। यो सबैले बुझ्नुपर्यो। नियम भनेको अरुको लागि हो, यो पनि सबैले बुझ्नुपर्यो। बुझेर मात्र भएन, इमान्दारीताकासाथ पालना पनि गर्नुपर्यो।'
प्रधानमन्त्रीको जवाफ सुनेर पत्रकारलाई अब प्रश्न सोध्न पनि अल्छी लाग्न थाल्यो। तर सोध्नुपर्ने प्रश्न थुप्रै थिए।
'अक्सिजनको अभावमा हरेक दिन ठूलो संख्यामा सङ्क्रमितहरुले ज्यान गुमाउनु परेको छ, यसमा सरकारको कुनै दायित्व हुँदैन सम्माननीय प्रधानमन्त्री ज्यू?'
'कसले भन्यो अक्सिजनको अभाव छ भनेर?' प्रधानमन्त्री अकस्मात् च्याँट्ठ्एि। 'हावामा प्रशस्त अक्सिजन छ त, मान्छेलाई त्यत्ति पनि थाहा छैन? वरिपरिको हावाको अक्सिजनले नपुगे तुलसीको पात सुँघ्नु, पिपलको बोटमुनि बस्नु, भैहाल्छ नि। यतिले पनि नपुगे नजिकको जंगलतिर गएर एकछिन प्राणायाम र ध्यान गर्नु, अक्सिजनको समस्या तत्काल चट् हुन्छ। मैले पहिलादेखि नै भन्दै आएको कुरा हो यो। अब आफ्नै प्रधानमन्त्रीको विद्वतालाई ध्यान नदिने जनताले दुःख पाउँछन् त।'
'सम्माननीय प्रधानमन्त्री ज्यू, म मेडिकल अक्सिजनको कुरा गर्दैछु।' पत्रकारले आजित भएर विनम्र भावमा भन्यो।
'प्रकार जुनसुकै होस् न, आखिर हो त अक्सिजन नै। अक्सिजन भनेकै प्राणवायु हो, चाहे खुल्ला हावाबाट लेऊ, चाहे कुनै भाँडोबाट। यत्ति त बुझ्छौ होला नि तिम्ले, पत्रकार भाइ? जहाँसम्म मृतकहरुको सवाल छ, तिनीहरु सास फेर्न बिर्सेर वा नजानेर मरेका हुन्, अक्सिजनको अभावमा होइन।'
यसपछि भने पत्रकारलाई अब अरु प्रश्न नसोधूँ नसोधूँ लाग्यो। तैपनि केही संवेदनशील उत्तर आइहाल्ला कि भन्ने आशामा सोधिहेर्यो, 'चीनबाट ल्याएको केही सिलिण्डर त सांसदहरुले लगे भनिन्छ नि, यसरी त अस्पतालमा उपचार गराइरहेका बिरामीहरुमाथि अन्याय भएन र?'
'लान्छन् त', प्रधानमन्त्रीले सहज जवाफ दिए। 'उनीहरुको निर्वाचन क्षेत्रका मान्छेले चैँ बाँच्नु पर्दैन? उनीहरु बाँचेनन् भने पछि कसले भोट दिन्छ? त्यहाँका जनता रिसाए भने उनीहरु कहाँ गएर राजनीति गर्ने? यत्ति त बुझिदिनुपर्यो नि। अब अस्पतालका बिरामीहरुलाई जे हुन्छ हुन्छ, हामीले के गर्ने त? मृत्युलाई कसैले रोक्न सक्छ र?'
'अक्सिजनको सिलिन्डरमा हजुरकै एक मन्त्रीको फोटो टाँसेर वितरण गरेको पनि देखियो। यो खालको सस्तो प्रचारबाजीले सरकारलाई नै अप्ठ्यारो पार्न सक्छ नि सम्माननीय प्रधानमन्त्री ज्यू! यसबाट सर्वसाधारणमा कस्तो सन्देश जाला भन्ने ठान्नुहुन्छ?'
'ए भाइ, कसले के सोच्छ, कसले के भन्छ, त्यो हाम्रो चासोको कुरा होइन के। हामीलाई जे मन लाग्छ, त्यो हामीले गर्ने हो। र हामीले जे गरे पनि, जे भने पनि सकारात्मक रुपमा लिइनुपर्छ, त्यो मेरो तर्फबाट सम्पूर्ण देशवासीलाई दिइने सख्त निर्देशन हो।
अब उसलाई चिल्लो सिलिन्डरमा आफ्नो चिल्लो गाला देखाउन मन लाग्यो होला, त के गल्ती गर्यो? पछि उसले यो मौका पाउँछ कि पाउँदैन, के थाहा? अनि मौकामा चौका हान्नु परेन त?’
पत्रकार साँच्चै थकित भयो। ‘जे जस्तो जवाफ आए पनि पचाउँछु, पचेन भने हाजमोला खान्छु’ भन्ठान्दै अन्तिम प्रश्न सोध्यो, 'हस्पिटलमा पर्याप्त बेड छैन, सङ्क्रमितहरु भुइँमा या चौरमा बस्न बाध्य छन्। बेडको अभावमा अस्पतालहरुले गम्भीर प्रकृतिका बिरामीलाई पनि भर्ना लिन सकिरहेका छैनन्, यस सम्बन्धमा हजुरको के भनाइ छ सम्माननीय प्रधानमन्त्री ज्यू?'
'यस्तो बेलामा जनताले पनि सदाशयता देखाउनुपर्यो। ती सङ्क्रमितहरु जसलाई अस्पताल जानुपर्ने हुन्छ, म तिनीहरुलाई आज्ञा दिन्छु कि तिमीहरुले आफ्नो सुत्ने खाट या ओच्छ्यान बोकेर अस्पताल जाओ। मेरो सरकार तत्काललाई बेड व्यवस्थापन गर्न सक्दैन, कुरो त्यत्ति हो।'
पत्रकार रुन मात्र सकेन।
'हस् त सम्माननीय प्रधानमन्त्री ज्यू, हजुरको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद।'
'तिम्लाई म धन्यवाद दिन्नँ। समय त तिम्ले भनेभन्दा धेरै अमूल्य हो मेरो तर तिम्ले खाइदियौ। आज सिसिएमसीको जरुरी मिटिङ छ, त्यहाँ म जानैपर्ने हुन्छ। म बिना अरुले केही निर्णय गर्न सक्दैनन्। आज हामी पशुपति क्षेत्रमा कति वटा र कस्तो शवदाह गृह निर्माण गर्ने भन्ने विषयमा छलफल गर्दैछौँ।
निर्णय भैहालेमा शिलान्यास पनि आजै गर्ने योजना छ। त्यसैले म व्यस्त छु। कुरो बुझ्यौ? अब तिमी जाऊ।'
'हस् सम्माननीय प्रधानमन्त्री ज्यू' भन्दै धनुष्टंकार अभिवादन गरेर पत्रकार आफ्नो बाटो लाग्यो।