कति चम्काउँछौ ए कमरेड हो, त्यो सडिजाने शरीरलाई?
कति रंगाउँछौ ए कमरेड हो, त्यो जाबो भस्म खरानी अनुहारलाई?
कति पोष्छौ ए कमरेड हो, त्यो जाबो रोगी शरीरलाई?
कति सजाउँछौ ए कमरेड हो, त्यो कपडाको एक टुक्रोलाई?
हो कमरेडहरु, हो
तिम्रो शरीर त फगत एक कपडा हो
त्यो कपडा एक दिन च्यातिनेछ
त्यो कपडाको टुक्रो
एक दिन टुक्रिने छन्
यी नै खरानी
यी नै वायु
अनि पुरिनेछ त्यो माटोमा
बिलाउने छ त्यो आकाशमा
हो कमरेडहरु,
आज तिमी त्यही शरीरलाई चिरिच्याट्ट पार्दैछौ
आज तिमी त्यो शरीरले जे-जे भन्छ टक्राउँदै छौ
आज तिमी त्यही शरीरको गुलामी गर्दैछौ
तर याद राख कमरेड
भोलि त्यही शरीर तिम्रो घाँडो बन्ने छ
भोलि त्यही शरीर तिम्रो रोगैरोगको एक पसारो बन्नेछ
हो कमरेडहरु
तिम्रो रोगी शरीर त पहिल्यै मरिसक्यो
अब नचलाऊ त्यो रोगी रागलाई
तिमी भनौला अब के नाङ्गै हिँड्ने हो त कमरेड!
त्यसो भए अब के हामी भोकभोकै मर्ने हो त कमरेड!
हैन हैन, कमरेड कपडाको पनि एक प्रयोजन छ
कपाडाको पनि आफ्नौ एक मूल्य छ
त्यो प्रयोजन के हो पत्ता लगाऊ कमरेड
त्यो मूल्य कति हो चुक्ता गर कमरेड
त्यो घाटले अब तेरै पालो कुर्दै छ
त्यो मसानले अब तेरै गाना सुन्ने वाला छ
त्यो माटोले अब तेरै शरीरको स्वाद चाख्न पर्खंदै छ
चाँडो गर् कमरेड
चाँडो गर्
तेरो आफ्नै घरले तँलाई बोलाउँदै छ
तेरो आफ्नै घर जान पनि तँलाई ढिलो हँदै छ
कमरेड अहंकारी!