बिहान उठ्छु, रेडियो खोल्छु
रेडियोमा विरहको अडियो बज्छ, रेडियो बन्द गर्छु
मोबाइल खोल्छु, मोबाइलमा छिमेकीको घायल तस्बिर पोस्टिन्छ,
मोबाइल बन्द गर्छु
टिभी खोल्छु, समाचारभन्दा बढी मेरा बुढा बाआमाको अनुहार हेर्छु,
टिभी बन्द गर्छु
ढोकामा चुक्कुल लगाउँछु र आधा झ्याल बन्द गर्छु
अनि मास्क लगाउँछु, मुख बन्द गर्छु
दुई मिटर टाढा बस्छु, बाआमासँगको बोली बन्द गर्छु
फेस मास्क लगाउँछु, अनुहार बन्द गर्छु
ग्लोब्स लगाउँछु, हात बन्द गर्छु
छेवैमा रहेको पिपीई गाउन लगाउँछु, पूरै शरीर बन्द गर्छु
थचक्क बेडमा बस्छु, मन मान्दैन
सिरक निकाल्छु अनि आफूलाई सिरकभित्र बन्द गर्छु
यो बन्द कोठाको बन्दी म के कैद कोठाको कैदी जस्तै हुँ?
हुँ भने,
कैदीको जस्तै मेरो बन्दीको समय कसले तोकिदिन्छ?
कैदीले जस्तै एउटै चुलोको भात परिवार सबैसाथ भई किन खान मिल्दैन?
कैदीले जस्तै दिनभरि सबैसँग बोलेर,
हाँसेर म आफ्नै आमासँग किन हाँस्न मिल्दैन?
होइन भने,
छेउकै बाआमाका कोठाहरु किन बन्द छन्?
भोका मनलाई छेक्न गेटका ढोकाजम्मै किन बन्द छन्?
भातका लागि बिहानैको सातदेखि अर्को बिहानको सातसम्म किन बन्द छन्?
सहरसँगै मान्छेका रहरहरु किन बन्द छन्?
स्वस्थ तनका होशसँगै कलिला मनका जोशहरु किन बन्द छन्?
विपनीको नवीनतासँगै सपनीका मिठा निन्द्राहरु किन बन्द छन्?
सबै थोक बन्दै बन्द छन्!
मनमा आशा बन्द भएका बेला
बाहिर तमासा भने खुल्लै देख्छु!
हुलका हुल मानिसका लागि अदालतको गेटदेखि
स्वार्थी मनका लोभी भेटहरु खुल्लै देख्छु
भ्रष्ट सेठका बलिष्ठ पेटदेखि
विधानको निधन समेत ख्याल नगर्ने म्यान्डेटहरु खुल्लै देख्छु
बन्द त, त्यही गरिबको लागि अस्पतालको बेडदेखि
भोकको डकार डकार्ने त्यो निन्याउरो पेट मात्रै देख्छु
बन्द त, त्यही छ महिना पुग्ने घरछेउको खेतदेखि
नेत्रित्वमा हुनुपर्ने मात्रित्वको चेत मात्रै देख्छु।