अहो! कति डरलाग्दो भिर। तलतिर हेर्छु, विशाल नदी मलाई नै तानेर डुबाउँला जसरी सुसाइरहेको छ। माथितिर हेर्छु, भिरबाहेक केही देख्दिनँ।
विशाल झरनाबाट अविरल पानीको भेल ठूलो आवाजमा तल नदीतिर झरिराको छ। त्यही भिरको बीचमा छु। समाउनलाई रुखको लहरा मात्र भेट्छु अनि त्यही लहरा समाउँदै माथि उक्लँदै छु। यस्तो डरलाग्दो भिर पार गर्न कोही परिचित झैँ लाग्ने केटाले हात दिँदै म झर्न लागे समाउँदै गर्छ।
निकै बेरको कष्टपूर्ण कोसिसपछि भिरको सबैभन्दा माथि पुग्छु र अन्तिम प्रयासमा रुखको लहरा छोडेर माथिल्लो जमिनमा समाउँछु। अब एक पटक त्यहाँबाट उक्लन सकेँ भने भिर पार गर्नेछु।
त्यहाँसम्म त जसोतसो उक्लिँदै थिएँ अब सारा बल खिचेर अन्तिम उचाइमा उक्लन मात्र के खोजेथेँ, समाएको जमिन नै भासियो। म बेहोसजस्तै भएँ। मनमनै केही सेकेन्डमै निकै तल नदीमा डुबेर हुने मृत्यु स्वीकारेँ।
बेहोसबाट होसमा आउँदा सोही भिरको माथि सुतिरहेको रहेछु। नजिकै उही केटा पनि रहेछ जसले हात समाउँदै माथिसम्म पुर्याएथ्यो। हो, उक्लन खोज्दा समाएको जमिन भासिएथ्यो तर उसले मलाई नदीमा खस्नु पहिले नै समाएछ र भाग्यवश म बाँच्न सफल भएँ।क़
फेरि निकै बेरसम्म एउटा हातले रुखका लहरा समाउँदै अर्को हातले उही केटाको हातमा झुन्डिँदै घरी चिप्लँदै घरी लड्दै यो पटक मुस्किलले भिर पार गरी माथि पुग्न सफल भएँ।
माथि पुगिसकेपछि त अहो! कति राम्रो दृश्य। यसो माथि के हेरेथेँ सुनै सुनले छाएको विशाल दरबार। दरबार यति सुन्दर थियो कि हरियो जंगल अनि विशाल पहाडको टुप्पोमा सारा धर्तीलाई नै चमक छोड्दै विराजमान थियो। म अघि बचाउने केटाकै हात समाएर उक्त दरबार नजिकै पुगेँ। त्यो केटाको स्पर्शले अजीवको महशुस भयो, जिउभरि काँडा उम्रियो।
दरबारको माथिल्लो छाना हेर्दा यस्तो लाग्थ्यो कि सारा तारामण्डल दरबारको छाना माथि नै बसेर चम्किरहेछ। सोचेँ, स्वर्ग यही रहेछ। जब हामी दुवैजना दरबारको मुख्य गेटबाट भित्र प्रवेश गर्दा घनघोर वर्षा हुन्छ। अनि झल्याँस्स बिउँझन्छु।
बिउँझिदा पनि साँच्चै पानी परिरहेको रहेछ। 'ओ एम जि' यो कस्तो संयोग! म कसरी पुगेँ होला त्यो डरलाग्दो भिरमा? केही बेरसम्म भिर सम्झेर डराइरहेको म मलाई समातेर बचाएको मान्छे सम्झिँदा त्यसै-त्यसै पुलकित हुन पुगेँ।
खुसी हुन त सपनै पो काफी रहेछ। खुसी हुनलाई सानै कुरा पनि पर्याप्त हुन थालेछ मलाई। त्यसो त खुसी हुन्छ नै साना साना कुरामा।
कहिलेकाहीँ आफ्नै जिन्दगीका पाना पल्टाउँदै सोच्ने गर्छु। त्यो जन्मघर, त्यो बालापन, मनभरि सपनाहरु बुन्दाबुन्दै सम्पत्ति देखेर परिवारले जबरजस्ती गराइदिएको विवाह। श्रीमान् नामको पुरुषबाट मायाको आश गर्दा गर्दै पाएको यातना अनि अमानवीय व्यवहार सहनै नसक्ने भएपछिको बेचैनी। मदिरा सेवन गरी यातना दिने श्रीमानलाई परिवर्तन गर्न खोज्दा, सही बाटोमा ल्याउन खोज्दा उल्टै पाएको शारीरिक यातना।
त्यसपछि कुनै उपाय नभएपछिको ‘डिभोर्स!’ डिभोर्सपछि माइतबाट पनि नपाएको साथ। अनि त्यो सबै छोडेर विद्रोह गर्दै आमा-बुबाबाट पनि टाढा आएर जिउँदै गरेको अहिलेको जीवन। जीवनको दुई दशक बितेको केही वर्षभित्रै बितेको यस्तो उतारचढाब सम्झिँदा आफ्नै जीवन रंगमन्चमा मन्चन भइरहेको कुनै नाटकभन्दा फरक लाग्दैन।
जीवनमा जति पनि दुखि भएँ, त्यो सबै अरुबाट खुसीको आशा गर्दा भएँ। तर आज कसैसँग कुनै पनि खाले अपेक्षा नराखी आफ्ना काममा मात्रै व्यस्त हुँदा पनि त जिन्दगी चलेकै छ। खुसी नै छु। आफू खुसी हुन अरुमा भर पर्न नहुने रहेछ। अरुलाई नै आफ्नो खुसीको चाबी दिइयो भने आफूले पाउन सक्ने खुसी पनि कमजोर बन्दो रहेछ।
स्कुलमा विद्यार्थीहरुलाई पढाउनु, ज्ञानका कुरा सिकाउनु अनि मान्छेका सम्वेदनाहरु समेटेर लेख लेख्नु। अहिले खुसी हुन, सन्तुष्ट हुन यी नै दुई काम काफी छन्। जब कुनै काम कुनै डरबिना, बिनासंकोच तन मन लगाएर गरिन्छ भने प्रतिफल पनि राम्रै पाइने रहेछ।
प्राइभेट स्कुलमा पढाउन थालेको दोस्रो वर्षमै ‘बेस्ट टिचर अवार्ड’ पाउनु मेरा लागि खुसीको अर्को खुड्किलो बन्यो। हुन त विगतसँग गुनासो गर्न छोडेको धेरै भयो तर पनि कहिलेकाहीँ विगतका नमिठा पलहरुले मनभित्र कुस्ती खेल्छ, युद्ध गर्छ अन्ततः जित मेरै हुन्छ।
म फेसबुक स्क्रोल गर्दै थिएँ। एउटा स्टाटसमा गएर आँखा अडियो। 'प्रेमको फराकिलो संसारमा बस्ने मान्छेको मन किन यति साँघुरो हुन्छ?' एक जना लेखक जसले हामी जस्ता नारीका भावनाहरुलाई समेटेर लेख रचना प्रकाशन गर्छन्।
नारी जीवनलाई गहिरिएर समेटिएका उनका लेखहरुको फ्यान भएको थिएँ। उनैको स्टाटस थियो त्यो। मैले पनि आफ्ना भोगाइ, धारणा र विचार समेटेर कमेन्ट गरेँ।
'सम्झनाका बाछिटामा रुझेर प्रेमको फराकिलो बाटोमा हिँड्न निकै कठिन हुँदो रहेछ।' समाजका विसंगति र परम्पराको नाममा विध्यमान विभेदका विरुद्ध कलम चलाउने उनीसँग म आफैले बोल्न सुरु गरेँ।
हामी सुरुसुरुमा उनले आफ्ना लेखमा समेट्ने विषयवस्तुको बारे घण्टौँ कुरा गर्थ्यौँ। यसरी हामी नियमित बोल्ने हुँदै गयौँ। म जति बोल्न खोज्थेँ उनी पनि अझै धेरै बोल्न खोजेझैँ लाग्थ्यो।
कुराकानी त्यतिमा मात्रै सीमित भएन, समय बित्दै जाँदा हामी एकअर्काका निजी जीवनसँग पनि नजिक हुन थाल्यौँ। मलाई आफ्ना बारे कसैलाई पनि भन्न नपरे हुन्थ्यो, कसैले पनि नसोधोस् मेरा विगतबारे लाग्थ्यो तर विस्तारै व्यक्तिगत कुरा हुँदै जाँदा उनले पनि मसँगको सामिप्यतालाई अझै प्रगढ बनाउन चाहेको कुरा व्यक्त गर्न थाले।
उनले खुलेरै मेरो जीवनमा कोही केटा भए नभएको कुरा सोधे। सुरुमा त टार्न खोजेँ तर मप्रति यति चासो राखेर बोल्न खोज्ने एउटा राम्रो लेखक म उनलाई आफ्ना कुरा लुकाउन चाहिनँ।
मन त मलाई पनि पर्थ्यो तर आफ्ना विगत लुकाएर कसैसँग सम्बन्ध गाँस्न चाहन्नथेँ। उनी नै मसँग अझै नजिकिन चाहेको कुरा बुझेपछि मैले आफ्ना बारे सबै कुरा खुलस्त बताउन चाहेँ। अनि आफ्ना साराका सारा यथार्थ लेखेर मेल गरिदिएँ।
त्यसपछिका दिनमा हाम्रा कुराहरु पहिलेभन्दा अलि कम हुन थाल्यो। सोचेँ मेरो कुराहरुले नराम्रो लाग्यो होला अनि कम बोलेको होला। फेरि अर्को मनले सोचेँ मैले कतै चित्त पो दुखाएँ कि। हैन मैले आफ्ना कुरा सबै भनेकि छु अब राम्रो नराम्रो जस्तो लागे पनि चुपचाप बसेँ।
केही दिनपछि ल्यापटपमा स्कुलको रिजल्ट तयार पारेर प्रिन्सिपललाई मेल गर्दै थिएँ। मैले लेखेर पठाएको मेलमा रिप्लाई आएको रहेछ। एकछिन त मुटु ढुकढुक भयो।
कतै अब बोल्न छोड्ने त हैन? मलाई उनीसँग व्यक्तिगत जीवनमै सँगै हुने चाहभन्दा पनि उनीसँगको मित्रता नबिग्रियोस् भन्ने सोच्दै मेल पढ्न थालेँ।
डियर तारा,
मैले तिम्रो मेल पढेपछि एकछिनसम्म त निशब्द बनेँ। के भनौँ के नभनौँ भइरह्यो।
अँ, मैले त तिमी नै भनेछु, तपाईं भन्थेँ नि है? तिमीले नै तपाईंभन्दा अलिक असहज लाग्छ भनेदेखि तिमी भन्न थालेको तर तिमी तपाईंभन्दा पनि माथिल्लो लेभलको सोचाइ, धारणा र समाजप्रतिको गहिरो दर्शनमा दख्खल राख्छौ।
तिमीले सानै उमेरमा परिवारको दबाबमा गरेको विवाहदेखि आफ्नै श्रीमानबाट सहनु परेको शारीरिक, मानसिक शोषण अनि अमानवीय व्यवहार असह्य भएपछि सम्बन्ध बिच्छेद गरेर आफ्नै स्वतन्त्र जीवनमा हिँडिरहेको अनि माइतिबाट समेत सोचेजस्तो साथ नपाएको कुराले निशब्द बनेँ।
तर तिमीले गरेको विद्रोहप्रति मेरो सलाम छ। अन्तिमतिर तिमीले निर्धक्क सोधेका जिज्ञासा अनि प्रश्नहरुले त झनै नजिक्याइरहेझैँ लागेको छ। छोटो समयमै तिमीसँग जीवनका हरेक भावनाहरुबारे खुलेर कुरा भइरहँदा बढेको सामिप्यतासँगै मेरो देशभन्दा निकै टाढाबाट यो मन यसरी पोखिँदैछ।
प्रिय तारा,
मैले तिमीलाई प्रिय भन्ने दुस्साहस यसकारण पनि गरेँ कि मैले प्रिय नभनि सुरु गरेँ भने मैले भन्न खोजेका कुराहरु हाम्रो निकटता या सामिप्यताको आकशमा भावनाको तेजिलो प्रकाशलाई दूरीको कालो बादलले छेक्ने डरले सशंकित छु।
तिम्रो ‘मेल’ पाएपछि जब पढ्दै गएँ, बुझ्दै गएँ अनि जति जति तिम्रा जीवनका कारुणिक घटनाहरु थाहा पाउँदै गएँ, उति नै तिमी त्यस्तो वैवाहिक जीवनबाट स्वतन्त्र भएको भए हुन्थ्यो भन्दै कामना गरिरहेँ।
घरदेशबाट अलग्गिएर परदेशको आकाशमुनि बिताएका कैयौँ रातहरु मैले पनि आफूलाई आफैबाट जबरजस्ती भुलेर बाच्ने कोसिस धेरै पटक गरेको छु। तर आफैँबाट भागेर कहीँ पर जान नसकिने रहेछ।
तिम्रो जीवनको कहालीलाग्दो यात्रा सुनिरहँदा मलाई मेरा जीवनका केही कठिन यात्राहरु पनि सुनाउन मन लाग्यो। तिमीले भनेको छौ नि 'तपाईंले मेरा सबै मुस्कुराएका फोटा मात्र देख्नु भयो हैन?' भनेर।
परदेशमा बस्नेहरुले महिनौँपछि समय मिलाएर समुद्री किनारमा रमाइरहेका, सुविधासम्पन्न सहरभित्र गगनचुम्बी महलका अघि खिचेर सामाजिक सन्जालमा राखिएका हँसिला तस्बिरहरु भित्र पनि कति पीडाहरु लुकाएर राखिएका हुन्छन्।
त्यो परदेशमा दिन दिनरात नभनि १६/१७ घण्टाको कडा परिश्रमसँगै आफ्ना जवानी बेचेकाहरुलाई नै थाहा हुन्छ, जसरी तिम्रा व्यथाहरुलाई तिमी आफैँले जति अरु कसैले बुझ्न सक्दैन भन्ने लाग्छ नि। त्यसैले हँसिला तस्बिरहरु भित्रका कसिला अर्धचेत रहरहरु, पीडा, वेदनालाई समेटेर म पनि लेखहरु लेख्न मन पराउँछु।
म पनि बाहिरी मुस्कानभित्र लुकेका पीडाहरु महशुस गर्ने कोसिस गर्छु। त्यसैले त सुनिरहन्छु-
तुम इत्ना जो मुस्कुरा रहे हो
क्या गम हे जिसको छुपारहे हो
सुदूरपूर्वि जिल्ला ताप्लेजुङको एक सामान्य किसान परिवारमा जन्मिएर हुर्कँदै गर्दादेखि नै मैले दुःख, अभाव र कैयौँ पीडादायी मानवीय सम्वेदनाहरुसँग आफूलाई नजिकबाट नियाल्दै आएँ। क्याम्पस पढ्न राजधानी छिरेदेखि नै एकातिर जागिर र अर्कोतिर पढाइको दुई थरी डुंगामा एक-एक खुट्टा हाल्दै यात्रा गरिरहँदा भेटिएकी थिई काव्या।
प्रेम, सम्बन्ध, विवाह र समाजप्रतिको आफ्नै खाले सोचाइ राख्थेँ। विवाहका कतिपय राम्रा पक्ष पनि छन् तर खासगरी विवाह भन्ने संस्थालाई समाजले मानिसको जीवनमा स्वतन्त्रता खोसिदिने माध्यमको रुपमा प्रयोग गरेको सानैदेखि देख्दै आएको थिएँ।
किनकि विवाहलाई महिलामाथि हैकम जमाउन पुरुषको लागि लाइसेन्स दिए झैँ गरी समाजले बेग्लै अध्यायको रुपमा बढीजसो बनाएको देखेको छ।
तीजको समय बेलुकापख नाचगान भइरहेको देखेर हामी साथीहरु त्यतै लाग्यौँ। स्वयम्भु नजिकै बस्थ्यौँ त्यतिबेला। त्यहीँ नाचगान हेर्न जाँदा अरुले दोहोरी गाइरहेको देखेर मलाई पनि दोहोरी गाउन मन लाग्यो र दुई समूहबीच राति अबेरसम्म दोहोरी चल्यो।
दोहोरी चलिरहँदा नाच्ने मध्येकी एक थिई काव्या। अग्लो जीउडाल, रेशमी लामो कपाल, लालीबिना नै मदहोस पार्ने ओठ, छिनेको कम्मर, कसिला छाती, जवानीका रसहरुले भरिएर स्ट्रबेरीको रसमा चोबलेर भर्खरै निकालेको गुलाबको फूलजस्तै थिई ऊ।
उसलाई हेरेर मन नपराउने र नजिकिन मन नगर्ने केटा सायदै होलान्। त्यही साँझ मैले गाएको गीतमा बेस्सरी नाचेकी काव्या केही दिनमा नै मसँग नजिकिन थाली। काठमाडौंकी सम्पन्न परिवारकी एक्ली छोरी, जीवनमा कहिल्यै अभाव र संघर्षमा नपरेकी केटी मसँग अकस्मात् नजिकिन खोज्दा सुरुमा त डर लागेको थियो।
ऊ कक्षा १२ मा पढ्दै थिई त्यतिबेला। म कहाँको गाउँमा दुखै दुःखले हुर्केको केटा, मध्यरातसम्म अरुको काम गरेर कलेज पढ्दै आफ्नै जीवन संघर्षमा हराइरहेको केटा, मैले काव्यालाई आफूसँग ननजिकिन निकै कोसिस गरेँ। मलाई पनि मन त पर्थ्यो काव्या तर हाम्रो आर्थिक हैसियतमा आकाश-पातलको फरक थियो।
जति नै इग्नोर गरे पनि सुन्दरताले जवानीका रसहरु तप्प तप्प चुहिने बेलाकी जवान केटीले प्रेमको जाल फाल्न थालेपछि त्यहाँबाट उम्किन गाह्रै पर्ने रहेछ। म पनि त्यही जालमा उसँगै जेलिन थालेछु।
ऊ भन्थी 'माया त अन्तरात्माको अनन्त आकाशबाट गर्ने कुरा हो जहाँ भौतिक सम्पन्नताको कुनै सम्बन्ध हुँदैन।' पवित्र मनको आकाशमा मात्रै माया फुल्नुपर्छ भनेर आफू हुर्कदादेखि नै सोच्ने गरेको म उसका यी दार्शनिक कुराले लठ्ठिएपछि हामीबीचको सम्पन्न र विपन्नको भेदबारे केही भन्न सकिनँ र उनीसँगको प्रेमील यात्रामा रम्न थालेँ।
हामी समय हुँदा भेट्थ्यौँ, समय नहुँदा भेट्थ्यौँ, अप्ठ्यारोमा भेट्थ्यौँ, सजिलोमा भेट्थौँ, भेट्न हुने बेला भेट्थ्यौँ अब त भेट्न नहुने बेला पनि भेट्न थाल्यौँ। भेटौँ भनेर भेट्थ्यौँ, भेटौँ नभनेरै पनि भेट्थ्यौँ। यसरी हाम्रो निकटता झागिँदै गयो।
नझागियोस् पनि कसरी जब दुई पवित्र मनहरु एक भइसके। समय बित्दै गयो, हामी एकअर्कालाई अझै बढी अझै बढी महसुश गर्दै गयौँ। हामीलाई लाग्थ्यो कि हाम्रोजस्तो पवित्र सम्बन्ध सायद कसैको पनि छैन होला।
नियतवश दिमागले चाहेर गर्ने बाहेक आफ्नै मनले, आत्माले डोहोर्याउने यात्रा कहाँ हाम्रो बसमा चल्दोरहेछ र एक मायाको अनन्त आकाशमा हामी पनि निर्वाध उडिरह्यौँ।
प्रेमिल आत्माको विशाल जलाशय एक हुँदै गर्दा एउटा मनबाट निस्कने आकर्षणको ‘प्लस’ चार्ज र अर्को मनबाट बहने माइनस चार्ज प्रेम नामको बलियो तारबाट प्रसारित भएपछि शरीर नामको स्वचालित यन्त्र म्यानुअलबाट आफैँ ‘अटो’तिर घुम्दा स्पर्शको लामो अनि बेजोड यात्रा सुरु हुँदो रहेछ। स्पर्श अर्थात् छुवाइ प्रेमले यति पवित्र र प्रिय बनाइदिँदोरहेछ कि अब हामी त्यही स्पर्शमा कैद हुन थाल्यौँ।
छुन सकिनेसम्म छुन खोज्यौँ, छुन नसकिनेसम्म छुन खोज्यौँ। छुन हुनेसम्म छोयौँ, छुन नहुनेसम्म छोयौँ। भेट्नेसम्म छोयौँ, नभेट्नेसम्म छोयौँ। मनको छुवाइ बलियो बन्दै जाँदा अब शरीरबाहिर छोयौँ शरीर भित्र छोयौँ, भित्र भित्रसम्म छोयौँ, छुवायौँ।
प्रेमको बलियो डोरीले बाँधिएपछि शारीरिक छुवाइले हद पार गर्दो रहेछ। हामीले हदभन्दा धेरै नै पर पुगेर एकार्कालाई महसुश गर्यौँ। हो, काव्याले मलाई आफ्नो शरीर भित्र भित्र छुवाइ, मेरो शरीर भित्र भित्र छोई। जहाँसम्म छोयौँ, त्यहाँबाट छुन बाँकी शरीर केही पनि बाँकी रहेन।
मेरो स्पर्शको गहिराइको झोँकाले हायलकायल भएर ऊ यसरी चल्नै नसक्ने हुन्थी कि जसरी वर्षौँपछिको साधना तपस्यापछि साधकले मुक्ति प्राप्त गर्छ। यसरी नै हाम्रो स्वर्गिय आनन्दको प्रेमील यात्रा तय गर्दै गयौँ। समय वर्ष, दुई वर्ष हुँदै तेस्रो वर्षमा चल्दै थियो।
समय सधैँ एकैनासले कहाँ चल्छ र? एकदिनको कुरा हो, काव्या साथीकोमा जान्छु उतै बस्छु भनेर गएकी थिई। त्यसको केही दिनपछि काव्या मसित विस्तारै कम बोल्न थाली। सधैँ आफै बोलाइरहने म काममा व्यस्त रहँदा पनि फुर्सद भएर मोबाइल खोल्दा उसका धेरै म्यासेजहरु आएका हुन्थे तर अब ऊ एकाएक मलाई इग्नोर गर्न थाली।
एक दिन, दुई दिन हुँदै उसले मेरा कलहरु उठाउन छोडी। कर गरेर बोलाउँदा मात्र बोल्थी च्याटमा पनि। तीन वर्षसम्म आइपुग्दा कहीँ कतै दूरी महशुस गर्नु नपरेको सम्बन्ध एकाएक मबाट तर्किन खोजेपछि मैले पनि कर गरेरै सबै कुरा बुझ्ने कोसिस गरेँ।
अब ऊ मसित साना-साना कुरामा पनि मतभेद राख्न थाली। एकदिन त असाध्यै रिस उठ्यो अनि किन यस्तो गरिराछौ भनेर कराएँ। ऊ त झन् मैमाथि आइलाग्दै हिजो जुन कुरामा मलाई सामर्थ्य देखाउँथी, आज त्यही मेरो आर्थिक अवस्थालाई दोष देखाएर मसँग भविष्य कमजोर रहेको बताउन लागी। मान्छेका मनहरु कति चाँडै बदलिँदा रहेछन्।
काव्यालाई मतिर नजिक्याउन लाख कोसिस गरेँ तर मैले जति जति आफूतिर नजिक्याउन कोसिस गरेँ ऊ उति नै टाढिँदै गई। एकदिन मैले उसको एकजना साथी रमिलालाई फोन गरेर भेट्ने प्रस्ताव राखेँ। कहिलेकाहीँ हामीबीच झगडा पर्दा रमिलाले हामी दुवैलाई सम्झाउने गर्थी।
रमिलालाई भेटेपछि पो थाहा पाएँ कि काव्या त अर्कै केटासँग पो नजिक भैसकिछ। आफन्तको बिहेमा उनीहरुको भेट भएको रे। काठमाडौं स्वयम्भु नजिकै मोटर पार्ट्सको राम्रो व्यवसाय रहेछ केटाको। काव्याभन्दा झन्डै ९ वर्ष जेठो रहेछ केटा।
मलाई रमिलाले उनीहरु सँगै बसेर खिचेको फोटो देखाइसक्दा पनि मनले भने यो कुरा सत्य मान्न सकिरहेको थिएन। अनि जब रमिलाले काव्याले त्यो केटाको हात समाउँदै किस गर्दै गरेको भिडिओ बनाएर टिकटक बनाएको देखेपछि मेरो मनले सहन सकेन।
ममाथि आकाश खसेझैँ भयो। हिजोको दिनसम्म ‘तिमीबिना अरुलाई छुन परे त मर्छु’ भन्दै रुने काव्या आज पराइको अङ्गालोमा बेरिँदै किस गर्ने अनेक गर्ने भइसकिछ। यो सबै रमिलाले मलाई देखाएपछि र सबै कुरा पत्ता लगाएपछि म जीवनबाटै हारेँ।
जब यति छिट्टै भुल्नुरहेछ त मेरो जीवनमा किन आई काव्या? जब आई अनि मायाको लत बसाएर अब ऊबिना बाच्नै नसक्ने भएपछि धनी केटा पाएपछि मेरो चोखो माया पैसामा बेचिदिई। हिजो माया त मनको अन्तरात्माबाट गर्ने भन्थी तर आज त्यही धन सम्पत्तिवाला भेटेपछि माया गर्ने मनलाई चटक्कै भुल्न सक्दिरहिछ।
धनसित जवानी साट्नेहरुसँग मनसित जीवन साट्न नसकिँदो रहेछ। काव्याका यादहरुले रातमा निदाउन सक्दिनथेँ। यस्तो पनि सोच्थेँ कि यसै मेरो जीवनमाथि मेरो भावनामाथि खेली, म उसको अघि गएर आत्महत्या गरिदिउँ या उसको अघि गएर चिच्याउँ या त घरको माथिबाट हाम्फालूँ।
तर अप्ठ्यारोमै पनि सजिलै मर्न पनि कहाँ सकिँदो रहेछ र! छाडेर जानेले गइसक्यो फेरि उसैको पछि लागेर के गर्नु जब मन नै अरुलाई नै दिइसकि यही सोचेर म उसको नजिक गएर एक पटक केही सोध्न पनि मन लागेन।
उसले बनाएर गएको आलो घाउले यसरी भित्र भित्रै जलाउँदै गयो कि स्नातक तहमा चलिरहेको मेरो पढाइ अनि प्राइभेट कम्पनीको जागिर संकटमा थियो। न मन लागेर पढ्न स्क्थेँ न त अफिसमै राम्रो काम गर्न सक्थेँ। काव्यालाई भुलाउन म दिनहुँ नशामा डुब्ने भएँ।
मलाई साथीहरुले 'केटा मान्छे भएर पनि एउटी केटीले छोडेर गई भन्दैमा किन मदिरा सेवन गर्छस्, किन आफूलाई बर्बाद गर्दैछस्?' भनेर धेरै सम्झाउन खोज्थेँ तर मेरा लागि काव्या केबल एक केटी थिइन, ऊ त मेरी जीवन थिई, मेरो सास थिई। मेरो लागि सबथोक थिई।
एकातिर काव्याले दिएको चोटहरु अर्कोतिर काँधमा परिवारको जिम्मेवारी। छ दशक काटेका आमा बुबा, परिवारको बिग्रँदो अवस्थाले थिच्दै गयो। त्यसपछि म नेपाल बस्न सकिनँ र काँधमा परिवारको जिम्मेवारी बोकेर कोरिया यात्रामा होमिएँ। कोरिया आउँदासम्मका संघर्षमयी यात्राबारे भेटेरै भनुँला।
हुन त मैले आफू टुटेको कुरालाई तिमी सबैको अगाडि त्यसरी टुटेको जस्तै भन्न नसकुँला तर तिमी समाजले थाहा पाउने गरी धेरै टुट्यौ, अरुले बनाइदिएको सम्बन्ध टुटेर रोयौँ। म आफैँले रोजेको मान्छेले टुटाउँदा रोएँ।
मेरो टुटाई अरुले देखेनन्, देख्दैनन्। त्यसपछिका दिनमा पनि सम्बन्धका लागि नजिकिन कतिले प्रस्ताव गरे तर मैले कोहीसित पनि सम्बन्ध राख्न चहिनँ। अनि खुसी मनहरुभन्दा बढी संघर्षका, दुखी भएका, टुटेका मनहरुका कथा समेटेर लेखहरु लेख्न मन पराउँछु।
पल्लो गाउँका रमेश दाइ विगत ४ वर्षदेखि कोरियामै हुनुन्थ्यो। बिदामा नेपाल आउँदा उहाँसँग काठमाडौंमा भेट हुने मौका मिल्यो। उहाँसँगको भेटमा कोरियामा हुने काम अनि कमाइको बारे थाहा पाएँ। दाइले मलाई पनि कोरियन भाषा परीक्षा पास गरेर कोरिया जान सुझाव दिनुभयो।
उहाँकै सल्लाहमा भाषा पढेर परीक्षा दिएँ। तर पहिलो पटकमा पास हुन सकिनँ तर दोस्रो वर्षमा शतप्रतिशत अंक ल्याएर भाषा परीक्षा पास गरेँ। भाषा परीक्षा पास गरेको डेढ वर्षमा सम्पूर्ण प्रकृया पूरा गरी म कोरिया आइपुगेँ।
आफ्नै जीवन बाँच्न समेत हरेस खाएको म यतिबेला परदेशको १६/१७ घण्टासम्मका अनवरत ड्युटीसँग साटिरहेछु। समाजले त मलाई टुटेको रुपमा देख्दैन किनकि भावनात्मक चोटलाई बुझ्ने भन्दा पनि बढी हाँसोको पात्रको रुपमा लिगिदिन्छन्।
अनि मैले कोहीसँग सम्बन्धै नगाँस्ने, गाँस्नै परेछ भने पनि पीडा भोगेकासँग मात्रै नजिकिन्छु भनेर प्रण गरेँ। आज दुःख नै आफ्नो लाग्छ, दुःख, पीडा, संघर्षमै वास्तविक जीवन छ जस्तो लाग्छ। दुःख परेका, चोट खाएकाले नै मलाई बुझ्न सक्छ जस्तो लाग्छ।
हो तारा, समाजले पुरुषले त एकजनासँग सम्बन्ध बिग्रिएपछि जति जनासँग जस्तो सम्बन्ध राखेपनि क्षम्य हुन्छ भन्छ तर महिलाको लागि एकजनासँग मन लागेपनि मन नै नलागेपनि कैद भएर त्यही मान्छेसँग जीवन जिउन नै प्रेरित गर्छ।
जसरी एउटा वैवाहिक सम्बन्ध बिग्रिँदा अर्को सम्बन्धको लागि सहज रुपमा पुरुष अघि बढ्न पाउँछ, उसैगरी महिलाको हकमा भने नानाथरी कुरा काट्छ।
प्रिय तारा,
डिभोर्स हुनु भनेको छुट्टिनु हो नि है। तिमी समाजले बनाएको विवाह संस्थाबाट छुट्टियौ, म बिहे नगरी अविवाहित भएरै डिभोर्सी भएँ। हो, म त ‘अविवाहित डिभोर्सी’ भएँ। हुन त पीडा तिम्रा नै धेरै होलान् तर नाम जे दिएपनि म पनि सम्बन्धबाट टुटेँ, तिमी पनि सम्बन्धबाटै टुट्यौ।
मलाई थाहा छ यो समाजले तिम्रो टुटाई र मेरो टुटाईलाइ फरक ढंगले आकाश पातालको रुपमा भिन्न देख्छ तर अन्ततः सम्बन्धबाटै विक्षिप्त भएको हाम्रो व्यथा फरक हो भन्ने लाग्दैन। मलाई पनि तिमीसँगै जीवन बिताउने ठूलो चाह छ तारा! झनै हाम्रा व्यथाहरु पनि उस्तै हुनुले तिमीसँगै हुने चाह अनि तिमीप्रतिको लगावप्रति धेरै खुसी छु।
थाहा छ मलाई मैले तिमीसँग सम्बन्ध राख्दै गर्दा यो समाजले मलाई पागल पनि भन्ला तर आज म भित्रको कसैको चोटले बनेको मानसिक रोगलाई नजरअन्दाज गर्छ। म समाजले देख्ने सद्य पुरुषको रुपमा कोही अविवाहित नारीसँग बिहे गरेर आफ्ना पीडा लुकाउँदै कृत्रिम हाँसो देखाएर आफूभित्रै पागलपनमा जल्न चाहन्न।
बरु समाजको नजरमा पागल नै सही तर म चोट खाएकी, साँच्चै माया, साथ, भरोसा टुटेर पनि आफ्नै परिवारसँग विद्रोह गर्दै एक्लो प्रयासले शानदार जीवन बिताइरहेकी तिमीजस्तो आँटिली अनि समाजको लागि समेत योगदान दिन सक्ने नारीसँग सँगै रहेर जीवनभर खुसी रहन चाहन्छु।
हुन त मैले काव्याबाट भोगेको धोका, चोटलाई यो समाजले खासै गहिरो मान्दैन। छोरा मान्छे रोयो भने यो समाजले नामर्द भन्छ। अझै प्रेममा हारेकालाई त अझै अर्को केटी जति नि पाइहाल्छ नि भनेर हाम्रा भावनाहरुलाई बेवास्ता गर्छ।
तर कसलाई कुन हदसम्मको चोट परेको छ भने कुरा उसले कति गहिराइसम्मको भरोसा, विश्वास, त्याग र लगाव टुटाउनुपरेको छ र कुन हदसम्म उसका भावनामाथि अरुले परेड खेलेको छ त्यसले निर्धारण गर्छ न कि समाजले लाद्ने लैङ्गिक अनि विविध कुसंस्कारको मापनले।
मैले चाहेको भए अरुसँग सम्बन्ध गाँस्न सक्ने थिएँ। तर चोट नखाएकासँग सम्बन्ध गाँस्दा फेरि पनि धोका खाइन सक्ने सम्भावनालाई म कहिल्यै आफ्नो नजिक पार्न नदिने अठोट गरेकि थिएँ। बरु चोट खाएकासँग सम्बन्ध बनाइयो भने धोका पाइने, विश्वासघात हुने सम्भावना निकै कम हुन्छ किनकि उसलाई यो थाहा हुन्छ कि सम्बन्धमा विश्वास टुटाउँदा कुन हद्सम्मको असर पर्छ भनेर।
त्यही कुरा अरुको भावनासँग खेल्न बानी परेकाहरुले कसरी बुझुन्। त्यसैले तारा मैले घरबाट बिहेका लागि ल्याइएका सबै प्रस्तावहरु अनेक बाहनामा टारिरहेँ। किनकि मलाई अर्को मान्छेसँग सम्बन्ध गाँस्ने चाह मृत बनिसकेको थियो।
मलाई लाग्छ चोट खाएकाले नै पीडामा परेकाको वेदना बुझ्न सक्ने हो। अझै तिमीजस्तो साहसी नारीसँग सहयात्रा गर्न पाइयो भने त म पनि समाजको लागि अझै केही गर्न सक्ने थिएँ। यहाँ नारीका सम्वेदनाहरुलाई भाषणमा चर्को आवाजमा बोल्ने पुरुषहरु त कैयौँ छन् तर व्यवहारमा त्यस्तो खासै पाईँदैन।
यो म हुर्केको त्यही समाज हो जहाँ विवाहपूर्व एक पुरुष मायाको जाल बुनेर कैयौँ नारीसँग शारीरिक सम्बन्ध राख्दै छोड्दै गर्छ तर उसले अन्तिममा बिहे गरेर ल्याएको श्रीमतीबाट सुहागरातमा बेडकभरमा रातो दाग देखिनै पर्छ भन्ने सोच राख्छ अर्थात् उसलाई पनि बिहे गर्ने केटी भर्जिन नै हुनुपर्छ भन्ने सोच राख्छ। नत्र आफ्नी श्रीमतीप्रति गलत सोच्छ अनि गलत व्यवहार नै गर्नतिर लाग्छ।
तारा, तिमी र तिम्रा नारी वेदनाहरुलाई बोलिमा त धेरैले कठै भन्लान् तर व्यवहारमा आफै सम्हान सक्ने पुरुष यो समाजले बन्नै दिँदैन। इमान्दार भएर भन्नुपर्दा म पनि चोट खाएको हु्न्थेँ भने तिम्रा भावनाहरुलाई अहिलेझैँ बुझ्न सक्ने थिइनँ सायद। तर अहिलेको सोच, मेरो चाह र मेरो दायित्व अनि तिमीभित्र महसुश गरेको असीमित सभावनाहरुको आभासले पनि यो भन्छ कि तिमीसँगै अघि बढौँ।
सुरुसुरुमा तिम्रा लेखहरुको फ्यान भएँ, त्यसपछि बोल्दै जाँदा तिमी झनै मन पर्दै गयौ। अझ तिम्रा जीवनका यति धेरै यात्राहरु बुझ्न पाएँ। कहालीलाग्दो जीवनबाट पनि हार नमानी बलियो आत्मविश्वास बोकेर एक्लै हिँड्न सक्ने साहसी नारी हौ तिमी।
आजसम्म आइपुग्दा तिमीलाई तिम्रा कमजोरीहरुमा प्रहार गर्ने मान्छे नै तिम्रा वरिपरि भइरहे। तर तिम्रा क्षमता अनि आफ्नो लागि मात्र नभई तिमीले समाजको लागि पनि दिन सक्ने योगदानहरु धेरै छन्। केबल सम्बन्ध टुट्दैमा तिमीभित्रका सम्भावनाहरु टुटेका हुन्नन्। म तिमी भित्र असीमित सम्भावना देख्छु।
हो तारा, विगतमा आएका काला बादलहरुले तिम्रो उज्यालोलाई रोकिरहन सक्दैन। तिमी त सधैँ चम्किरहने साँच्चैको तारा हौ। आज पनि कैयौँ नारीका विवाहपछिको सम्बन्ध बिग्रिएकै कारण आफूभित्रका सुनौला सपनाहरु अनगिन्ती सम्भावनाहरु यत्तिकै बिलाइरहेछन्।
हो, तिनै सहाराविहीनको लागि पनि तिमीजत्तिको साहसी नारी समाजको एक उत्कृष्ट उदाहरण बन्नुपर्छ अनि समाजका अन्धविश्वास, कुसंगतीका विरुद्ध लड्नुपर्छ। तिम्रा पाइलाहरुमा समाज परिवर्तनको सद्मार्गमा मैले पनि तिमीलाई साथ दिन पाएँ भने आफूलाई भाग्यमानी ठान्नेछु।
हामीबीच पनि कति असमानता होलान् तर मनको आवाजले मप्रति तिम्रो चाह आत्मैबाट पवित्र मान्छौ भने यो समाजले लगाएको कुसंस्कारको कलंकको टीका हामी मिलेरै पुछौँ अनि हाम्रो प्रेमको आकाशमा नयाँ उडान भरौँ।
आजीवन म तिम्रा पीडाहरुलाई आफ्ना पीडासँगै घोलेर मायाको नयाँ रंग भर्न चाहन्छु। हो तारा, तिमीलाई साँच्चै मन्जुर छ भने आऊ प्रेमको नयाँ नगरीमा सँगै यात्रा गरौँ।
(नोटः ‘म डिभोर्सी हुँ, स्वीकार्ने आँट छ?’ लेखको जवाफ।)
यो पनिः
‘म डिभोर्सी हुँ, स्वीकार्ने आँट छ?’