केही दिन भयो सडकलाई आराम छ। कहाँ गए सबै मानिस? कि सकिए? कागहरु सडकको छातीमा घाम ताप्न आएका किरा टिप्दै छन्। आज कागहरुको हर्षबढाइँको दिन हो। उनीहरुलाई थाहा छ, यो मनुष्य जातिको दुर्दिनको समय हो।
कोसलनाथ सोच्दै छन्, सबैको इतिहास हुन्छ। यो सडक, यी किरा र यी कागहरुको पनि आफ्नै मौलिक इतिहास छ। कोसलनाथको पनि इतिहास छ। उनलाई धेरै मानिसले चिन्दैनन्, किन्तु जतिले चिन्दछन्, भित्रैसम्म चिन्दछन्।
परिचितहरुलाई थाहा छ, कोसल बाजेको आँखामा मोतियाबिन्दु छ, दाँत हल्लेका छन्, कपाल बीस प्रतिशत मात्र बाँकी छ। परिचित जान्दछन्, कुनै बखतमा यी बाजे जागिरे थिए।
बाजेले मास्कमाथि अडिएको चस्मा झिकेर सिसामा लागेको बादल पुछे। चस्माको एउटो खुट्टो खुस्केको धेरै दिन भयो। धागोले अड्याएको चस्मा समय समयमा स्थानभ्रष्ट हुन्छ।
बाजे सुस्तरी हिँडेर चस्मा दुकानको अगाडि पुगेर उभिए। दुकानबाट ख्यार्र ख्यार्र आवाज आइरहेको थियो। दुकानदारले बाजेलाई हेर्दै भन्यो, 'चस्माको खुट्टो राख्नुपर्यो बाजे? ल ल्याउनुस्।'
चस्मावालाले खुट्टो कस्न थाल्यो। 'हिजो कति मरे बाजे?'
बाजे मनमनै खुसी भए। उनलाई लाग्यो, अझै पनि उनी बाँच्नुको प्रयोजन छ। अझै पनि उनी दुनियाँमा हुने तमाम घटनाको अद्यावधिक जानकारी राख्दछन्। उनी सूचनाका स्रोत हुन्।
बाजेले भने, 'अस्ति एक सय असी, हिजो दुई सय तीस। आज अढाई सय पुग्छ। अवस्था भयावह छ बाबु! जोगिएर बस्नुपर्छ है!'
बाजेको दाहिने हातमा तरकारीको थैलो र बायाँ हातमा लौरो छ। उनी घर नजिकै पुगे। घरको छतमाथि कोही उपेक्षापूर्वक बोलिरहेको थियो, 'बल्ल सवारी भयो टोलको रेडियो नेपाल।'
बाजेलाई आँखा कमजोर र कान टाठा भएकोमा ग्लानी भयो।
कोसल बाजे आज दाँत देखाउन जाने विचारमा छन्। सरकारले पर्सिदेखि लकडाउन गर्ने घोषणा गरेको छ। उनले दाह्री काटे, नाकको प्वालबाट बाहिर निस्केका घुमाउरा रौंहरु सानो कैँचीले काटे।
कानका लामालामा रौं छप्टेर छोटो पारे। बाजेले आफैलाई ऐनामा नियालेर हेरे। उनका गालामा पाकेको फर्सीमा जस्तै धर्का देखिन थालेको धेरै भइसक्यो।
कसैले ढोकामा ढकढक हान्यो। छोरो आश्रयनाथ रहेछ। छोरो भित्र पसेर कुर्सीमा बस्यो।
'आज राम्रो भएर कहाँ जाने विचार हो बा? कोरोनाको महामारी भयानक होला जस्तो छ। अहिले बाहिर ननिस्कनु राम्रो हुन्छ।'
छोराको प्रेमपूर्ण वचन सुन्दा खुसी हुनु कि दु:खी हुनु भनेर बाजे द्विविधामा परे। दु:खी हुनु त छोराका मायालु वचन, खुसी हुनु त अब सुरु हुने 'डिमाण्ड' हरु र तत्पश्चात सुन्नुपर्ने व्यङ्ग्य र निन्दा।
आश्रयले 'भात खान जाम बा' भन्दै बाको हात समातेर उठायो। बाले मनमनै सोचे, छोरो आत्मनिर्भर नहुनुको पनि एउटा फाइदा रहेछ। कमसेकम अरु बेला 'भ्याउँ' गरे पनि माग्ने बेला 'म्याउँ!' त गर्छ।
बाबु कलानाथ पहाडबाट चितवन झर्दा कोसलनाथ बाह्र वर्षका थिए। झाडीले भरिएको जमिन थियो। मधेस झरे सुख पाइन्छ भन्ने हल्लाका भरमा चितवन आएका कलानाथले त्यहाँ अपूर्व दु:ख पाए। कमलो उमेरका कोसलनाथ पनि बासँगै झाडी सफा गर्न जान्थे।
थकित भएपछि गम्छाले पसिना पुछ्दै मुढामाथि बस्थे कलानाथ। टाढा क्षितिजतर्फ हेर्दै उनी भन्ने गर्दथे- साँझ पर्न लाग्यो। तर अझै एउटो मुढो पन्छाएर मात्र जानुपर्छ। मेरो जिन्दगानी त यसै बित्नेभो, तर तेरो पालामा अलि सुखै होला। यति एक लग्गा जग्गा खेती गर्न लायक बनाएपछि बल्ल स्कुल जान पाउँछस्। हेड मास्टरले चार किलासमा राख्छु भनेको छ।
कोसलनाथले निकै परिश्रम गरेर पढे। पच्चीस वर्षको उमेरमा उनी जागिरे भए। पैंतीस वर्षको जागिरे जीवनमा सिडिओ, एलडिओ र विभागीय प्रमुख जस्ता दर्जामा पदासीन भएका थिए उनी। धेरै वर्षअघि उनी काठमाडौंमा जागिर गर्दा बा कलानाथ पहाडको अन्तिम सिरीखुरी बेची पैसाको पोको बोकेर चितवन फर्के।
कलानाथको विचार चितवनमै जग्गा थपेर सजिलोसँग बाह्र महिना खान पुग्ने किसानमा उन्नत हुने थियो। तर कोसलकी आमा दमन्ताले छोरो काठमाडौंमा जागिरे भएको हुँदा उतै सानो टुक्रा जग्गा किनिदिन उचित हुने भन्दै जिद्धी गर्न थालिन्।
कलानाथ- काठमाडौं हामी जस्ताले घर बनाएर बस्ने ठाउँ नै हैन।
दमन्ता- त्यसो त हामी जस्ताका छोराले सरकारी जागिर खानु पनि अचम्मै हो।
कलानाथ- काठमाडौंमा जग्गा किनिदियो भने कोसले उतै बस्छ। उमेर घर्केपछि कसले हेर्छ हामीलाई? आइमाई धेरै बासेको राम्रो सुनिँदैन, चुप लागेर बस्। जे-जे गर्नुपर्छ म गर्छु।
दमन्ता- बुढेसकालमा छोराको सहारा चाहिन्छ, ठिक हो। तर तपाईं श्रीमती मरेर एक्ला भएका बुढा बाबुलाई छाडेर किन यता आउनु भयो?
कलानाथ- मेरो भाइ छ बासँग। कोसले त एक्लो छोरो हो नि।
दमन्ता- धेरै जिद्दी नगर्नुहोस्। तपाईंको बाका लागि तपाईं छुट्टै र भाइ छुट्टै व्यक्ति हो। भाइ छ भन्दैमा तपाईं जिम्मेवारीबाट उम्कन मिल्ने थिएन, तर उम्केर हिँड्नु भयो।
कलानाथ- पहाडबाट मधेस झर्ने बित्तिकै यति बाठी भइस्। अझ काठमाडौं जान पाइस् भने त मलाई नै बेच्न के बेर। लौ तेरै जित भयो।
आज आश्रयनाथ बडो नरम र शालीन भएको छ। बुहारी आलोचना पनि निकै दयालु बनेर बुवालाई के टक्र्याऔं भन्दै अदबसाथ उभिएकी छन्। नाति अनन्य सदाको मायालु, नातिनी अनिन्दा सधैँकी करुणामयी।
आश्रयनाथले भन्यो, 'आज बाको दाँत देखाउन म पनि जान्छु। कोभिडको महामारीको बेला छ। बालाई जतनले जोगाएर लैजानुपर्छ।'
कोसलनाथले मनमनै सोचे, चितवनमा बाँकी रहेको दुई कट्ठा पनि सक्नेभो यसले।
कोसलनाथ आफ्नो कोठातिर झरे। आज डाक्टरलाई दाँत देखाउने दिन। हल्लेर दुखेको बाहेक अरु दाँत त अलि सफा गर्नुपर्छ। मुख राम्ररी कुल्ला गरेर जिब्रो पनि सफा गर्नुपर्छ। अलि राम्रो टिसर्ट र सफ्ट जिन्सको प्यान्ट लाउनुपर्छ।
आज कालो चस्मा ढल्काउनु पर्छ। आज लौरो नटेकिकन सिडिओको रोब पनि देखाउनुपर्छ। बुढा उत्फुल्ल भए। बाजेले दाँत माझेर कुल्ला गरे। थोरै रगत देखियो। फेरि कुल्ला गर्दा हल्लेको दाँत आफै झर्यो।
आखिर यो शरीर लगातार मरिरहने जीव त रहेछ। सबैभन्दा पहिले कालो कपाल मरेर सेतो भयो। फेरि कसिलो मांसपेशी मरेर झोल्लियो। फेरि जागिरे जीवन मरेर ढाक्रेमा परिणत भयो।
यता पदको शक्ति मरेसँगै उता शरीरको शक्ति पनि मर्दै गयो। परिवार, कुटुम्ब र समाजलाई दिन सक्ने योगदानको शक्ति समाप्त हुँदा सम्मान पाउने शक्ति पनि शनै शनै मर्दै गयो।
जीवन 'कोसल सर' बाट कोसल बाजेमा नामान्तर भयो। आफूलाई सम्झने र गुणानुवाद गर्ने मित्रहरू पनि कोही अन्तिम मृत्यु प्राप्त गरेर गए भने कोही अविरल मृत्युको चपेटामा अशक्त भए। सम्मानका मिठा वचन पनि विस्तारै हराउँदै गए।
परन्तु कोसल बाजे जीवनको यो कठोर वास्तविकतासँग परिचित भएको हुँदा सन्तुष्ट र शान्त छन्। उनलाई जीवन के हो भन्ने कुरा थाहा छ, त्यसैले उनी सहन र पचाउन जन्दछन्।
आश्रय बाको कोठामा आयो। 'बा अब जानुपर्छ।'
बाजेले भने 'दाँत त आफै झर्यो। एकछिन अलिअलि रगत आयो। अहिले त पिलोको खिल निचोरेर फाले जस्तो सन्चो भएको छ। आफ्नै शरीरको प्यारो अंग जब दु:खको कारण बन्दछ, त्यो सधैँका लागि बिदा भएर जाँदा पनि खुसी लाग्दो रहेछ।
यो जीवन आफैप्रति समेत अत्यन्त कठोर, निष्ठुर र स्वार्थी छ। जीवनको यो सत्यलाई पहिचान गर्नु आवश्यक छ आश्रय। समय बलवान् छ र जीवन नाशवान। तर जीवनप्रतिको हाम्रो कर्तव्य शाश्वत र निर्विकल्प छ।
सबै कुरा विनाशी र अनित्य छन्, तर कर्ममा सरिक भइरहनु जीवनको सनातन र नित्य कर्तव्य हो। कर्तव्यपालनको सिलसिलामा गल्ती हुनु स्वाभाविक हो। किन्तु त्यही गल्ती दोहोर्याउँदै जानु महान भूल हो। यति कुरा बुझिस् भने जीवन सहज हुन्छ।'
आश्रयले अविरल बालाई हेरिरह्यो। यी बा कहिल्यै विचलित भएनन्, कहिल्यै क्रोधित भएनन्। कहिले उद्योग खोल्ने, कहिले दुकान खोल्ने र कहिले ठेकेदारी खेल्ने छोरो जहाँ हात हाल्यो त्यहीँ असफल हुँदा पनि बाले हतास र निराश नहुनु भनेर ढाडस दिइरहे।
छोराले सालाहरुको सामुन्नेमा बाको सम्पत्ति थोरै भएको हुँदा प्रशस्त लगानी गर्न नसकेको भनी निन्दा गर्दा पनि यी बाले धैर्यधारण गरेर सहिरहे।
आश्रयलाई आज आफू सानो हुँदा बाले आमा बनेर हुर्काएको सम्झना भयो। युवा अवस्थामै पत्नी गुमाएका बाले भन्ने गर्दथे, 'अब मेरो एक मात्र आश्रय तैं होस् छोरा!' तर बाले कस्तो आश्रय पाए? आज अकस्मात आश्रयको हृदयमा बा बस्न आए।
उसले बाको अनुहारमा हेर्यो, बामा अझै पनि निराशा र हतासा थिएन। यस्तो प्रतीत हुन्थ्यो, बा जीवनका हरेक घात र प्रतिघात सहन गर्ने अद्भुत क्षमता राख्दछन्। बाको अनुहारमा कोरिएका कहिल्यै नमेटिने वार्धक्यका धर्काहरु एउटा जीवन्त इतिहासका साक्षी थिए।
बाले बढाए, पढाए र जीवनको गोरेटो देखाइदिए। तर छोराले गोरेटो पार गरेर जीवनको राजमार्ग फेला पार्नै सकेन। बाको सम्पत्ति छोराका लागि भाँडाकुटी खेल्दा खर्च हुने भात तिहुन जस्तै भयो।
खेल्दासम्म खेल्यो, खेल समाप्त भएपछि भर्याङभुरुङ छितर्यो, हिँड्यो। असल बाका छोरा पनि असल नै हुन्छन् भन्ने उक्तिलाई गलत साबित गरिदियो आश्रयले। बाले छोराको आश्रयको अभिलाषाले उसको नामै आश्रय राखेका थिए, तर छोरो उल्टै पचास वर्षको हुँदा पनि बाबुको आश्रयमा बाँचिरहेको छ।
आज कोसलनाथ आइसोलेसनमा छन्। एक हप्ताअघि आफन्तको घरको वैवाहिक कार्यक्रममा गएका थिए उनी। उनलाई फिटिक्कै जाने मन थिएन, तर आफन्तले साह्रै कर गर्यो। टाढै बसेर हेर्नुपर्ला भनेर करबलले गएका कोसलनाथ लसपस हुनबाट जोगिन सकेनन्।
वैवाहिक समारोहमा अनुशासनका सबै सीमा तोडिए। भाग्न खोज्दाखोज्दै पनि मास्क फुकालेका ठिटाहरुले बुढालाई घिच्च्याउँदै नचाए। बाजे घर फर्केर आफ्नै कोठामा सीमित भएर बसे। ज्ञानी र अनुशासित बुढाले कसैलाई आफ्नो नजिक आउन दिएनन्।
बुढालाई कोरोनाले समातिहालेछ। विवाहमा सामेल हुने पनि सबै संक्रमित भए। तलाउको माछो भए पो कुन कुहिएको छ भनेर जान्नु, मानवसागरमा को संक्रमित होला भनेर कसरी चिन्नु?
आज कोसल बाजेलाई कोरोना लाग्यो भनेर टोलभरि हल्ला छ। छिमेकीहरुबीच बुढाको छुकछुके स्वभाव र जोसुकैसँग गफिने बानीले गर्दा रोग सारेर आए भन्ने हल्ला चल्यो। विवाहमा आफू नगएर बालाई पठाउने छोरा-बुहारीले पनि उनले नै लापरबाही गरेको आरोप लगाए।
समाजमा कमजोर, वृद्ध, गरिब र अशक्तलाई खिसीट्यूरी गरेर उपहास गर्ने चलन कोसलनाथमाथि पनि लागू भयो। छिमेकीहरुले कोसल बाजेको न्वारान गरेर नयाँ नाम राखे, 'कोरोना बाजे।'
कोरोना बाजेको ढोका बन्द भयो। बिहान बेलुका टपरीमा राखेको खाना आउँछ। बाहिरबाट आवाज आएपछि उनी ढोका खोल्छन्। तबसम्म खाना पुर्याउन आएको मानिस अदृश्य भइसकेको हुन्छ।
उनी टपरी उठाई टेबलमा राखेर आफू टपरी टिप्न गएको बाटो र टपरी बिसाएको ठाउँमा स्यानिटाइजर छर्दै उल्टो पाइलो कोठाभित्र पस्छन्। छोरो आश्रय र बुहारी दिनमा एक बार झ्यालबाहिर आएर 'कस्तो छ?' भनेर सोध्छन्। उनको उत्तर हुन्छ, 'सब ठिक छ।'
यति सुनेपछि फर्केर जाँदै गरेकी बुहारीको मन्द आवाज सुनिन्छ, 'बर्बादै पार्नुभयो नि!'
कोरोना बाजे झ्यालभित्र उभिएर बाहिरतिर नियालेर हेर्छन्। बाटोमा एक दुई जना मानिस हिँडेको देखिन्छ। कोही उनको झ्याल नजिकै आएर 'हतास नहुनुहोला है बाजे' भनेर अघि बढ्दछन्। कुनै उच्छृङ्खल केटाहरू 'कोरोना बाजे! ब्या भोज कस्तो भयो?' भन्दै उपहास गरेर जान्छन्।
बाजेले यो उपहासलाई सहज रुपमा लिन्छन्। उनलाई आफ्नो समाज कस्तो छ र कता जाँदै छ भन्ने राम्ररी थाहा छ। उनलाई राम्ररी थाहा छ, समाजको उच्च स्थानमा विराजमान व्यक्तिहरू नै कतिसम्मका उपहासप्रेमी छन्।
बाजेका नातिनातिना बेलाबेलामा झ्यालबाहिर आएर परै उभिएर कुरा गर्छन्। नातिनी अनिन्दाको धेरै बोल्ने बानी छैन। तर नाति भने बोलक्कड र मजाकिलो छ।
एक दिन नातिले भन्यो, 'बा अब म पढ्दिनँ।'
बा- 'किन?'
नाति- 'नेता हुन पढ्नु पर्दैन रे। अब मैले इन्जिनियर बन्ने सपना त्यागिदिएँ। म अब नेता बनेर इन्जिनियरको गुरु हुन्छु। ल भन्नुस् त बा! इन्जिनियर हुनु राम्रो कि इन्जिनियरको मालिक हुनु राम्रो? आज बा नेता भएको भए अस्पतालमा बेड त पाउनु हुन्थ्यो।'
बा केही बोलेनन्। उनलाई महशुस भयो, नाति ठिक कुरा गर्दै छ।
बा चिया आफै बनाउँछन्। बेलाबेलामा तातो पानीको बाफ लिन्छन्। पढ्न गाह्रो हुने हुँदा युट्युबमा धम्मपद र गीता सुन्छन्। रेडियोले मानिसहरूको मृत्युको अंकगणित सुनाइरहन्छ।
राजनीतिक वृत्तका मानिसहरू को के गर्दैछ, कसले उद्घाटन गर्यो, को बिरामी भयो र को मर्यो भन्ने खबर आउँछ। सर्वसाधारण त जिउँदै पनि गुमनाम थिए र मर्दा पनि टाउको मात्र गणना हुन्छ। बा मनमनै प्रश्न गर्दछन्, आखिर यो देश कसको हो?
दिउँसोको समयमा उनका दुई जना छिमेकी आएर आ-आफ्नै घरबाट ल्याएको प्लास्टिकको कुर्सीमा झ्यालबाहिर बस्छन्। दानबहादुर पूर्व गोर्खा हुन्, मुक्तिनाथ पूर्व व्यापारी। दान बहादुर फरासिला र प्रष्टवक्ता हुन्।
उनले भनेका थिए 'तपाईं सिडिओ र के जाति विभागको हाकिम भाको मन्छे त होस्पिटलमा बेड नपाएर यो गत छ भने म जस्तो लाहुरेलाई कोर्ना लाग्यो भनी के होला?
हाम्रो देशको नेता नराम्रो भनेर फलाक्छ मन्छेहरु। जनता राम्रो भए पो नेता राम्रो हुन्छ! यस्तो कोर्नाको समयमा पनि आनुशासनमा नबस्ने जनतालाई कोर्ना नलागे कल्लाई लाग्छ? कुन दिन म पनि कोर्ना लाहुरे होला भनेर डर पो लाग्न थाल्यो हाकिम बाजे मलाई त।'
मुक्तिनाथ धनाढ्य व्यापारी थिए। अहिले छोराले कारोबार सम्हालेको छ। मुक्तिनाथलाई छोराको कारोबारप्रति कुनै गुनासो छैन, तर उसको अहं देखेर दिक्क छन्।
उनी भन्छन् 'धनी छु भनेर धेरै घमण्ड गरेको फिटिक्कै मन पर्दैन मलाई। बाहिर कुरा गर्दै हिडम् त आफ्नै आङ्को छारो के उडाउनु, कतै नभनम् त मन गह्रुंगो भइरहन्छ। अलि मिजासिलो बन्न सिक् बाबु भनेर सम्झाउँदा अहिलेको जमानामा भाउ नखानेलाई को गन्छ? भनेर मैलाई पढाउन थाल्छ। यस्तासित बोल्नुभन्दा बरु नबोल्नु ठिक भनेर परपरै बस्छु म त।'
दुई/तीन दिनपछि मुक्तिनाथ र लाहुरे आउन छाडे। कोरोनाबाजे आइसोलनमा बस्न थालेको बाह्र दिन पुगिसकेको थियो। ज्वरो आउन छाडे तापनि रातभरि खोकी लाग्न छाडेको थिएन। दिनानुदिन झनझन विकराल अवस्था रहेका खबर आइरहेका थिए।
बाजेले ऐना हेरे। दाह्री बढेर झ्यास्स भएछ। आँखा इनार जस्तै गहिरा भएछन्। उनले सकिनसकी दाह्री काटे। उनलाई महसुस भयो, अब सायद जाने बेला भयो। छोरो आश्रयले उभिएर बाबुलाई हेरिरह्यो। फेरि नाति आयो।
नाति अनन्य बाको हालत देखेर धर्धरी रोयो। उसले भनेको थियो, 'बा मलाई हजुरको काखमा बस्न मन लाग्यो। बा मलाई म सानै हुँदा जस्तै हजुरको कान र कपाल तान्न मन लाग्यो। म आउँछु बा, ढोका खोल्नुहोस्। मलाई कोरोना सर्दैन बा, मलाई सर्दैन। ढोका खोल्नुहोस् न बा!'
त्यो रात कोरोना बाजेका लागि ठूलो कहर बनेर आयो। उनमा कसैलाई बोलाउन सक्ने ताकत थिएन। सके तापनि बोलाउनुको कुनै प्रयोजन थिएन। कोही आए पनि गुहार पाउने गुन्जायस थिएन। आधा रातमा एम्बुलेन्सको जस्तै साइरन बजाउँदै एउटा गाडी आएर दश मिनेटमा फर्क्यो। फेरि तीन बजे अर्को गाडी आएर फर्क्यो।
अर्को दिन उनले बडो सकसले ढोका खोलेर भातको टपरी टिपे। एक गास पनि भित्र छिरेन। उनको मनोबल त उच्च थियो, तर शरीरले साथ दिन छाडेको थियो।
आज धेरै दिनपछि लाहुरे आए। उनको अनुहारको रंग फुंग उडेको थियो। त्यस्तो ठट्यौलो र सबैको मन बहलाउने लाहुरेको नूर गिरेको देखेर कोरोना बाजे अचम्म परे।
लाहुरेले भनेका थिए, 'हाकिम बाजे त साह्रै गल्नु भएछ त। दश दिन अगाडि मुक्तिनाथको छोराले घरमा पार्टी गरेको रहेछ। बाबुले हुँदैन भन्दा, यस्ता कोरोना सिँगानसँग बगेर जान्छ, हाच्छिउँ गरेर झारिन्छ भन्दै फुर्ती देखाएछ। गएको राति मुक्तिनाथ बिते। आर्मीको गाडी आएर लास लिएर गयो। परिवारका सबै सदस्य कोरोना लागेर ढलेका छन्।
अर्को एउटा उरन्ठ्याउलो केटो पनि गएको राति नै बित्यो। तपाईंलाई के छ कोरोना बाजे भन्दै उपहास गर्ने त्यो केटो तपाईंभन्दा अघि नै संक्रमित भएको रहेछ। मैले त मेरो परिवारलाई 'खबरदार केही गडबड गर्न पाउन्नस' भनेर थामेर राखेको छु। तर कति दिन? हेर्नुस् त हाकिम बाजे! टोलमा यत्रो घटना भयो तर केही गर्न सकिएन।
न कुनै सहयोग गर्न सकियो न त घाट जान सकियो। हाम्रा बाबुबाजे अरु केही गर्न नसके पनि मलामी कमाउनुपर्छ भन्थे, त्यो पनि गलत साबित भयो। हुँदा हुँदा लास परेको घरमा पनि कोही रोएको सुनिएन।'
साँझ पर्यो। कोरोना बाजेको ढोका बज्यो। उनले मुस्किलले ढोका खोलेर टपरी टिपे। झ्यालबाहिर छोरा बुहारी र नातिनातिना उभिएका थिए। भित्र उज्यालो भएको हुँदा सबैले बालाई देखिरहेका थिए। किन्तु बाहिर अँध्यारो हुनाले बाले कसैलाई पनि देखेनन्।
नाति धाराप्रवाह रोइरहेको थियो। नातिनी सुक्क सुक्क गर्दै विलाप गर्दै थिई। नातिनीले भनी 'बा! राम्रोसँग खाना खानुहोस् है, हजुरलाई केही हुन्न।'
बा आफ्नो मनलाई बलियो बनाएर बसेका थिए। बा रोएनन्। बाले मनोबलयुक्त स्वरमा भने, 'म खाना खाइरहेको छु। अहिले पनि खुब भोक लागेको छ। मेरो चिन्ता नगर, म सबै खाना खाएर मात्र सुत्नेछु। तिमीहरू सबै सुत्न जाओ, बरु बिहान अलि छिट्टै उठ्नू।'
बाले खानाको टपरी बिहानको टपरीमाथि राखे। उनलाई सकस भइरहेको थियो। असह्य शारीरिक पीडा र सास तान्न कठिन भइरहेको अवस्थाबीच उनले महामृत्युन्जय मन्त्र जपे। बोली फुट्न नसकेपछि मनमनै विष्णु सहस्रनाम जपे।
अनि ओछ्यानमा पल्टेर मोबाइलमा जीवनको नश्वरताबारे बुद्धवचन सुन्न थाले। बा कतिखेर निदाए उनी स्वयंलाई थाहा भएन।
भोलिपल्ट फेरि ढोका बज्यो, तर ढोका खुलेन। छोरो आश्रय झ्यालबाहिर आएर ‘बा, बा…’ भनेर बोलाउन थाल्यो, किन्तु बा बोलेनन्। फेरि नातिले बोलायो तर बा बोलेनन्।
त्यसैबेला बाहिर एम्बुलेन्सको आवाज आयो। नाति अनन्यले भन्यो, 'बा अस्पतालमा बेड पाइयो रे! बा उठ्नुहोस् न! अस्पताल जान ढिलो भयो।'
परन्तु बा उठेनन्। नाति त्यहीँ थचक्क बसेर दुवै हात पुर्पुरोमा राखेर रुन थाल्यो। बाहिरको उज्यालोले गर्दा भित्रको दृश्य प्रष्ट थिएन। झ्यालमा टाँसिएर हेर्न पनि खतरा थियो।
आश्रयले टर्च बालेर हेर्यो। बाको पार्थिव शरीर फर्समा आराम गरिरहेको थियो। तर बा गइसकेका थिए।