सरकार अत्ति भो, तिम्रो बजेटमा विभेद
शिक्षक पनि त हुन् राष्ट्रसेवक, खै तिम्रो चेत?
सयौँ शिक्षक कोभिडले मरे, संक्रमितको नाघ्यो सीमा
कान बहिरो अनि आँखा बन्द हो? खै स्वास्थ्य बिमा?
इसिडी शिक्षक, कर्मचारी अनि लेखापाल
न्यूनतम परिश्रम केन्द्रबाटै दिन, किन यत्रो जाल?
लाखौँ शैक्षिक जनशक्ति बेरोजगार छ अहिले
राजनीति व्याप्त आयोगमै विज्ञापन खुल्छ कहिले?
गुमेकै हो संवेदना, हुँदा पनि शिक्षकको बेहाल
खै दुर्घटना बिमा सरकार? खै शिक्षक अस्पताल?
गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षा
सेवा सुविधामै विभेद! अत्ति भो तिम्रो उपेक्षा
बन्द गर सरकार तिम्रो, शिक्षक प्रतिको कुदृष्टि
कि अभिसाप हो र तयार गर्नु, देश हाँक्ने सृष्टि?
बुझ्दै बुझ्दैनौ कि सरकार? बुझेर नि लाचार
कहिलेसम्म सहने शिक्षकले, विभेद अनि अत्याचार?
हातमा हात जोडौँ अनि काँधमा काँध
विभेदको विरुद्धमा बोलौँ, उचालौँ कलम एक साथ
बहिस्कार गरौँ झोले शिक्षक नेता, आत्मसम्मान जगाउँ,
बन्द गरौँ आपसी भिडन्त, मिलेरै जग्मगाउँ।