अक्सिजनलाई ज्यानभन्दा
महङ्गिने रहर छैन रे
यमराजलाई श्मशान हेर्दै
हाँस्ने रहर छैन रे
काललाई पनि यति कठोर
बन्ने रहर छैन रे
लासलाई पनि बिना कात्रो
जल्ने रहर छैन रे!
आर्यघाट एकछिन टोलाउँदै थियो
शवले पनि मलामी बोलाउँदै थियो
तर अहँ त्यहाँ
न गंगाजल थियो, न फूलले देख्यो
न शङ्ख बज्यो, न तुलसीले छोयो
जिन्दगी मृत्युदेखि हाँस्दै थियो
मरेको लास फेरि पनि मर्दै थियो
ए सक्नेहरु हो, अब त बन्द गर न
कति हेर्छौ यो बिना शोकको मरण?
हजारौँ रोदनको बीचबाट
एक्लै भद्दा हाँसो हाँसेको सुन्दा
लाज पनि आफैँसँग लजाउन थालेछ
अस्पतालमा बिस्ताराको सट्टा
घाटमा चिता र दाउरा थपेको देख्दा
डर पनि आफैँसँग डराउन थालेछ।
तिम्रो सत्ताको खेलमा आज
सयौँको बली चढेको देख्दा
कसरी निदाउन सक्छौ तिमी
सयौँ सपना निदाको देख्दा
फर्किएर सभ्यतालाई एकचोटि त हेर
अझै कलंकको टीका लाउनेछौ एकफेर
यति कुरा नबिर्सनू,
श्मशान तिम्रो लागि पनि उही हो
बस् कामना छ, तिमी मर्दा
तिम्रो शोकमा नहाँसोस् दुनियाँ यो।