हिउँद सकिएर वर्षायामले छोएको आभास भइरहेको थियो जताततै। जाडोले बिदा लिइसकेको थियो। गर्मीको छेक छन्द भने परिसकेको थिएन।
जाडो हटे पनि गर्मी भने खास हुँदैन रहेछ यहाँ। साँच्चै स्वर्गीय आनन्दको ठाउँ रहेछ। आज शनिबार। अफिस छुट्टी भएकोले मैले पनि कतै घुम्न जाने विचार गरें तर कता जाने भन्ने निश्चित भने भएको थिएन।
बिहान आफ्नो दैनिकिपछि एक कप चिया पिएर निस्किएँ कोठाबाट। कोठामा म एक्लै बसेको पनि करिब एक वर्ष हुँदैथ्यो। जागिरेको नाम लागेकोले सरुवा भएर यहाँ आइपुगेको थिएँ।
मधेसको गर्मीले निकै गलाएको रहेछ मलाई। हुन त म पहाडमा जन्मिएको मान्छे, पहाडको हिलो धुलोसँग लडाइँ गर्दै हुर्किएर पच्चिसौं वसन्त पार गरेको। तर उन्नाइस/बीस वर्षको मधेशको बसाइले मेरो मन मस्तिष्क गलेको रहेछ।
फेरि त्यहाँको बसाइले मेरो थकान मेटाइदिएजस्तो आभास भयो मलाई। म त्यसै त्यसै फुरुङ्ग भएको थिएँ। मसँगै मेरो मन पनि उफ्रिन खोजेजस्तो लाग्थ्यो कहीलेकाहीं। तर त्यो क्षण त्यति लामो समय टिकाउन सकिनँ मैले।
मन त्यसै त्यसै बहकिन थालेको थियो केही दिन अगाडीदेखि। मेरा नयनहरु भरिला भइरहेका थिए। मूल फुट्न मात्र बाँकी थियो। मेरो मन कुँडिएको थियो।
जताततै हत्या, हिंसा, बलात्कारका घटनाहरु दिन प्रतिदिन बढिरहको सुनिन्थ्यो। सम्बन्धित निकाय कानमा तेल हालेर सुतेको जस्तो थियो। सबैतिर दुःख पीडाका स्वरहरु मात्र सुनिन्थ्यो। म गन्तव्य विहीन भए पनि रोडमा निस्किएँ।
पहाडको बाटो। त्यति व्यवस्थित भइसकेको थिएन। तर गाडीहरुको ओहोर दोहोर भने ठाउँ अनुसार बाक्लै थियो भन्दा फरक पर्दैनथ्यो। बोलेरो जीपहरु, टाटा सुमो तथा ट्याक्टरहरु कुदिरहेकै देखिन्थे। बसहरु भने फाट्टफुट्ट मात्रै कुदेको देखिन्थ्यो।
पहाडको बाटो हुनाले बसलाई त्यति सहज नभएरै होला। मोटरसाइकलको त लर्को नै लाग्थ्यो। टिपरहरु पनि टाँटाँ टुँटुँ गर्दै कुदिरहेकै देखिन्थे बाक्लै। सल्लेरीको आवाडाँडामा म त्यतिकै टोलाएर उभिइरहेको थिएँ।
त्यतिकैमा मेरो गोजीमा भएको मोबाइलको घण्टी बज्यो। मलाई मोबाइलको घण्टी पनि अलिक झर्को लाग्न थालेको थियो। चुपचाप सुनिरहें मात्र। फेरि बज्यो, दोस्रो, तेस्रो पटकसम्म मैले आवाज सुनिरहें मात्र।
चौथो पटक मोबाइलमा फेरि घण्टी बज्यो। मैले हारें यस पटक। मोबाइल हेरें। नन्दुको फोन रहेछ। फोन उठाएँ- ‘हेल्लो!’
‘हेल्लो! फोन उठाउन पनि कति गाह्रो हो’ उतापट्टिको आवाज थियो।
‘म बाहिर थिएँ त्यसैले हो’ मैले ढाँटिदिएँ उसलाई।
‘अनि आजको योजना के छ त?’ नन्दुले सोध्यो।
‘खास केही छैन’ मैले भनेँ।
‘ओखलढुंगा झर्न त’ नन्दुल भन्यो।
‘खै’ मैले भनेँ।
‘के हो खै भनेको, खाना यतै खाने गरी झर्न यार। कति भयो भेट नभएको, भरे पनि सँगै बस्नु पर्छ है’ उसले भन्यो।
‘ल, ल’ मैले भनेँ।
उसले फोन राखेकै थिएन। मैले नै फोन काटिदिएँ। अब भने मेरो यात्राको गन्तव्य तय भए जस्तो लाग्यो। ओखलढुंगा त म यस अगाडि पनि पुगेकै हो। घर आउने जाने बाटो नै मेरो ओखलढुंगा। तर आज अलिक भिन्न महशुस गरें मैले।
नन्दुसँगको तीन/चार वर्षपछिको भेटघाटको अवसर थियो त्यो। तीन चार वर्ष अगाडि हामी एउटै अफिसमा थियौं। ऊ मेरो मिल्ने साथीहरु मध्येकै थियो। उसको बसाइ झापातिर थियो भने मेरो सुनसरीतिर। फोनमा कहीलेकाही कुरा भए पनि सरुवा भएपछि भने हाम्रो भेट भएको थिएन। मैले पनि आज उतै जाने विचार गरें।
बाटोमा निकैबेर कुर्नु पर्यो गाडीको लागि। अरु दिन त छिटै गाडी पाइन्छ जस्तो थियो। तर आज मलाई निकै समय लागे जस्तो भयो। पर्खाइ पट्यारलाग्दो हुने भएर हो वा निकै समय नै कुरें थाहा हुन सकेन मलाई। बल्ल एउटा सुमो आयो।
मैले इसारा गरें। गाडी रोकियो। गाडीको अगाडिको सिटमा दुई जना थिए भने बीचमा चार जना। पछाडिको मात्र एक जना बाहेक अरु सिट खाली रहेछ। म गाडी चढेर पछाडिको सिटमा जानुको विकल्प नै थिएन।
हामी दुई जना भयौं। गाडी एकछिन अरु यात्रुको पर्खाइमा बस्यो। तर साह्रै आशा भने थिएन। १५-२० मिनटको पर्खाइपछि टाँटाँ टुँटुँ गर्दै आवाडाँडा छोड्यो सुमोले। दुई घुम्ती पार गरेपछि सरासर अगाडि बढ्यो जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्कको बाटो भएर।
म आफ्नै सुरमा थिएँ।
‘दाइ कहाँ जाने तपाईं?’ मेरो सहयात्री साथीको आवाज थियो त्यो।
‘म त ओखलढुंगा। अनि तपाईं?’ मैले भने।
एकछिन चुप लागिन् तिनी टोलाए जस्तो भएर। अलिक भावुक भएजस्तो लाग्यो मलाई। म उनको अनुहार निहालिरहेको थिएँ। उनको आँखामा आँसु टिल्पिलाएको प्रष्टै देखिन्थ्यो।
म पनि गम्भीर हुन पुगें। उनले किन त्यसो गरेकी होलिन्! उनको मनमा ठेस पुग्ने गरी केही भए जस्तो त लागेको थिएन मलाई त्यसबेला। म अन्यौलमा परें। के भन्ने के नभन्ने। बोल्ने नबोल्ने। सकस पर्यो मलाई।
एकछिनपछि सलको सप्कोले आँसु पुछिन् र त्यही सललाई दुई हातले खेलाउँदै भनिन्- ‘थाहा छैन दाइ, खै कहाँसम्म जाने हो। हिँड्दै जाँदा जहाँ पुगिन्छ। ठेगानै छैन।’
‘त्यस्तो पनि हुन्छ र? निश्चित ठाउँ बिनाको गन्तव्य? कहाँ जाने एकिन नभई गाडी चढिन्छ र? भावुक भएजस्तो लाग्यो त?’ मैले भनें।
एकछिन रोकिएर बोलिन् उनी- ‘हो दाइ, म अलिक भावुक भएछु। मलाई पनि त्यस्तै लाग्थ्यो पहिले पहिले। गन्तव्य विहीन यात्रा हुन्न। हुँदै हुन्न। तर अहिले अलिक फरक बुझें दाइ मैले। तपाईंलाई देख्दा मलाई मेरो दाजुको याद आयो।’
फेरि सलले आँसु पुछिन् आफ्नो दुवे आँखाको। उनी थप्दै गइन्- ‘आजभन्दा सोह्र/सत्र वर्ष पहिलेको कुरा। मेरो दाजु पनि तपाईं जस्तै हुनु हुन्थ्यो। यसैगरी ढाकाटोपी लगाउनु हुन्थ्यो। उचाइ पनि झन्नै तपाईंसँगै मिल्थ्यो। अनुहार पनि कता कता तपाईंसँगै मिलेजस्तो लाग्यो मलाई।
उहाँ त्यसबेला काठमाडौंमा स्नातक प्रथम वर्षको परीक्षा सकेर घर आउनु भएको थियो। घर आएको तीन/चार दिनपछिको एक साँझ खाना खाएर यसो बाहिर निस्कनु भएको थियो। निकैबेरसम्म पनि फर्किएर आउनु भएन। निकै खोजी भयो। खै कसले हो अपहरण गरेर लगेछन। अहँ! कही पनि पत्ता लगेन दाइको।
तीन/चार दिनपछि रेडियोले समाचार भन्यो, दोहोरो भिडन्तमा केही आतंककारीको मृत्यु। त्यसको भोलिपल्ट क्षतविक्षत लास हाम्रो घरमा आइपुग्यो। समाचार सुनेको दिनदेखि आमा बेहोस हुनु भयो। त्यस घटनाको सात दि पछि आमा पनि कहील्यै नफर्कने गरी जानुभयो हामीबाट। हाम्रो स्वर्ग जस्तो परिवार क्षतविक्षत भयो।’
उनी एकछिन रोकिइन्। सुँक्क सुँक्क गरिन्। फेरि भन्दै गइन्- ‘घटना घटेको समयमा म ७ कक्षामा पढ्थें। अब हामी बुवा छोरी मात्र रह्यौं। म स्कुल जान्थेँ पढ्न। बुबा पनि शिक्षण पेशामा हुनुहुन्थ्यो। मैले एसएलसी पास गर्न दुई वर्ष लगाएँ। त्यो घटना मेरो आँखा अगाडि नाँचिरह्यो। पढाइ सपार्न सकिनँ।
आमाको मृत्यु भएको ४ वर्षपछि बुबाले अर्को विवाह गर्नु भयो। म खुसी भएँ। किनकि मेरी ममीको रुपमा एक नारी हाम्रो घरमा भित्रिनु भएको थियो। बुबाको दोस्रो विवाह भएपछिको वर्ष मात्र मैले एसएलसी पास गरेकी थिएँ।
सुरुसुरुमा त घर राम्रै थियो। मेरी सानिमा र मेरो उमेर ५/६ वर्षको फरक थियो। तर केटाकेटी स्वभावको देखिन थाल्नु भयो उहाँ। मलाई निकै वचन लाउनु हुन्थ्यो। गाली गर्नु हुन्थ्यो। म उहाँलाई केही भन्दिनथें। उहाँ त मेरी आमाको स्थानमा हुनुहुन्थ्यो। मैले सहिरहें। बुबालाई पनि टेर्न छोड्नु भयो २/३ वर्षपछिदेखि।
मेरा बारेमा भए नभएका कुरा बुबालाई लगाएर मलाई सधैं नराम्रो देखाउनु हुन्थ्यो। मलाई त्यसरी माया ममता गर्ने मेरो बुवा पनि सानीमाका कुरा सुनेर गाली गलौच गर्न थाल्नु भयो। तर पनि म बसिरहें। पढाइ पनि बिग्रियो।
१२ मा मेरो पढाइ निकै वर्ष रोकियो। पढ्ने समय र वातावरण भएन। कति दिन त आँसु पिएर बाँचेँ म। कति रात आँसुमै डुबेर बेते मेरा।’
उनी फेरि रोकिइन्, सुँक्क सुँक्क गरिन्। सलले आँसु पुछेर फेरि भन्न थालिन्- ‘दाइ, यो मनमा गाँठो परेर बसेका मेरा पीडाका भेलहरु आज तपाईंलाई भेट्दा उर्लिएर बहे। मैले नियन्त्रण गर्नै सकिनँ।
म त कस्ती मान्छे, पहिलो पटक भेट्दैमा सबै कुरा भनिहाल्ने। तर आजमात्रै हो दाइ यस्तो भएको।’
उनले आफ्नो ब्याग खोलेर आफ्नो दाजुको फोटो देखाउँदै भनिन्- ‘यी हेर्नोस् त। झन्नै झन्नै तपाईं जस्तै।’
फोटो मैले हातमा लिएर नियालें। यति बेलासम्ममा मेरा आँखा पनि टिलपिल टिलपिल गर्न थालिसकेका थिए। आँखामा आँसु भरिएकाले त्यो फोटो राम्ररी हेर्न सकिनँ। मधुरो देखिएको थियो त्यो। फोटो मसँग बोल्न आटे जस्तो लाग्यो मलाई।
गोरो वर्ण, ठूलो निधार, काला ठूला आँखा, दौरा सुरुवाल कोटमा ढाकाटोपी लगाएको चटक्क मिलेको अग्लो शरीर साँच्चै आकर्षक थियो त्यो तस्बिर। एकछिन तस्बिर नियालेपछि मैले त्यो तस्बिर उनैलाई फिर्ता दिएँ।
उनले केहीबेर टोलाएर हेरिन् र एकछिन छातीमा टाँसेर आँखाबाट आँसु बगाइरहिन्। केहीबेरपछि आँसु पुछिन् र फोटो पहिलाकै ठाउँमा राखिन्। यतिबेरसम्म गाडी सोलुखोला पार गरेर तिङ्ला रमिते हुँदै सोलुखुम्बु र ओखलढुंगाको सीमा पार गरिसकेको रहेछ।
‘ल चिया खाउँ है एकैछिन’ गाडीका चालकको आवाजले झसंग भएँ म। सायद उनी पनि त्यस्तै भइन् जस्तो लाग्यो। अरु यात्रुहरु सुमोबाट ओर्लिएर चिया खाने मनसायले होटलभित्र छिरे ठाँडेको होटलमा।
उनले पनि खासै मन गरिनन्। उनको पीडाले मेरो मनमा आँधिहुरी चलिरहेको थियो, मन भरिएको थियो। निस्कन मन लागेन।
‘दाइ, मेरो त चिया खाने बानी नै छैन, तपाईं नओर्लने?’ उनले भनिन्।
‘तिम्रो बानीसँग संयोगले मेरो बानी पनि मिल्न पुगेछ’ मैले भनें।
मैले त कहीलेकाही चिया खाने गरेको थिएँ। तर आज भने मन मरेर आएको थियो।
उनी अलिक मुस्कुराइन्। उनको अनुहार उज्यालो भएर आयो। कस्तो अचम्म, अघिसम्मको उनको मलिन अनुहार, एकैछिनमा आकाशमा बादल फाटेजस्तो भएर आयो। नारी कति महान छन्। केही पहिलेको मलिन अनुहार आँसुले भरिएका आँखा, तर एकैछिनपछिको स्निग्न मुहार, चञ्चल नयन, लजालु स्वभाव।
लाग्थ्यो तुँवालो हटेपछिको धरती आकाशको मिलनमा हुने सफा क्षितिज। नारी कति महान् छन। उनी अलि लजाए जस्तो गर्दै झ्यालबाट बाहिरको दृश्य नियाल्न थालिन्। टिं टिं गर्दै गाडीले आफ्नो गति लिइसकेको थियो।
परपर डाँडामा घामले आफ्नो प्रभाव फैलाउन थालिसकेको थियो। सफा र सुन्दर देखिन्थे ती डाँडाकाँडा र पाखा पखेराहरु। कतै कतै घरका छानाहरु देखिन्थे पातला। साँच्चै मन लोभ्याउने खालका थिए ती दृश्यहरु।
गोरो वर्णकी उनको रुपरंग दाजुको फोटोसँग ठ्याक्कै मिल्थ्यो। गोलो मोहोडा, ठूलो निधार, साना तर चञ्चले आँखामा लज्जा झल्कन्थ्यो। मिलेको जिउडाल, जिउमा मिल्नेगरी लगाएको कलेजी कुर्ता सलवार। नाकको फुलीले झुल्के घामको झझल्को दिएको आभास हुन्थ्यो। कानमा टप लागाएकी थिइन् भने कालो लामो केश थियो।
अगाडि छाडिएको केशको केही भागसँग उनका हातहरु लुकामारी गरिरहेका थिए। उनी साँच्चै राम्री थिइन्। उनको जिउडाल र रुप हेर्दा लाग्थ्यो कुनै सिपालु कर्मीले निकै परिश्रम गरेर बनाएको कलाकृति हो। उनको बनावटमा कुनै कसर बाँकी थिएन।
‘रमाइलो डाँडा झर्ने को-को हुनुहुन्छ?’ गाडीको स्टाफले भन्दै थिए।
उनीसँगको कुरा सकिन पाएकै थिएन। मन भारी थियो तर पनि नियतिले हामीलाई बीचैमा छाडिदियो। मेरो ओर्लने समय आइसकेकोले मैलै बाई गरें।
उनले पनि हात हल्लाइन् तर बोली फुटेन। गाडीले आफ्नो गति लियो। उनको कालो केश झ्यालबाट बाहिर हावासँगै बहकिरहेका थिए एकतमासले। मैले बहकिएको केश हेरीरहें हेरिरहें।