प्रेमले प्रेमका गीत लेखिए जस्तो
प्रेमभित्र संसार देखिए जस्तो
प्रेमकै डोरीले संसार बाँध्न मन लाग्ने
प्रेमलाई साक्षी राखेर जीवन साँध्न मन लाग्ने
यसपटक म त्यस्तो प्रेमको कुरा गर्दिनँ
त्यतिविधि प्रेम नाप्न पनि सक्दिनँ
त्यसैले, कुरा अलि फरक छ प्रिया।
अरुको प्रेम,
बगैँचाबिनाको गुलाफमा फुल्छ,
आकाशका तारासंग डुल्छ
हाम्रो प्रेम
दिनदहाडै बल्छ
दियो जले झैं जल्छ
अग्लिएपछि ढल्छ
होचिएपछि गल्छ ।
प्रिया,
दुःख नमान्नू,
साहुको ऋणलाई जति प्रेम छ
त्यति तिमीलाई छैन
छोरा-छोरीको भोकलाई जति प्रेम छ
त्यति तिमीलाई छैन
प्रेम तिमीलाई छैन प्रिया!
प्रेम आजभोलि बाध्यताका झाङहरुमा लुकेको छ
प्रेम आशाका बगरहरुमा सुकेको छ
तिम्रो धोती चोलीलाई प्रेम गर्दागर्दै
छोराछोरीलाई
हुन्छ र खाउँला भनी
आशाको कचौरामा प्रेम भर्दाभर्दै
अहिले प्रेम रित्तिएको छ
प्रेम गर्दागर्दै सिद्धिएको छ।
कुरा अलि फरक छ प्रिया!
तिमी,
माटोको सिन्दूर लगाएर प्रेम गरेकी मान्छे
म,
पसिनाको पौडी खेलेर प्रेम भरेको मान्छे
हामी दुवैमा एउटै मूल्य छ प्रेमको
तिमी मान प्रिया,
प्रेम आर्जन हो, खरिद गर्न मिल्दैन
प्रेम जिन्दगीको ब्याज हो ,चुक्ता गर्न मिल्दैन
र त प्रेम भर्पाइ, तमसुक र सापटीहरुमा पनि चल्दैन ।
प्रिया, भो, विरोध नगर
त्यो प्रेमको कुरा पनि नगर
तिमीलाई थाहा छ,
प्रेम, देश विदेश घुम्छ
प्रेम बैंक हो
प्रेम क्यासिनो पनि हो
त्यसले झुक्याएर सम्बन्धहरुमा माया छर्छ
र सिउँदो भरिदिन्छ
प्रेम धोका हो
प्रेम वासनाको लेखाजोखा हो
त्यसले जिस्काएर मनहरुमा बलात्कार गर्छ
र सिउँदो पुछिदिन्छ।
त्यसैले,
कुरा अलि फरक छ प्रिया!
म तिम्रो सपनालाई प्रेम गर्छु
प्रेम तिम्रो रगत र जीवनलाई गर्छु
प्रेम तिम्रो आशा र योजनामा छ
प्रेम,
तिमीले फेर्ने श्वास
र तिमीले फुक्ने अँगेनामा पनि छ
त्यसैले कुरा अलि फरक छ प्रिया!