हाम्रा पालामा परिवार नियोजन भन्ने थाहै पाइएन
मेरा एघार भाइ छोरै छोरा जन्मे
आज म दमले थला परेको सात वर्ष भइसकेछ
आमालाई यसो ख्याल गर् है भनेको
खाली काममा दौडिन्छ
उता अमेरिकामा भएका डाक्टर छोरा-बुहारी
बुवा आफ्नो र आमाको राम्रो ख्याल गर्नु है भनेर भानिराख्थे
कति माया छ उनीहरुलाई पल पलमा भनिराख्छन्।
मकै छोड्याउन सक्थी, टपरी गाँस्न सक्थी
कम्मर माथिको सबै अंग चल्ने
दिशा पिसाब आको भने थाहै पाउँदैन थिई।
खाजा बनाएर राख्देको छु, चिया थर्मसमा छ भन्थ्यो
भित्र लिन गाको, बाहिर बुढीलाई व्यथाले च्यापेछ
लामो सास तानेर बुढा...भन्थी
त्यही शब्द अन्तिम भयो, बुढीले प्राण छोडी।
घरमा एक्लै थिएँ, वरिपरिका छिमेकीहरु आइहाले
यो कुलंगारका जोडी त्यही दिन हल गोरु लिएर
पारि हरि साहुको खेत जोत्न गएछन्
यसो घरमा के-कस्तो भइरहेको छ ख्याल गर्न पर्दैन!
कुलंघार…
अहिलेसम्म एउटा मोबाइल किनेर बोक्न सकेको छैन तेस्ले
विदेशमा भाको छोरा बुहारीसँग गफ गर्न पर्यो
एउटा मोबाइल किनेर ल्याइदे मलाई भनेको
बल्ल बल्ल एक महिनामा ईमो, भाइबर चल्ने ल्याइदिएछ
चौतारा मुनिको बिर्खेले भनेपछि बल्ल थाहा भयो
बुहारीलाई नाकको फुली बेच्न लगाएर ल्याइदिएको रैछ!
विदेशका छोरा बुहारीले
बुवा तपाईलाई महँगो खालको आइफोन किन्देका छौँ
दुई वर्ष भयो, किन्देको नेपाल आउने कोही नपाएर
पठाउन पाइएन भनेर गुनासो गर्छन्।
सात समुन्द्रपारि विदेशमा भाको छोराबुहारीले
उत्तिखेरै आमा जानुभएछ भन्दै दुःख माने
अर्काको देशमा छौँ, आउन खोज्दा खोज्दै नि पाइएन भने
फेसबुकमा फोटो हालेर हामीलाई परेको दुःख साट्न हुन्थ्यो
केही छैन बुवासँगै नहुँदा दुःख लाएको छ भनेर फोन काटे
विचरा विदेशमा छोरा बुहारीलाई कति चिन्ता पर्यो होला
माया गर्नेको छुट्टै कुरा हुन्छ नि।
यता यो कुलंगारलाई कसले खेतमै सुनाइदिएछ
बुढाबुढी नै एक घण्टा खेतमै ढलेर बेहोस् भए रे
थुक्क नालायक…!
घरमा यो हाल भएसी दौडेर गोरु छोडेर आउन पर्दैन?
मेरो साइँलो छोराको जापानमा आफ्नै होटल छ
साठी जना त कामदार मात्रै छन् रे
ससुराली गाउँका पनि सबैलाई रोजगार दिएको छ रे
६ महिना अघि मात्र जापानकीले आमालाई फोन गरिरैछे
आमा हजुर बुढी हुनु भो, स्वास्थ्य कस्तो छ?
जहिलेपनि सपनामा आमालाई देख्छु
हजुरलाई तेल लगाएर मालिस गरिरहेको देख्छु भन्थी रे
जेठाजुलाई पनि साउदीतिर भिसा लगाउन भन्नुस् भन्थी रे
तै नि मान्छकी भनेर पल्ला गाउँको मुखियालाई भन्न लाको
बुढा भाका बा-आमालाई छोडेर विदेश जान्न भनेछ
त्यसकी बुढीले नजा विदेश भनेकी होली नि, के जान्थ्यो!
कस्तो कुलंघार जन्मेछ यो!