बासुदेव बाजे अचेल बेकामे जसरी बस्न रुचाउँछन्। बुढालाई कसैले केही काममा बोलाउँदा पनि जान त्यति जाँगर गर्दैनन्। बुढेसकाल लागेछ भनौँ भने दिनदिनै छ बजे उठेकै हुन्छन्। दूध लिन पनि अरुभन्दा चाँडै डेरीमा पुग्छन्।
डेरीवालाले 'बा आउनुपर्दैन, हामी घरमै पुर्याइदिन्छौँ नि' नभनेको पनि होइन तर बुढालाई बिहान हिँड्नुपर्ने रे! आज बा ४ बजेदेखि नै ब्युझिएका छन्। खाना केही नमिल्दो भयो कि? हिजो राति नुन चर्को परेको पनि हुन सक्छ।
पानी कम खाने बानीले पनि बुढालाई छटपटी भएको हुन सक्छ तर कसैलाई केही भनेनन्। आज साढे पाँच बजे नै बिस्तारा छाडे। ट्रयाक-सुट लगाएर मर्निङ वाक हिँडें भन्दै लागे। एकछिन हतार हतार गरी पार्कमा डुलेपछि हस्याङफस्याङ गर्दै कान्छा साहुको पसलनेर पुगेर रोकिए।
'ए कान्छा! कान्छा साहु!'
'साहुजी त हुनुन्न, बिहानै तल्लो गाउँ जानुभको' भित्रबाट साहुनी बोलिन्।
'यो कान्छा पनि काम नलाग्ने भैसक्यो। झन् हिजै त्यस्तो नबिर्सी काम गरेस् है भनेर सम्झाको... कुन बेला आउँछन् त?'
'पख्नुस् है बा, म फोन गर्छु।'
'पाँच मिनेटमा आउनुन्छ रे, एकछिन बस्नुस् न।'
पाँच मिनेट भनेको मान्छे पन्ध्र मिनेट हुँदा पनि आउँदैनन्।
'अरु दिन भको भए बुढा सन्किएर हिँडिसक्थे होला, आज घाम कताबाट उदायो होला?' साहुनी मनमनै सोच्दैछिन्।
यतिकैमा कान्छा साहु आइपुगे।
हालचाल केही सोध्न नभ्याउँदै बा बोलिहाले- 'मेरो सामान तयार पार्नु भो त?'
'आजलाई भन्नुभको हो र बा?'
'तपाईं पनि भुलक्कड हुनु भो साहुजी, आजै त हो नि।'
'ला! हो र, मैले त भोलि भन्ठानेको, कस्तो बिर्सेछु। यो मंसिरको चिसोमा के बसिराख्नुन्छ र? दिउँसो म घरमै ल्याइदिउँला नि बा।'
'नाई, म अहिल्यै लगेर जान्छु। तपाईंलाई कति टाइम लाग्छ, गर्नुस्' बुढाले अड्डी कसे।
एक घण्टा कुरेरै भए पनि आफ्नो सामाग्री तयार गर्न लगाए, तयार भएपछि नियालेर हेरे। साढे पाँच बजे घरबाट निस्केका बा साढे आठ हुँदा बल्ल कान्छा साहुका घरबाट निस्कने सुरसार गर्दैछन्।
मख्ख पर्दै साहुलाई पैसा थमाएर बा घरको बाटो लागे।
'थाहा छैन आज के भाछ बुढालाई, बिहानै गाँजा ताने भनुम् भने त्यस्तो मान्छे त होइनन् फेरि!' साहुजी वाल्ल परे।
आजको दिन नै राम्रो होला, हावा नै राम्रो होला। त्यही भएर त बाटोमा देखिने जति सबैलाई बाजे खुसी देख्छन्, सबैको मन हलुङ्गा देख्छन्। बाजे घरमा पुग्नासाथ बुहारीले भनिन्, 'बुवा आज डेरीवालाले दूध ल्याइदिसक्यो है, बा कता जानुभएछ भनेर पनि सोध्दै थ्यो।'
'बा, आजभोलि बुढो हुनुभो, केही याद नै हुन्न बालाई' नातिकेटो बालाई जिस्काउँछ।
बा पनि सोच्छन् 'अस्ति फुटबल ल्याइदिन बिर्सेको, अझै ठुस्किराजस्तो छ।'
'ल्याइदिन्छु हौ, ल्याइदिन्छु तेरो फुटबल। एकपटक के बिर्सेको थिएँ, बालाई बुढो भन्छ' भन्दै बा आफ्नो रुमतिर लागे।
यसो मोबाइल हेर्दै 'कति भैएछ त २११९ माइनस... ६८ को त भैएछ। के बुढो भन्च मलाई।'
'याद हुँदैन रे मलाई? बुढो भको भए त केही याद नहुनुपर्ने नि'
कोठाको एउटा कुनामा बाजेको आफ्नै मन्दिर छ। मन्दिर भन्छन् बा, तर एउटा बाकस हो। त्यसभित्र के-के छन्। एउटा कपडाको सानो पोका छ। एकदिन नातिले सोध्यो, 'त्यो के हो बा?'
'त्यसलाई दर्शन गरेर राख्, घरमा लक्ष्मी पसेको दिनको याद हो त्यो।'
'चामलजस्तो छ, बा पनि जेपिटी भन्नु हुन्छ' भन्दै नाति तल झर्यो।
'याद... बुढो भएको भए त मलाई धेरै कुरा याद नहुनुपर्ने।'
'तिमीले ५० पानामा समेटेका मेरा कुराहरुका अर्थ याद नहुनुपर्ने। तिम्रो हरेक मुभ याद नहुनुपर्ने। तिमी खुसी हुँदाका तिम्रा आँखा, तिमी दुःखी हुँदाका तिम्रा गह, मलाई जिस्काएर मेरो अगाडि हिँड्दाको तिम्रो स्वाएग्गर, तिमी विस्तारै हिँड्दाको तिम्रो मुभ,
हतार हुँदाको खुट्टाको चाल, मलाई देखेपछिको तिम्रो आँखाको चमक, मलाई नछोड है भन्दाका तिम्रा अधर, काठमाडौं मलमा माइकल ज्याक्सनवाला मुभ, मनका ज्वारभाटाहरुलाई सम्हालिदिनसक्ने आँखामा आँखा जुधाएर हेर्दाको त्यो नशा, म बुढो भको भए त मलाई याद नहुनुपर्ने!'
मनमा कुरा सोच्दै बाजे कौसीतिर नियाल्छन्। काठको रेलिङ, काठकै फ्लोर, अलि फराकिलो, बस्नको लागि दुइवटा निँगालोको कुर्सी। आर्किटेक्ट गज्जबकै पाका हुन् बाले। कौसीमा गएर एउटा कुर्सीमा बस्छन्।
बाटोतिर नियाल्दै बस्दा टाढा कुनै आकृति देखिन्छ। बा चस्मा लगाएर त्यो आफ्नैजस्तो लाग्ने आकृति प्रस्ट्याउन खोज्छन्। त्यो सानो आकृति विस्तारै ठूलो भएपछि दुई जना मान्छे देखिन्छन्। हजुरआमा र नातिनी।
घर अगाडिको पसलमा चकलेट किन्दैछन्। नातिनीसँगको बहसमा पसले भाइ भन्छन्- 'एक रुपैयाँ फिर्ता लगेर के गर्छौ?'
'अम्रिकामा ठूलो घर बनाउछु,' नातिनी फर्काउँछे। हजुरआमा मुसुक्क हाँस्दै हेरीमात्र रहन्छिन्।
'के २१ के २७ के ६० के ६५, म त सधैँ उस्तै देख्छु। अझैँ बोटक्सले चाउरी लुकाउछु भन्छे, मैले यसै राम्री छौ भन्दा पनि नपत्याउने! मलाई किन अझै झुट बोल्नुपर्छ र? झण्डै दुई बीसे पुग्यो बिहे भको।
मेरो सानो परिवारको मुटु हो। अब नातिनीले जित्न थालिछ। खुब मिलेका छन् दुई जना। मेरी शेरकुमारी!'
अझै उस्तै उजेली। सि ग्लोज! आफैसँग बोर लाग्छ कहिलेकाहीँ। सधैँ उस्तै भन्छु, झुट बोलेको भन्ठान्दी हो कहिलेकाही, तर मैले जे देख्छु त्यही नै त भनेको हो।
आज फूलहरु अलि बढी ढकमक्क देख्छु। एउटा फूल तल खड्कुलोमा भरेको पानीमा थपिदेको छु। एउटा पानीमा तैरिने बत्ती बालेको छुँ, आजको दिन केही खास त पक्का छ।'
मनमा कुरा खेलाउदै जाँदा बाजे पुराना यादहरुमा डुब्छन्।
'तिमी मेरो रुममा पहिलो पटक आएको बेला, मैले के के मात्र मिलाइन। चुल्हो पुछेँ, बेड मिलाएँ, रुम सफा गरें, बाथरुम सफा गरेँ। यो बाथरुम घरिघरि जाने को हो भन्दै मनमनै गाली पनि कति गरें।
खासै पूजा नगर्ने मान्छे म, धुप बालेर पूजा गरेँ। तिमी भित्रै आउन आँटेपछि याद आयो, पहिलो पटक लक्ष्मी आउँदा चामल खुट्टाले छुवाउनुपर्छ। ढोकामा राखेर घोप्टाऊ भनेको, तिमीले छोयौ मात्र। अझै सुरक्षित छ त्यो याद।'
बाजे यतिकै यादमा रमाउँदै थिए। आमा र नातिनी कोठामा आइपुगे। नातिनी कोठामा फोन चलाएर बस्न थाल्छे।
'कता घुमेर आयौ आमा नातिनी भएर?,' बाले सोधे।
'त्यहीँ पर विकु दाइको छोराकोमा गएको, फूलको बीउ लिन। फुर्सद नै त हुँदैन अरु बेला।'
बाजे मख्ख पर्दै एकटक हेरिरन्छन्।
'के भो? किन हेरिराको त्यसरी?'
'केही भाछैन। अझै २५ को जस्तै देखिन्छौ नि।'
शेरकुमारी अर्कोपट्टि फर्किन्छिन्।
'एउटा कुरा थाहा छ? तिमी मलाई हेर्न नसकेर अर्को तिर फर्किदा यू ह्याभ वान युनिक मुभ, कति मिठो गरी बटारिन्छौ।'
'आज किन यस्तो कुरा?'
'ह्याप्पी बर्थ डे माई डियर!'
यति भन्दै गर्दा, उताबाट नातिनी आएर कानमा खुसखुस गर्न थाली।
'इट्स टुमरो। आज छ गते हो।'
'आमालाई नभन ल।'
'दुइटा किटक्याट'
'डन।'
'ह्याप्पी बर्थडे आमा,' नातिनीले थपी।
'प्रनिशा...,' तलबाट आवाज आयो। नातिनी खुरुरु दौडेर तल गई।
बाजेले बिहानदेखि गोजीमा राखेको गिफ्ट निकाले।
'मैले तिमीलाई फर्स्टमा पाउजु लगाइदेको याद छ?'
'छ।'
'मलाई त्यो टाइम म्याजिकल लाग्छ।'
'मेरो पनि बेस्ट टाइम हो।'
'कुर्सीमा बस।'
'पर्दैन, म आफै लगाउँछु।'
'म छैन र?' बाजेले बसेर देब्रे पाउमा पाउजु लगाइदिन्छन्।
'म हराइहाल्छु।'
'हराउँछौ र त मैले बहाना पाउँछु।'
'थ्यांक यू।'
'थ्यांक यू भनेर आँखा झुकाउँदा फेरि २५ कै देखिन्छौ नि।'
'अँ अँ पुग्यो मलाई...'
'मलाई सधैँ बिहान खुसी र अचम्म लाग्छ नि, वि आर टुगेदर भनेर। म यति भाग्यमानी छु जस्तो कहिल्यै लाग्दैनथ्यो।'
'तिमी बुझ्छौ जस्तो लाग्थेन नि कुनैबेला। तिमी टाढा जान्छौ भन्ने डर लाग्थ्यो।'
'४० वर्षपछि पनि?'
'हाहा, अब सोध्नुपर्छ र?' आमै लजाएजस्तो गर्छिन्।
बुढाबुढी गफिन थाल्छन्। बेला बेला बुढा सोच्छन्- 'बुढी भैछ शेरकुमारी, मिति बिर्सिन थालिछ। पैला पैला त मिति बिर्सँदा खाउँलाझैँ गर्थी। धन्न नातिनीले २ गोटा किटक्याटमा डिल फाइनल गरी,, नत्र त गाह्रो पर्ने मलाई।'
आज बुढाबुढी आफ्नै कोठाको कौसीमा बसेर खाना खान्छन्। आजको दिनभर सँगै बस्ने भनेर बाले फकाएछन्। सबै काम थाँती राखेर आज दुवैजना पुराना यादमा मस्त छन्।
आमै भन्छिन्- 'जीवनको यात्रा धेरै लामो समय संगसंगै तय गरेपछि कहिले मिठा, कहिले तिता यादहरु संगालिदो रहेछ तर अन्तमा मिठा याद नै रहेछन् बाँकी रहने।'
'तर ती तिता यादहरु आवश्यक पनि हुन्छन् नत्र सम्बन्ध कसरी बलियो हुन्छ र!' बा थप्छन्।
'अब त यादहरु पनि याद, अलि पुराना याद र अति पुराना याद भैसके।'
'यादका पनि छोरानाति भका होलान् नि, हाम्रा पनि त नातिनातिना छन्,' बा जिस्किन्छन्।
साँझ परेपछि बाहिर निस्केका सदस्यहरु सबै घरमा जम्मा हुन्छन्। आ-आफ्नो दिनभरको कामबारे भन्छन्। रातिको खाना खाइसकेपछि बुढाबुढी आफ्नै कोठामा उक्लिन्छन्। सबै काम सकेर बुढाबुढी बिछ्यौनामा पल्टिन्छन्।
निदाउनै लागेका बालाई आमैले तन्द्राबाटै ब्युँझाइदिन्छिन्- 'आज पनि बिर्सियौ है।'
'के कुरा बुढी?,' नजानेझैँ गरी बा सोध्छन्।
'मेरो बर्थडे त तिमीलाई कहिले याद हुँदैन है?'
आमैतिर फर्कंदै बा भन्छन्, 'बर्थडे होइन नि बुढी, आजको डेट पो याद नभएको। तिम्रो बर्थडे त मलाई जति कस्लाई याद हुन्छ र?'
त्यही पनि म त रातको बाह्र बजे विस गर्ने मान्छे। जवानीमा तिमीलाई मैले कसरी विस गर्थें याद छ नि है? राति बाह्र बजे विस गर्नुपर्ने। सबैभन्दा पहिले विस गर्छु भनेर म पन्ध्र-बीस मिनेट अगाडि नै फोन गर्थेँ, शब्दमै भए पनि म तिमीलाई गिफ्ट दिन्थेँ। तिमी पनि मलाई मेरो बर्थडेमा यस्तै गर्थ्यौ।'
यति भन्न नपाउँदै विस्तारै मान्छे घुर्न लागेको आवाज आउन थाल्यो। आमै घुर्न थालिछन्।
'बोल्दाबोल्दै निदाउछे। पहिले-पहिलेसँगै हिँड्दा गाडीमा, गफ गर्दागर्दै फोनमा र अहिले छेवैमा। अझै उस्तै त छे शेरकुमारी।'