नागरिकता राष्ट्रको पहिचान हो।
नागरिकको स्वाभिमान हो।
नेपालीले पाउने सम्मान हो।
नागरिकको स्वत्वाधिकार हो।।१।
तर आज
यसको न कुनै हक छ,
न कुनै अधिकार छ,
चाकडीले घेरिएको
ससुराली र सालीको
फरियाले बेरिएको,
भनसुनले भरिएको,
नातागोताले बाँडिएको,
नेताको यही परिचय छ,
त्यसैले नेताजीको नागरिकता बिक्रीमा छ।२।
यहाँ स्वाभिमान बेचिएको छ।
यहाँ इमान हराएको छ।।
नैतिकता त किताबमा छ।
जसलाई राजनीतिरूपी धमिराले खाएको छ।।
त्यसैले यहाँ मानवता हराएको छ।
किन्ने हो ? हजुर!!
आज नेताजी कै नागरिकता बिक्रीमा आएको छ।३।
न यी समाजवादी हुन्
न यी साम्यवादी हुन्
न त गणतन्त्रवादी
न त आदर्श वादी नै हुन्
यी त , यी त
राजनैतिक सिद्धान्तलाई
बेचेर खान पल्केका
पाँच वर्षे ब्यापारी हुन्
नाफाखोरी यिनको योजना
लगानी यिनको भाषण
विज्ञापन यिनका कार्यकर्ता
ग्राहक हुन् यिनका सोझा जनता
चाकडी यिनको चाहना
यसैभित्र लुकेको छ,
यसै भित्र जेलिएको छ,
समृद्ध नेपाल,सुखी नेपालीको योजना ।
त्यसैले त्यसैले
राखियो हजुर ! यिनको नागरिकता बिक्रीमा।४।
नेता,
आशाका केन्द्र थिए
जनताका भरोसा थिए
यिनमा विश्वास थियो,जनताको
आदर्श थिए,ब्यवहारको
तर
घात र प्रतिघात गर्दै
सत्ता कब्जा गर्न थाले
एउटाले पाए, अग्रगामी
अर्कोले पाए, प्रतिगामी
यसैमा सिद्धान्त साटे
यसैमा नैतिकता बेचे
हिजोका ती आदर्श नेता
आज विदेशीको हातमा
एउटाले दाहिने हात,
अर्कोले देब्रे हात,
समातेका समातेकै छन् ।
न यिनको बिचार छ,
न त सिद्धान्त नै,
न यिनको पहिचान छ,
न स्वाभिमान नै छ,
नेपाली भन्ने नाम मात्र छ,
किन चाहियो यिनलाई नागरिकता ?
त्यसैले आज बिक्रीमा छ।५।
ए देश बनाउने नेता हो!
अब त अति भो! नगर न यस्तो।
तिम्रा प्रत्येक ,किर्ते शव्दजालको नाटकले,
यहाँ लाज पनि लजाएको छ।।
एउटा नेपालीले अर्को नेपालीलाई,
ढोंगी र जालीको बिल्ला भिराएको छ।
सहनु कति सहनु, सिमा नाघिसकेको छ।।
सायद यसैले होला
नेताज्यूको नागरिकताहरु
गाउँ -गाउँ, शहर शहरका पसल पसलमा
बिक्रीमा राख्न मन लागेको छ।
बिक्रीमा राख्न मन लागेको छ।६।
अस्तु
भद्रपुर-७ झापा ।