क्षूब्ध समयको कारागारभित्र
बन्दी छन् कैयन् क्लान्त मष्तिस्कहरू,
मान र मोहरहित कारूण्यतामा
चिहाइहेर्छ- समाज,जीवन र अन्तर्मननको रुग्णता,
आस्थाको उजाडपनामा
मृत्युबोध/ जीवनचेतको पर्दा पछाडिबाट
नियालिरहेछ - बद्द जीवात्माको आशक्त/आत्मघघाती अन्धकुपता,
घनघोर वर्षाको चोट खाएका अकम्पित पहाडहरु-
कृतज्ञता वर्षाइरहेछ-सपना तोड्ने प्रत्येक आघातप्रती
र ऊ पनि
थन्काएर स्मृतिका पीडाहरु -
जीवन संघर्षले तिखारेखा कुण्ठा/विषाद,लघुताभास,अहङ्कृत बाह्य जुझारुपना
निस्किएको छ -
अन्तहिन खोजमा...!
भत्काएर विकृतिका अँध्यारा विभत्सता,त्रासदीय विडम्बना
र प्रीतिरागको आरोह-अवरोहमा
नभेटिएपछि आफ्नै मुल्यबोध !
म देख्छु पनि
आँखाको बंकरभित्रको क्लेश
खै किन चिहाइरहेछ बेलाबेला -
आँफैसँगको बैरभाव-
कि त ऊ सम्मोहनभित्रको विमुक्ततामा बाँधिएको घोडा होइन !
उ निद्रामा छ,
या निद्रा छुटेर ब्युँझिएको छ-
अन्यथा-
डाँकुहरु खोसिलगेका छन्-उसको मृदुलता
या बीच बाटोमै हराएको छ उस्को आशक्ती
नत्र कसरी बन्नसक्थ्यो-सिंगो पहाडभन्दा गह्रौ
-कसरी बच्न सक्थ्यो- आफ्नै छाँयाको रुपदोषबाट
कसरी बिलिन भए महाशुन्यमा त्यति गह्रौं अन्तर्वेदना !
बिलुप्त छ प्रश्नचिह्न -
बाँच्नुको भ्रममा उच्छ्वास छाड्दै गर्दा-
साँच्ची स्खलित भैसके उस्का आस्थाका पहाडहरु ?
साँच्चै क्लिष्ट छ -ऊ बाँचिरहेको अपूर्णता,
आँफैमा उभिएर बुझ्दैछु-
घच्घचाइरहेछ-चेतनाको दैलो-एकनास !
सोच्छु-कतै ननाङ्गिएको भए उस्को आस्था-समयको केलिगृहभित्र,
सायद बन्दैन्थ्यो-यतिबिघ्न कंकला
जो अचेल
फर्केर पनि हेर्दैन-
बिच्छेदित इतिहाँसको कुरुप प्रतिबिम्ब .....!