एउटा मान्छे
भोकले ग्रस्त छ
सुकेनासले जीर्ण ज्यान
अस्थीपन्जर ठिंग उभिएर
हत्केलाभरि जीजिविषा बोक्दै
आहार याचना गर्छ
अर्को मान्छे
परैबाट हुँकार गर्छ
यहाँ भोकले कोही मर्दैन
यो कस्तो नियति!
एउटा मान्छे
रोगले जीर्ण छ
कोभिडले लम्पसार लेटेर
एक मुठी सास खिच्दै
अक्सिजन याचना गर्छ
अर्को मान्छे
कानै टट्टाउने गरी
दूरदर्शनबाट बकबास बोल्छ
यहाँ रोगले कोही मर्दैन
यो कस्तो नियति!
एउटा मान्छे
अशिक्षाले अज्ञान छ
मझेरीको सुकुलमा बसेर
मनभरि जिगीषा जगाउँदै
ज्ञान खोज्न आतुर हुन्छ
तर मस्तिष्क विवश बन्छ
अर्को मान्छे
दूरबिनमा अन्तरिक्ष राखेर
किताबको ठेली बोल्छ
नानाभाँतीका अर्ति उपदेश दिन्छ
यो कस्तो नियति!
एउटा मान्छे
उकालीको स्कुल छोडेर
मन अमिलो पार्दै
ओरालीको खेतबारी खन्छ
लहरा पहारा छिचोल्दै
एक मुठी प्राण बाँच्छ
अर्को मान्छे
शिक्षाको ठेक्कापट्टा गरेर
लाखौँ लाख असुल्दै
धनसँग विद्याको सौदाबाजी गर्छ
यो कस्तो नियति!
एउटा मान्छे
जागीरको खोजीमा भौँतारिन्छ
सर्टिफिकेट कागजको खोष्टो बन्छ
अर्को मान्छे
मन्चमा उँभिएर कोकोहोलो
बेहोशी हुँकार गर्छ
यहाँ शत प्रतिशत साक्षरता छ
साक्षरता नै शिक्षा हो भन्छ
यो कस्तो नियति!
एउटा मान्छे
साक्षरताको सर्टिफिकेट च्यातेर
अझ छोडेर घरबार जीवनभर
जनसेवाको खातिरदारी गर्छ
समाजसेवाको नाममा जोगी बन्छ
अनि अति भयो भन्दै
हार्ने युद्धको बिगुल फुक्छ
निरर्थक विद्रोह बोल्छ
अर्को मान्छे
जस्केलोबाट सुटुक्क छिरेर
बेठिकलाई ठिक भन्दै
एउटाको बेपर्वाह जयगान गर्छ
अर्काको बिनासित्ति निन्दा गर्छ
ठिकलाई बेठिक भन्छ
बेकसुरमा कसुरदार बनाउँदै
कपटपूर्ण पूर्वाग्रह पाल्छ
यो कस्तो नियति!
एउटा मान्छे
देश बनाउने हो भन्दै
लुरुलुरु इमान खट्छ
किन्तु हर्दम समाजमा
होचो हुनुको हीनताबोध बाँच्छ
अर्को मान्छे
समाजसेवा फलाक्दै
गगनचुम्बी महलमा मस्ती उडाउँछ
धनदौलतको रकेट बुनेर
निष्फिक्री आकाश उड्छ
किन्तु हर्दम उही मान्छे
महान् देशभक्त कहलाउँछ
यो कस्तो नियति!