पक्कै भाग्ने छन् यी डरलाग्दा प्रहर
मृत्यु समीप देखिएका अत्यासिदा क्षणहरु
विरक्त लाग्दा चित्कारहरु
मसान बैरागका भावभङ्गीहरु
अनि
दूर क्षितिजमा देखिने छन् नवकिरणहरु
देखिने छन् उमङ्गिएका सरिताका छालहरु
कुस्माकरको सप्तरंगी आचल
लदाबदी फलेका वैशाखका काफल
नियाल्ने छन् अलप हुँदै गएका विरक्त क्षण
पतझडका दुष्कर क्षणलाई छोट्याउँदै
वसन्तको बहार देखिए झैँ
निशाको निस्पट्टतालाई चिर्दै
उषाका किरण देखिए झैँ
हे मानव पूर्वी दिशा फेरि लालिमय हुनेछ
प्रेमका लहर उठ्नेछन् एक दिन
किनारा मिल्नेछ ती लहरलाई
अनि हुनेछ सुखको पुनरावृत्ति
किनकि
कहिले सुख र कहिले दुख
यही त जीन्दगी हो।