हप्ता दिन भएछ पछिल्लो पटक घरबाट बाहिर भएको पनि। दूध खाने नै त छैनन्, त्यही पनि साना बच्चाहरु छोडेर बसेको मन त कति रोयो रोयो नि आफ्नो।
बाबु त त्यही पनि अलि ठूलो छ, बुझ्छ। तर नानी ५ वर्ष भै बल्ल। मामु कहाँ गको तिमी भन्दै फोन गर्दा पनि मुटु चसक्क हुन्छ। हुन त शान्तिले ६ महिनाको दूधे बच्चा त छोडेर बसेकी छ।
फेरि डिउटीको टाइम पनि कति बेला कति बेला पर्ने। अस्ति त २ दिनसम्म कुरा गर्ने मौका नै मिलेन। खैर! जे होस् एकदिन सायद सबै सामान्य होला अनि पहिला जस्तै…
'ला दिदी, बेड नम्बर ४ को बिरामीको अक्सिजन लेभल घट्यो, हेर्नु न' भन्दै प्रीति अत्तालिएको आवाजले पो झसङ्ग भएँ। ‘छिटो गएर अक्सिजन सिलिन्डरबाट अक्सिजन फ्लो बढाऊ’ भन्दै बिरामीलाई समातेर टाउको अग्लो हुने गरी राखेँ र अक्सिमिटरबाट अक्सिजन हेर्दै सास फेर्न सजिलो होस् भनेर सासबाट दिने दबाइ दिएँ।
तर खासै सुधार भए जस्तो थिएन। त्यतिबेलासम्म प्रीतिले डाक्टरलाई कल गरिसकेकी थिई। म बिरामीको पछाडि ढाडमा रब गर्दै थिएँ, उफ्! १५ लिटर प्रतिमिनेटमा बनाइसकेको थियौँ।
हेर्दा हेर्दै बिरामी सास फेर्न नसकेर निलो हुँदै गएको अक्सिमिटरमा अक्सिजनको लेभल घट्दै गएको देखेर मलाई नै पसिना आइसकेको थियो। हुन त यसै पनि यो गर्मीमा त्यो हावा पनि नछिर्ने पिपिई लगाउँदा पसिनाले पूरै ज्यान त कति भिज्यो भिज्यो।
लगातार ६ घण्टाको डिउटी सकेर हातबाट पन्जा खोल्दा हात त पुरै चाउरिएको हुन्छ। त्यही पनि त्यति गरेर बिरामी ठिक भएर घर फर्केको दिन त यति खुसी लाग्छ कि...
'सिस्टर, बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्छ, आफन्तसँग मञ्जुरीनामा लिँदै गर्छु, सामान तयार गर्नू,' भन्दै डाक्टर आफन्तसँग कुरा गर्न लाग्नुभयो। जसरी बिरामीको आफन्तलाई बिरामी बचे हुन्थ्यो जसरी नि बचाउनुस् भन्ने इच्छा हुन्छ, त्यसरी नै हामी स्वास्थ्यकर्मीको अन्तिम समयसम्म पनि त्यो बिरामी बचोस् भन्ने प्रयास हुन्छ।
भनिहालेँ नि, बिरामी ठिक भएर घर गको दिनमा नखाए पनि अघाउने अनि नसुते पनि निन्द्रा बिर्सने ममात्र होइन होला सायद।
तर त्यो खुसीभन्दा बढी दुख आजकल यो कोरोनाले गर्दा दिनैपिच्छे कति बिरामीको आँखा सधैँको लागि बन्द गरेर मुटमा गाठो बनाउँदै बिरामीका आफन्तलाई सरी भन्नुपर्दा लाग्दो रहेछ।
बिरामीको आफन्तसंग आँखा जुधाउने सामर्थ्य पनि आउन्न जब ओठ कमाउँदै तपाईको आमा, दिदी, बाबा, दाइ, भाइ, छोराछोरीलाई बचाउन सकिएन भन्नु पर्ने हुन्छ। कहिले त लाग्छ किन मैले यो स्वास्थ्य पेसालाई आफ्नो पेसा बनाएछु!
कम्तीमा यति धेरै लास त देख्नु पर्ने थिएन। कुनै बेला कुनै घरमा मान्छे मर्यो रे भनेपछि त्यो घरमा जान डराउने मान्छे म, नर्स भएदेखि कतिको अन्तिम अवाज सुनेर अन्तिम पटक आँखा बन्द गर्ने निडर भएछु। बरु त्यो डर नै ठिक थियो, यो निडर भई बिरामीको अन्तिम चित्कार अनि आफन्तको त्यो विलाप बाहिर साहसी भएको देखाउँदै सुन्नुपर्दा अनि भित्र भित्रै रुनुभन्दा त…
अस्तिसम्म तपाईलाई ठिक हुन्छ अनि घर जाने बेलामा यो निलो रंगको सर्ट लगाएर जानु पर्छ है भन्दै सर्ट लिएर आउने श्रीमतीलाई आज तपाईको श्रीमानलाई गाह्रो भएर इनट्युबेट गर्नुपर्छ, जे पनि हुन सक्छ भनेर डाक्टर मञ्जुरीनामा लिँदै हुनुहुन्थ्यो।
बाबालाई खाना म आफै खुवाउनु पर्छ भनेर लिएर आएकी छोरीले 'के भएको बाबालाई?' भनेर सोध्दा उसको उत्तर दिने आँट थिएन ममा। सकेको गर्यौं, भेन्टिलेटरमा राख्यौँ, तर सुधार हुने जस्तो त केही थिएन।
आफ्नो डिउटी सकियो, लगाएको पिपिई खोलेँ, एक पटक त्यो बिरामीलाई फेरि हेरेँ। के थाहा भोलि म डिउटी आउँदा उहाँ हुनुहुन्छ वा हुनुहुन्न! भारी मन लिएर बाहिर निस्किँदा श्रीमान ठिक हुने आश राखेकी त्यो श्रीमती र बाबाको बाटो हेरेकी त्यो छोरी देख्दा मडारिएर आयो मुटु।
लामो सास फेरेर उसको काँधमा हात राखेर छोरीलाई हेरेँ अनि केही बोल्न नसकेर निस्किएँ।
राति फोनमा घरमा कुरा हुँदा श्रीमानसँग पनि भनेँ, साह्रै खल्लो लागेको छ आज यस्तो भयो भन्दै।
'तिमीले निको भएर घर गएको बिरामीभन्दा बढी यो बिरामी मर्यो भन्छेऊ, ठिक भएर घर गएका बिरामी पनि सम्झ न' भन्दै सम्झाउँदै हुनुहुन्थ्यो।
हुन त दैनिक समाचारमा यति जनाको मृत्यु भयो भनेर सुन्ने मान्छेलाई त त्यो मात्र मृतकको संख्या हुन सक्छ, तर जब आफ्नो हातले स्याहार गरेका बिरामी, जसको त्यो सास फेर्न नसकेर भएको पीडा अनि त्यो अब के होला भनेर डराएका आफन्तका मलिन अनुहार सँग-सँगै हेर्दा-हेर्दै बिरामीले अन्तिम सास फेरेको देख्नु परेको हुन्छ। हाम्रो लागि त्यो मृतकको संख्या मात्र नभई नमिठो साह्रै नमिठो अनुभव हुन्छ।
'मामु मैले आज लुडोमा दादालाई जितेँ नि,' छोरी खुसी हुँदै भन्दै थिई। म पनि छोरी जस्तै खुसी हुने थिएँ एक दिन जुन दिन यो कोरोनालाई पनि हामीले जित्ने थियौँ। छोरीले अब ५ दिनमा हजुर आउनु हुन्छ है भन्दै दिन गन्दै गरेको देख्दा अहिले नै घर जाउँ जस्तो भएको थियो।
मनमा कति धेरै कुरालाई लुकाउँदै हाँस्दै ‘राम्रोसँग बस है, अब मामु छिट्टै आउँछु’ भनेर फोन राख्थेँ सधैँ। त्यस दिन पनि त्यही नै गरेँ। लगातार ६ घण्टा बिरामीको उपचारमा खटिएर आएकी म ओछ्यानमा पुग्ने बितिक्कै निदाएछु।
भोलिपल्ट बिहानै सामाजिक संजालमा देखिएको समाचारसँगै म झस्किन पुगेँ। दुखी भएँ म, हिजो जे अनुपेक्षित थियो आखिर त्यही भएछ। त्यो बेड नं ४ को बिरामीलाई बचाउन सकिएनछ।
एउटा बिरामी मर्दा परिवारले आफ्नो सदस्य गुमाएको पीडा जति नै पीडा हामी स्वास्थ्यकर्मीलाई पनि त्यो बिरामी बचाउन नसकेमा हुन्छ। तर यो पटक पीडा त्यति मात्र थिएन, दुख त्यसको मात्र लागेको थिएन।
अस्पतालमा त्यो बिरामीको मृत्युपछि भएको स्वास्थ्यकर्मीप्रतिको दुर्व्यवहारको पनि लागेको थियो। सामाजिक संजालमा देखेको त्यो खबरले फेरि एकपटक म किन नर्स भएछु भनेर सोच्न बाध्य भएँ।
मनमनै सोचेँ, बिरामीको को आफन्त ले त्यस्तो गरे होलान्? प्रीतिलाई फोन गरेँ, के भयो हिजो भन्दै। हिजो साँझ बिरामीको भेन्टिलेटरमा नै मृत्यु भएपछि आफन्तलाई जानकारी गरियो रे। अनि एकछिन मा ३, ४ जना केटाहरु आएर अस्पतालको ढोका, कुर्सी, तोडफोड गर्ने, डाक्टर नर्सलाई गाली गर्ने, गर्न थालेछन्।
यस्तो नगर्नुस् भनेर भन्दा उल्टै डाक्टरलाई हात छोडेछन्। त्यति मात्र कहाँ हो र, अनि सबै डाक्टर नर्स डराएर ढोका लगाएर भित्र बसेपछि ढोका नै फोडेर भित्र गएर डाक्टर सुदिपको त घाँटी अठ्याएछन्।
समा र सीता भागेर ट्वाइलेटसम्म जाँदा पनि लखेटेर कुट्न आएपछि त्यही झ्यालबाट २ तला तल हाम फालेछन्। समालाई त खुट्टामा मात्र चोट लगेछ, सीताको अवस्था त अलि गम्भीर नै छ रे।
प्रीतिको कुरा सुनेर मेरो मुटु रोकियो, आँखाबाट आँसुसँगै मनमा रिसको ज्वालामुखी पनि बढ्दै गयो।
बिहानसम्म त्यही आमा र छोरी मात्र थिए, अरुलाई त देखेको थिइनँ एक जना पनि। एकछिनको लागि पनि आएका थिएनन्। अहिले त्यस्तो घृणित काम गर्न को आफन्त आएछन्? आवश्यकता पर्दा एकपटक पनि नआएका ती आफन्त भनाउँदा मात्र आफ्नो क्रुरता देखाउन आएका थिए त्यसबेला।
'अनि वार्डका अरु बिरामी र उनीहरुका आफन्त, कसैले रोकेनन् त?,' भनेर प्रीतिलाई सोधेँ।
'दिदी, कहाँ रोक्नु, कोही त्यहाँको तमासा हेर्ने दर्शक भए त कोही अझ त्यसमा थप्दै थिए रे। तर कसैले पनि एकजनाले पनि त्यसो नगर्नू भनेर आएनन् रे। हामी बिरामीलाई आफ्नो सोचेर उपचार गर्छौं तर दिदी कसैले पनि हाम्रो कामको मन खोलेर प्रसंशा त गर्दैनन् बरु कताबाट खोट लगाम भनेर निहुँ मात्र खोज्ने रैछन्।
हिजो त्यही बिरामीलाई भेन्टिलटरमा राख्नु पर्यो, अवस्था कस्तो होला भनेर हजुर डराउनु भएको होइन? देख्नु भयो हामीले गरेको माया र स्याहारको बदला के गरे उनीहरुले!,' प्रीति दुखी मनले भन्दै थिई मसँग।
म पनि सोच्दै थिएँ, आखिर अहिले जसले अस्पतालमा त्यो निन्दनीय व्यवहार देखाएका छन्, के तिनीहरु कहिले पनि कुनै दिन पनि अस्पताल जानै नपर्ने रहेछ? उनीहरुलाई डाक्टर नर्स लगायत स्वास्थ्यकर्मीको आवश्यकता कहिले पर्दैन होला?
के अब यस्तैगरी हामी काम गर्न सक्छौँ होला र! सत्ता, शक्ति, पैसा, बल आदिको आढ़मा पटक पटक स्वास्थ्यकर्मीप्रति हुनेगरेको यस्तो अमानवीय कार्य कहिलेसम्म? आफू सुरक्षित नभई नभई आफ्नो परिवारबाट टाढा भएर अग्रपंक्तिमा रहेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरुले यस्ता मानवरुपी पिचासहरुसँग कहिलेसम्म असुरक्षित भैरहने?
घरबाट फोन आयो, 'तिमी आज नै राजिनामा दिएर घर आइहाल।'
मैले 'नाई, यस्तो अवस्थामा मैले जस्तै सबैले हात झिके बिरामीको अवस्था के होला, एउटा बिरामीले त्यसो गर्यो भन्दैमा सबैले त्यस्तो गर्दैनन् नि' भनेर कुरा भनिसकेको पनि थिइनँ, श्रीमानले 'दुनियाँको ठेक्का तिमीले लिएको छौ अरु बिरामी भनेर मरिमेटेको?
त्यसरी अस्पतालमा डाक्टर नर्समाथि आक्रमण गर्दा कुन बिरामी अनि त्यसका आफन्त आए रे त त्यहाँ रोक्नलाई? महिनौँ दिनदेखि घर परिवार नभनी त्यहाँ बिरामीको सेवा गरेको, सधैँ बिरामीको अवस्थालाई लिएर गुनासो गर्ने तिमी अनि तिम्रा साथीहरुलाई कुन बिरामी अनि आफन्तले बचाउन गए? त्यो झ्यालबाट हाम्फाल्ने तिमी भाको भए, त्यो राक्षस दिमाग भएको मान्छेले तिम्रो घाँटी अठ्याएको भए र तिमीलाई केही भाको भए…'
श्रीमान् अड्किनु भयो बोल्दा बोल्दै। म केही भनम् त्योभन्दा पहिला नै फेरि श्रीमान भन्दै हुनुहुन्थ्यो 'हेर, तिमी अरुले देख्दा स्वास्थ्यकर्मीको एउटा संख्या मात्र हुन सक्छौ। तर, मेरो लागि, यो घरको लागि तिमी सबथोक हौ। मलाई अरु केही थाहा छैन, मेरो बिन्ती तिमी आजै अहिले नै राजिनामा देऊ।'
मसँग न उहाँको कुरा टार्ने शब्द नै थियो न त उहाँलाई मनाउन नै सक्थेँ। तर एउटा प्रश्न थियो मनमा, यसरी नै हरेक स्वास्थ्यकर्मीले हात झिकिदिने हो भने…? अनि भोलि? खै अब कसरी?