कुनै दिन सोच्ने गर्दथेँ मायामा कसरी पर्छु भनेर
जसलाई कहिलै भेटेको छैन
जसको अनुहार देखेको छैन
जसको हात कहिलै थामेको छैन
जसको आवाज सुनेको छैन
कसरी ऊ आत्मिय साथी बन्न सक्छ भनेर
रातको शून्यतामा घन्टौँ गफिन्छु भनेर
सपनाको सहरमा महल बनाइ,
त्यसैमा बितएको पलहरुको बारे कल्पिन्छु भनेर
संसारको भिडभाडदेखि धेरै टाढा आफ्नो सुखी संसार कल्पिन्छु भनेर
थाहै नपाई एकअर्कालाई बुझ्ने मौका दिन्छु भनेर
कसैले नसुन्ने भाषा बोल्छु भनेर
आँखाको इसाराले भावनाहरु पोख्छु भनेर
नयाँ उत्साह उमंगका साथ आफूलाई सजाउँछु भनेर
अफ्नो सानो संसारको सीमा बढाउँदै कसैलाई समेट्छु भनेर
फेरि माया सम्बन्धमा पर्दिनँ भन्ने म मुटुभरि माया राख्छु भनेर
तिमी साह्रै राम्री छौ, सबैभन्दा पृथक छौ
तिमीलाई चाँडै भेट्न मन छ कतै एकान्तमा
जहाँ रमणीय वातावरणबीच
हाम्रो सुस्केरा र धड्कन गुञ्जियोस्
तिमीले भन्दा मेरो मनकी चरी खुसीले नाच्छ भनेर
तिम्रा विगतका कुरा कहिल्यै नसोधी,
सम्पूर्ण रुपमा तिमीलाई अपनाएर के तिमी मसँग जुनी काट्छौ? भन्दा
एउटा नयाँ जीवनको आशा बुन्छु भनेर
भर्चुअल कुराकानीबाट छोटिएको दूरी
अझ छोटिँदै एकअर्काको श्वास महशुस हुनेगरी छोटिन्छ भनेर
झाँगिदै गएको प्रेममय कुराकानी र भेटघाट
एउटा नराम्रो आदत र सपना बन्छ भनेर
जहाँ जीवन एउटा पर्खाई थियो, लामो अनन्त पर्खाई
जहाँ म पागलझैं पर्खिरहेको थिएँ
अतृप्त प्यास मेट्नको लागि,अटुट मिलनको लागि कसैको घर जलाई
त्यसैको खरानीबाट डोरी बाट्नको लागी
अरुलाई पीडा दिई खुसी साट्नको लागि
मलाई केही गलत महशुस नै भएन
होस् पनि कसरी?
न म कसैको घरमा थिएँ न कसैमाथि निर्भर
म त भर्चुअल प्रेमी थिएँ
मोबाइल भित्र सीमित
भौगोलिक दूरी मेट्दै तनका मनका भवना साट्ने
मैसँग गरेको कुराकनीले अरुबीच दूरी बढेको वास्ता नै भएन
अरु कसैको समय मैले ओगटेको मेसो नै भएन
सपना देख्ने म या देखाउने ऊ गलत अड्कल नै भएन
मेरो र उसको हाँसोको फोहोरासँगै अरु कसैको
आँसुको छहरा बहेको लेखाजोखा नै भएन
उसले कति सजिलै हाँस्दै भनी
मैले कसैको केही बिगारेको छैन
दोषी त अहिलेको समय हो, जहाँ नजिकको तीर्थ हेला हुन्छ।