सरकार!
गरिब नुन खोज्दै निस्कँदा
ठूलाठालु तिमीलाई गुनको नाममा
सुन निलिरहेछन्
गरिब गाँसको लागि चहार्दा
मै हुँ भन्ने बास भन्दै महल ठड्याइरहेछ
गरिब अक्सिजनमा दौडिरहँदा
तिम्रा आफ्नैले फोटो टाँस्दै कालाबजारी गरिरहेछन्
निमुखा रोग, भोकले तड्पिरहँदा
महल र दरबारमा रात्रीभोज चलिरहेछ
जनता सिटामोलको अभावमा थलिरहँदा
तिमी भोटको हिसाबमा नोटको खेतीमा व्यस्त छौ
खै कहाँ महशुस गरौँ?
सरकार छ भनेर
अभिभावक छन् भनेर
अप्ठ्यारोमा साथ छैन भने
तिमी मेरो लासमा राजनीति गर्छौ भने
असहायमाथि डण्डा चलाउछौ भने
देश त तिमी र तिम्रा आसेपासेको रहेछ
म जस्ता त यहाँ अनागरिक रहेछौँ
म मजदुरी गरेर किन तिर्ने कर?
त्यही करमा तिम्रो भोज र मोज हुन्छ भने
मेरो बास, गाँस अनि सास सडकमै जान्छ भने
भो अब लुट मिलिमिलि
स्विसमा राख
विदेश सयर गर अनि गराऊ
तर कृपया मेरो भोको पेटमा
टेकेर भोट माग्न नआऊ।
मलाई अक्सिजन र खोप देऊ
खाना र अप्ठ्यारोमा साहस देऊ
मैले अरू केही खोजिनँ
रामराज्य चलाऊ
तर मेरो सास र लासमा नखेल
सरकार!