साथीहरुको गतिविधि हेर्छु,
त्यसो नगर्नू भन्छु,
कहिले हाँसी-हाँसी
कहिले झोक्किएर सम्झाउँछु,
आफै चिन्तन गर्छु,
मनन गर्लान् कि भनी
व्यङ्ग्य भर्छु,
अत्ति हुँदा आँखा तर्छु,
तिनलाई रसाताल पुर्याएर
कुरा काट्दा विपक्षीले
झुकाएर आफ्नै शिर
पल पल मर्छु।
मेरा नव-सम्राटहरुको रवाफिलो
भाषण सुन्छु,
दम्भले भरिएको अभिव्यक्तिमा
उपेक्षित सिमान्तहरु,
गुणात्मक परिवर्तनका पर्खाइमा
छटपटाइरहेका दरिद्रतागस्त वस्तीहरु,
समृद्धि र सुखी जीवनको लागि
अहोरात्र डटेका खटेका
कर्तव्यनिष्ठ अनि जुझारु
श्रमजीवीहरुको लागि,
ती नै आशाका बासी पुलिन्दाहरुले
सम्बोधन भएको पाउँछु।
ती भाषणमा सधैँ झैँ
च्याँखे दलालहरुको लागि
किस्तीमा राखेर प्रस्तावित
ठेक्काहरु,
देश विदेशमा सिर्जित अवसरका
हनुमान ढोकाहरु,
सबैले दशकौंदेखि जनताहरुले बोकेका
ऋणका डोकाहरु बिर्साएको अनि
साथीहरुको हावा फुस्काएको पाउँछु,
शताब्दीयौंदेखि उत्पीडनबाट
मुक्ति खोजिरहेकाहरुसँग
पल पल म मर्छु।
मेरो नव-कुलिनहरु अनि नव-धनाढ्य
मित्रहरुका आसेपासेहरु
र उठबस हेर्छु,
लवाइ-खवाइको के कुरा
कुडाइभन्दा बढी हुँइकाइ हेर्छु,
कसैले नभेट्ने त्यो द्रुतगति,
कसैले नदेख्ने त्यो दुरदृष्टि,
जनमतबाट विजयी
तर अब
कहिले पराजित नहुने
अजय बन्धुहरुको नियतिले
र त कहिले आधा रातमा झस्काउँछ,
कहिले मुटु चस्काउँछ,
समग्रमा साथी!
तिमी प्रतिको विश्वास खस्काउँछ,
र त पल पल म मर्छु।