पसिनाको पोत उठाउन
प्रत्येक महिना बैंक धाउने
हातमा पेन्सनपट्टा लिएर
जिउँदै भएको प्रमाण दिन
छ-छ महिनामा सशरीर उभिएर
पेन्सनपट्टामा ठप्पा लगाउन पर्ने
आउटडेटेट निकम्मा सेवानिवृत्त कर्मचारी
सरकारले दिएको पेन्सन खाएर
घरीघरी म्याउ गर्ने?
जसको मानो खानु छ
उसको गीत गाउनु त कता हो
उल्टो फतुर गर्नुछ
यो भएन त्यो भएन भन्दै
असन्तोष, आक्रोश ओकल्ने
दुध दिने गाईको लात सहनु त कता हो
यी आउटडेटेड सेवानिवृत्त कर्मचारी
पेन्सन खानेले म्याउ गर्ने?
आफ्नै आँखाले धमिलो देख्छन्
दृष्टिदोष पालेर
कुण्ठा ओकल्छन्
आफ्नो लौरो नटेकेर
परचक्री ढोग्छन्
यस्ता सिल्ली सेवानिवृत्त
आउटडेटेड कर्मचारी
पेन्सन खाएर म्याउ गर्छन्।
अरु भन्दा ऊ नै जान्ने
म नै विज्ञ म नै ज्ञानी
म नै हुँ भनी ठान्छन्
आफूलाई सर्वज्ञाता मान्छन्
नैतिकताको लौरो समातेर
सडकमा ताण्डव गर्ने
सरकारसँग पौंठेजोडी खेल्ने
यी सेवानिवृत्त
आउटडेटेड कर्मचारी
पेन्सन खाएर म्याउ गर्ने?