विकास र समृद्धिको संगीत गुञ्जिनुपर्ने क्षण
निराशा र वेथितिको आक्रोस मुखरित भइरहँदा
दिगो शान्ति र स्थिरताको सन्देश फिँजाउनुपर्ने
आज,
अशान्ति र अस्थिरताको बेजोड प्रहसन भइरहँदा
यो धर्ती पनि आश्चर्यचकित भइरहेको छ
सूर्यको किरणको राप र ताप फैलिनुपर्ने
तर आफूमाथि
कालो बादल मडारिइरहेको देख्दा
यो नीलो आकास पनि रनभुल्लमा परिरहेको छ
त्यसैले, रातमा मन्द मुस्कान छर्ने जून पनि
छक्क पर्दै सोधिरहेको छ
हे! आज मेरो देश किन रोइरहेको छ ?
फोस्रा नारा र भाषणहरूमा
समृद्धिको जादुमय कला देखाउनेहरू
आफ्नै स्वार्थ र सत्ताको खातिर
जनतासामु भोटको भिख माग्नेहरू
तिनै जनताको लासहरूमाथि
आज नाङ्गो नाच प्रस्तुत गर्दै
निरीह र निर्लज्ज भएको देख्दा
कुर्सी र शक्तिको लागि आफ्नो इमान बेच्नेहरूको
निषेध र निर्ममताकोे यो लाजनीतिको पराकाष्ठा हेर्दै
मेरो देश आज आँशुका बलिन्द्र धारा बगाइरहेको छ
त्यसैले, ऊ परको शक्ति पनि चासोपूर्वक सोधिरहेको छ
हे! आज तेरो देश किन रोइरहेको छ?
देशका नोकर र समृद्धिका ठेकेदार भनाउँदाहरू
जनतासामु खाएको कसम र प्रतिज्ञालाई कुल्ची
रद्दीको टोकरीमा हालेको हेर्दा
आम जनताको आशा र भरोसामा कुठाराघात गरी
आफ्नै हित र स्वार्थहेतु
अहोरात्र चिन्तन गरेको देख्दा
समृद्ध नेपाल र सुखी नेपाली बन्ने ती सपनाहरू
भिरबाट फर्सी झरे झैं फुटिरहेको देख्दा
मेरो देश पश्चातापको भूमरीमा परिरहेको छ
त्यसैले, ब्रम्हाण्ड पनि रुचीपूर्वक सोधिरहेको छ
हे! आज तेरो देश किन रोइरहेको छ?
हजारौं सहिदहरूको वलिदानलाई तिलाञ्जली दिई
कैयन गरिब र निमुखाहरूको जीवनमाथि खेल खेल्दै
लाज पचाएर
तिनै जनको लागि संघर्ष गरेको
नाटक मञ्चन गर्नेहरूलाई देख्दा
उनै कलंकित, भ्रष्ट र माफियाहरूको
दबदबा कायम भइरहेको हेर्दा
मेरो देश भित्र-भित्रै विक्षिप्त भइरहेको छ
त्यसैले, छिमेकी पनि गिज्याउँदै सोधिरहेको छ
हे! तेरो देश आज किन रोइरहेको छ?
भेन्टिलेटर र अक्सिजनको अभावमा
संक्रमितहरू अस्पतालमा छट्पटिइरहँदा
तिनैका सेवक भन्नेहरू
विषम परिस्थितिमा जिम्मेवारीबाट कुलेलम ठोक्दा
खोप र औषधी उपचारमा तल्लीन हुनुपर्ने यो घडीमा
आफ्नै दाउपेच र स्वार्थमा घनिभूत भएर लागेको देख्दा
राष्ट्रको शक्ति र सामर्थ्य महामारीको
प्रतिकारको खातिर एकीकृत गर्नुपर्ने क्षण
राजनितिज्ञहरू गोलबद्ध रूपमा
म्युजिकल चेयरमा रमाई आनन्दविभोर भएको देख्दा
भोक र रोगले आक्रान्त तमाम जीवनहरूको
जीवन जिउने आशाहरूमा तुषारापात भएको हेर्दाहेर्दै
मेरो देश आज नमिठो सास फेरिरहेको छ
त्यसैले, मीठो गीत गाउने त्यो कोइली पनि सोधिरहेको छ
हे! आज मेरो देश किन रोइरहेको छ?
कोरोनको यो महाव्याधीमा
अस्पतालका शैया र बरण्डाहरूमा
जीवनमरणको दोसाँधमा जुधिरहेका
कठै! ती जीवनहरूको अन्तस्करणको
आवाज सुन्ने कोही नभएपछि
डर त्रासमा गुज्रिरहेका र
वियोग र वेदनाको पीडाले
चहराइरहेका ती आला घाउहरूमा
सान्त्वना र सहयोगको
मलमपट्टी लगाउने कोही नभएपछि
चुनावका ती मूल्यवान भोटहरूले
उनीहरूलाई नै गम्भीर चोट दिँदै
इमान्दारीता र मानवताको
साइनो सुन्ने कोही नभएपछि
फूलजस्तो सुन्दर मेरो देशमा
सधैं झुटको खेती गर्ने
कपटी खलपात्रहरूको उत्खनन् भएपछि
देश विकास र समृद्धि त कोरा कल्पना नै
दैनिक खाने गाँस र झुप्रोमा छानो हाली बस्ने बास नभएपछि
धोकेबाज राजनीतिज्ञहरूको त कुरै छोडौं
जनताको आशा र भरोसाको केन्द्र कोही खास नभएपछि
आज मेरो देश छटपट गर्दैछ
७, १७, ४७, ६५, ७७ साल भन्दै
इतिहासका ती पानाहरू गन्दैछ
तर फेरि पनि
सम्भावनाका मूलहरू कहाँ छन् भनी
सपना खोजिरहको छ
सपनाको भूमरीमा रुमल्लिँदै रुमल्लिँदै
मेरो देश ज्यादै नै पीडाबोध गरिरहेकोे छ
त्यसैले, इतिहास पनि सोधिरहेको छ
हे! आज मेरो देश किन रोइरहेको छ ?
बेइमान र बदनामीहरूको लर्को हेर्दाहेर्दै
वाक्क दिक्क भइरहेको छ
फेरि पनि तिनै खलनायकहरूले
देश र जनताको विगुल फुकेको देख्दादेख्दै
भित्रभित्रै अति नै उकुसमुकुस भइरहेको छ
फेरि पनि
देशभक्ति र निष्ठाको राजनीति गर्ने
कोही छन् कि भनी
ती नवयुवाहरूको प्रतिक्षा गरिरहेको छ
फूलजस्तै सुन्दर शान्त मेरो देशको
एकाएक कान्ति हराएपछि
उँचो हुनु पर्ने मेरो शिर निहुरिएको छ
त्यसैले, त सगरमाथा पनि सोधिरहेको छ
हे! आज मेरो देश किन रोइरहेको छ?
मेरो देश किन रोइरहेको छ?