ठिङ्ग उभिएको सतिसालको बूढो रूख
अनवरत चियाइरहेको छ—
पर्दा लगाइएको दरबारतिर
प्रतिक्रियाविहीन स्वरूपमा
र, सुस्केरा हाल्दै
खोजिरहेको छ कसैलाई ।
मिर्मिरेमै पनि बूढो रूख मदहोस देखिन्छ
आँखा तिरमिराउँदै भीख मागिरहेको अनुभूति हुन्छ
अनायास मनहरू बहलाउन खोजेको हो कि जस्तो लाग्छ
आशाको त्यान्द्रोको सहारा खोजिरहेको हुन सक्छ
होइन, केवल थकाइ मेटिरहेको हुन सक्छ
वा, नवीनतम चमत्कार हुने अपेक्षामा
सर्वत्र पुकारा गरिरहेको हुनुपर्छ ।
किन हो कुन्नि आजकाल बूढो रूख
मक्किन खोजिरहेको अनुमान लाउन सकिन्छ
सहाराविहीन पनि देखिन थालेको छ
आँसु पिएर बाँच्ने र बचाउने प्रयास गरिरहेको छ
एउटा अचम्मको काल्पनिक कथामा अल्झेर
दिवास्वप्नमा रुमल्लिइरहेको छ
निःशब्द कुँदिरहेको छ नयाँ यात्राको कल्पना शब्दमा ।
जीवनपर्यन्त
गजधम्म परेको बडेमानको त्यो सतिसालको रूख
आज सहाराविहीन महसुस गर्न थालेको छ
विगतका सुन्दर यादहरू पस्किन थालेको छ
हिजोका उल्लासमय दिनहरूको सम्झनामा रमाउँदै
कता–कता दिउँसै अँध्यारो महसुस गर्न थालेको छ
र, जवाफहीन महलहरूसँग आक्रोशित छ
बेसहारा भई लखतरान भएको छ ।
सतिसालको बडेमानको रूख
आजकाल थकित देखिन थालेको छ
निराशाको पराकाष्ठामा पुगेको देखिन्छ
किनकि
उसले चिहाएका दरबारहरू नाजवाफ छन्
नतमस्तक उभिएको उभियै छन्
प्रतिक्रियाविहीन टोलाउन बाध्य छन्
तिनका धुमिल सपनाहरू
अर्धमूर्च्छित अवस्थामा परिणत भएका छन् ।