तीन घन्टाको लगातार कामपछि तीस मिनेटको ब्रेक भयो। डाइनिङ हल खचाखच थियो। कोही खानामा ब्यस्त थिए। कोही मोबाइलमा। कोही गफमा ब्यस्त थिए।
कुनामा एउटा खाली कुर्सी रहेछ। त्यही कुर्सी तानेर बसेँ । भर्खरै मास्क के खोल्दै थिए, ‘वाइडेनले जिते यार रास्ट्रपति, अब त आप्रवासीका सुनौला दिन आउने भए’, पर कुनाबाट कसैको आवाज आयो। मास्कले गर्दा अनुहार ठम्याउन सकिनँ।
‘धन्न आप्रवासीलाई माया गर्ने मान्छेले जिते। ट्र्म्प फेरि आएको भए त! ओ माइ गड। तनाव हुने थियो यार। अमेरिका आएको नि आठ वर्ष पुगिसक्यो। अहिलेसम्म पेपरको टुङ्गो लाएको छैन। वाइडेन आएका छन। अब केही हुन्छ कि’, आवाज थपिदै गयो।
यस्तो लाग्दै थियो उनलाई भोलि नै वाइडेन आएर कागज हातमै थमाइदिन्छन्। जस्तो कि, छुटिएको छोरालाई बा आएर जग्गाधनीको लाल पुर्जा धमाइदिउन्। सपनाहरू अब बिपनामा परिणत हुन्छन् कि भनेर उनीहरुको मनमा आशाको दिप थपक्कै बलेको थियो।
‘खै के हुन्छ यार’, छेउमै बसेकोले प्रतिउत्तर दियो, ‘वाइडेन पनि नेता नै परे। चुनाव जित्दासम्म मात्र अलि आदर्श नारा पो थियो कि आप्रवासीलाई अनि कागज नभएकालाई हेर्ने भनेको।’
‘हुनत चुनावको समयमा हाम्रा देशका नेताले पनि भन्थे नि देशलाई सिङ्गापुर बनाउँछु। देशलाई तुइनमुक्त बनाउँछु। घरघरमा ग्यासका धारा आउछन्। बेरोजगार भएर बिदेश जानु पर्दैन। देशमा शान्ति अमनचयन कायम हुन्छ। हत्या र बलात्कार हुँदैनन्। अपराधी उम्कन पाउदैनन्। देशमै रोजगारको ब्यबस्थापन गरिनेछ युवालाई। यो त सब भन्ने कुरा न हो साथी,उसले थप्यो। ‘होइन राम्रो हुन्छ होला सबैले भनेको सुनेको छु । वाइडेन मनकारि र मानवीय भावाना बुझ्ने स्वभावका मान्छे हुन रे, पहिलो ब्यक्तिले आशावादी स्पष्टीकरण दियो।’
‘यिनको पालामा पनि केही भएन भने त असैय्य पीडा हुन्छ यार। घर न घाटको हुनेछ हाम्रो जीवन । घरमा बुढा बा आमा, श्रीमती र छोराछोरी छोडेर आइएको छ। आउँदाको साहुको ऋण बाकी नै छ। यता सधै वकिलले अनेक तारीख लाउछ। बेला बेला डलर बुझाउनुपर्ने। ६-७ महिना बाटोको पीडा सम्झने हो भने त भक्कानो फुटेर आउँछ यार’, अलि बढि भाबुक भएर भन्यो।
‘कैयौं रात सुतिएन। कैयौं रात खाइएन। कैयौं दिन सञ्चारदेखि धेरै टाढा। कहिलेकाहीँ त लाग्थ्यो कुन जुनिको पाप अहिले भोग्दैछु। अमेरिका नपुग्दै आधा संसार टेकिसकिएछ’, उसले बिलौना पोख्यो।
क्यासिनोमा नियम पनि कडै। खाना खानेबाहेक बाँकी समय मास्क लगाइहाल्नु पर्थ्यो। अलि ढिलो भयो भने त मास्क लगाउनुहोस् प्लिज भन्दै आइहाल्थे कर्मचारी। कोरोना पछि क्यासिनोमा नियम अलि कडै बनाइएको थियो। मास्कको प्रयोग र सामाजिक दुरीलाई बढी फोकस गरिएको थियो। सबैले मास्क लगाउने भएकोले गर्दा पनि कसैको अनुहार चिनिदैन्थ्यो। आफ्नै कर्मचारीलाई मास्क लगाउँदा चिन्ने र मास्क खोल्दा नचिन्ने हुन्थ्यो। मैले एक जना आफ्नै स्टाफलाई झन्डै दुई महिनापछि चिनेको। त्यो पनि संजोगबस ब्रेक सँगै परेकोले।
ब्रेक सकियो। म कामतिर फर्किएँ। त्यो ग्रुप पनि काममै फर्कियो। चार घण्टा काम गरेपछि फेरि अर्को ब्रेक भयो। डाइनिङ खचाखच नै थियो । सधै भरिभराउ हुन्थ्यो। एउटा स्याउ, दुइटा अन्डा र पानीको बोटल लिएर नजिकैको कुर्सीमा बसेँ। मेरो मनमा त्यहीँ कुरा खेल्दै थियो । आफन्तबाट टाढा हुनुको पीडा बुझ्दै थिएँ। बचपनका साथीसँग छुट्टिनुको पीडा बुझ्दै थिए। बुढा बा आमासँगको बिछोडको कथा बल्ल बुझ्दै थिएँ। माया भन्ने शब्दलाई नजिकैबाट नियाल्दै थिएँ।
माया आफन्तबाट जति टाढा भयो उतिनै बढि हुदोरहेछ। माया त नजिक भए पनि हुन्छ तर महशुस टाढा हुँदा धेरै गाढा हुदोरहेछ । ती मान्छेका कुराले बिझायो । मुट चसक्क भयो । जसले आफ्ना आफन्तलाई वर्षौदेखि भेट्न पाएका थिएनन्। तिनीहरू विवस छन् चाहेर पनि सजिलै आफ्नो देश फर्कन सकिरहेका छैनन्। सपना देखेर आएका थिए कथित सपनाको देशमा।
अहिले सपना देख्छन् फर्कने स्वदेशमा। सजिलो छैन । सजिलो रहेनछ पनि। सजिलो त मात्र सपना देख्न हुँदोरहेछ। तर पुरा गर्न बढो गाह्रो। यो सपना पनि अचम्मको हुँदोरहेछ। सपना बिनाको त सायद मान्छे हुदैन होला। सपना मान्छे अनुसारको फरक फरक हुन्छ। डाक्टर, पाइलट, इन्जिनियर, वकिल पढेलेखेकाको सपना छ। अलि राम्रालाई मोडेल अथवा हिरो, हिरोईनको सपना छ। अनि अल्छि काम नगर्ने तर गफ गर्नेहरुको लागि राजनीति बढो गजबको सपना हुँदोरहेछ।
राजनीतिमा सपना प्रधानमन्त्रीको हुदोरहेछ। प्रधानमन्त्री भैसकेपछि आजिवन यहीँ सिट पाए हुन्थ्यो भन्ने सपना हुँदोरहेछ । देश र जनता सबै मरे पनि मतलब नहुने तर कुर्सीको सपना चाहि रहिरहने रहेछ। हामी जनता पनि बढो अचम्मका छौ। जसले हाम्रो जीवनलाई बचाउन आफ्नो जीवन पासोमा राखेर काम गर्छ उसलाई लखेटेर मार्न खोज्छौ। उसका भवन तोडफोड गर्छौ। उस्कै खेदो खन्छौ। जस्ले हाम्रो जिवनलाई युगौबाट जिउदै मार्दै आइरहेका छन्, उनीहरुलाई भगवान जस्तै पुजीरहेका छौ। मालिक जस्तै सम्मान दिइरहेका छौ।
कुरा गर्दा बहुत जाने जस्तो गर्छौ हामी। सबै कुरामा ज्ञाता जस्तो। यसो कहिलेकाहीँ सोच्छु, अब हामीले गर्न बाकी के छ? सबै गरिसकेको जस्तो। कुनै क्षेत्र छ जस्तो लाग्दैन हामीले विकास नगरेको जस्तो। कागजमा हामीले धेरै गरेका छौ। रेडियो, टेलिभिजन र अखबारका अन्तरवार्तामा धेरै भनिसकेका छौं। तर व्यवहारमा धेरै गर्न बाँकी छ। जति बोल्यौ त्यो भन्दा धेरै गुणा गर्न बाँकी छ।
अलि धेरैनै बहकिए झै लाग्यो आफैलाई। विषयबस्तु भन्दा बाहिर गएझैं भयो। कतै धेरै केहि त लेखिनँ जो लेख्न नहुने थियो । कतै कसैको टिप्पणी त गरिन जो मैले गर्नु नहुने थियो। आफ्नै मनलाई सोधेँ। मन त आफ्नै न थियो । मेरो विपक्षमा किन जान्थ्यो र ? त्यो पनि अलि बहकिएको मन। खासै उत्तर दिएन यो पटक आफ्नै मनले। मौन बस्यो मन।
निःशब्द। सायद उसको पनि सपना छ होला थोर बहुत। जो देख्छ फगत तर अभिव्यक्त गर्न सकिरहेको छैन । खैर जहाँ उडेर गए पनि,जता बहकिए पनि चरि साझ गुडमा नआई सुख कहाँ पाउछ र! यो त झन आफ्नै मन । तर उकुसमुकुस उस्तै छ मनको।