अविरल सुक्सुकाइरहेछ आकाश
गहिरो शोकमा डुबेको छ प्रकृति
पीडान्त एकालापमा मूर्छित छन् बाटाहरु
घनघोर सन्नाटाको आतंक फैलिरहेछ चारैतिर
सन्त्रासको विरही गीत गाउँदै
उडिरहेछन् चराहरु।
हावामा बगिरहेछ हृदयभेदी स्तब्धता
चकमन्न सडकभरि लम्पसार सुतिरहेछ्न कुकुरका बथानहरु
मृत्यु र जीवनको द्वन्द्वात्मक खबर बोकेर
साइरन बजाउँदै बेतोड कुदिरहेका छन् एम्बुलेन्सहरु
घर नामको कारागारमा
सकी नसकी बेचैनीको श्वास फेर्दै
अभिसप्त आँखाले झ्यालको चेपबाट
एकतमासले चिहाइरहेछन् मानिसहरु।
ठेलमठेल गर्दै हिंड्ने गल्लीहरुमा मूर्दाशान्ति छाएको छ
कालोपत्रे भत्काएर जीवन खोज्दै उम्रन थालेका छन् कलिला मुनाहरु
लास उत्पादन गर्ने कारखाना भएका छन् रंगिन सहरहरु
धुवाँको कुहिरिमण्डलमा उकुसमुकुस रंगमंगिएको छ मानिसहरूका क्रन्दन
आफन्त छन्, छिमेकीहरु छन्, छन् सबै नातेदारहरु
तर मान्छे भएको छ टापू जस्तै नितान्त एक्लो
अक्सिजनको अभावमा एक्लै-एक्लै तड्पिरहेको लाचार
एउटा अदृश्य भाइरसको हमलाले अस्तव्यस्त छ सारा संसार
खै कहाँ हरायो बस्ती र बजारहरुको गुल्जार?
मुखमा मास्कको हत्कडी छ
खै कता हरायो मानिसको जीवन्त मुस्कान?
शून्यताको भूतले तर्साइरहेछ पल प्रतिपल
चकचक गर्ने केटाकेटीहरु चुपचाप छन्
पर्खिरहेछन् विद्यालयका ढोकाहरु
झोला बोकेर आइरहेका नानीहरु
तर उफ! भूतबंगला जस्ता भएका छन् विद्यालयहरु
युद्ध मैदान बनेका छन् अस्पतालहरु
यस्तो लाग्छ मानौं भेन्टिलेटरमा छ सिंगो मानव सभ्यता
तर पनि फुल्न छोडेका छैनन् शिरीषका फूलहरु
हाँस्न छोडेका छैनन् गुलाफका तरेलीहरु
अनि उड्न छाडेका छैनन् पुतलीहरु
बरु आफैलाई असरल्ल ओछ्याएर बाटोभरि
शिरीष र पारिजातका फूलहरु
स्वागातार्थ प्रतिक्षारत छन् मानिसका खुसीका पदचापहरु।