धेरै भयो जीवनबाट सपनाहरु छुटेका, लक्ष्यहरु छुटेका। बिना योजना जिन्दगीलाई कति घचेटिरहने?
पैसा कमाउनु छ? अहँ! छैन। अनि आफ्नो लागि ठूलो घर नि? अहँ! त्यो पनि छैन। बिहे पनि गर्नु छैन।
छोराछोरीको रहर बुढेसकालमा खड्केला नि?
मैले यसरी जीवनलाई कहिल्यै सोचेकै छैन?
अनि के सोचिबस्छौं त, जिन्दगी यसरी अघि बढ्छ?
अहँ! थाहा छैन।
साँच्चै जीवनमा मन र दिमाग चल्दैन थिए भने? यसरी आफ्नै मनसँग यी संवाद म दिनमा कति पटक गर्छु त्यसको हिसाब पनि मसँग छैन। फेरि मन सोध्छ- 'छ चाहिँ तिमीसँग के?'
खुलेरै भनिदिएँ- 'वास्तवमा मसँग केही छैन। शून्य छु म।'
आफैं र आफ्नै मनको दुश्मनी बोकेर मलाई घरीघरी लागिरहन्छ कि म आत्महत्या गर्नेछु। आफूले गरिरहेको काममा म सन्तुष्ट छैन। मेरो पढाइ दिमागलाई बोझ बनिसकेको छ। परिवार, आफन्त साथीभाई मलाई बुझ्दै बुझ्दैनन्। एकान्तमा आफैंसँग कत्ति कुरा गरौं।
आफ्नै स्वरदेखि डर लाग्छ मलाई। एउटा अन्धकार कोठाभित्र दिन बिताउन थालेदेखि अर्काको आवाज नसुनेको त झन् कति भैसक्यो कति। यसरी म कति दिन बसौँला र अझै?
अहिले म आत्महत्याको सबैभन्दा सजिलो उपाय खोज्दैछु। मान्छेले जहिल्यै सहजता खोजिरहँदो रहेछ। के मलाई कोठाभित्रै मर्न सजिलो होला त? यहाँ म कसरी सजिलै मर्न सक्छु? अन्दाज लगाउँछु फेरि दिमागमा एउटा कुरा खेल्छ।
केही योजना, लक्ष्य, सपना नभएपनि तिमीसँग एउटा सोच थियो नि बिर्स्यौ? जुन अवस्थामा म अहिले छु, त्यसमा मलाई आफ्नै म र आफ्नै दिमागसँग पनि कुरा गर्न रुचि हुँदैनथ्यो।
मन नहुदाँनहुँदै पनि सम्झें, उम् थियो त साँच्चै। म त संसार हिँड्न चाहन्थें। एक्लैएक्लै आफैंलाई बिर्सिएर प्रकृतिसँग हराउन चाहन्थें। बनाएर एउटा गन्तव्यविहीन यात्रा टाढा-टाढा पुग्न चाहन्थें।
कुनै अनकन्टारमा बगिरहेको खोलाको आवाजमा हराउन चाहन्थें। हिँड्दा हिँड्दै थाकेको बेला कुनै बुढो रुखको फेदमा हराउन चाहन्थें। सम्झिदै गर्दा मलाई जीवन रमाइलो लाग्न थाल्छ र हतार हतार आफ्नो अवस्था परिवर्तन गर्न खोज्छु।
झोलामा केही लुगाफाटो कोच्न थाल्छु। मलाई पैसा त चाहिएकै छैन, त्यो म लिन्नँ। अरु केही वस्तु मलाई त्यति आवश्यक लाग्दैनन्। फुत्त निस्किन भनी ढोकासम्म पुग्दा नपुग्दैन झट्ट फेरि मन सोध्छ- तिमी अब हिँड्दा हिँड्दै आत्महत्या गर्छौं हो?
के तँ चुपचाप शान्त कहिले बस्न सक्दैनस्! आफ्नै मनलाई झपार्न मन लाग्छ तर बिर्सिएको आत्महत्याको कुरा सम्झाइदिएकोमा म मनदेखि खुसी हुन्छु।
सोचें अब म हिँड्दा हिँड्दै जब मलाई जीवनदेखि फेरि उदेक लाग्नेछ, म कुनै भिरबाट फराल्नेछु। केही समय अघि एउटा उपन्यास पढेकी जहाँ कोही यसरी भिरबाट फरालेको थियो र बीचमा अड्किएर बाँचेको थियो।
म पनि त्यस्तै अड्किएँ भने? मर्न पनि सकिनँ र बाँच्न पनि सकिनँ भने? भैगो म खोलामा फराल्नेछु। साँच्चै मलाई त सानैदेखि खोलादेखि डर लाग्थ्यो। यो पनि भैगो म कुनै रुखमा झुन्डिन्छु। यसबारे मलाई त्यति ज्ञान छैन। जे होस् अब म हिँड्छु।
थाहा छैन यो पत्र म किन लेख्दैछु! कसका लागि लेख्दैछु! मेरो यस्तै पागलपनको कारण परिवार पर भएँ, साथीभाइ सम्पर्कविहीन भएँ। सबै छुटें। म आफूसँग कोही नहुन् किन चाहान्थें, त्यो मलाई थाहा छैन।
कोही नहुँदा म दुखी भइनँ तर आत्महत्या किन चाहान्थें, त्यो पनि थाहा छैन। अब म साँच्चै हिँड्नु पर्छ। जसले मेरो खोजी गर्न खोज्छ, यो पत्र उसका लागि हो। म चाहान्नँ मलाई कसैले खोजोस् र भेट्टाओस्।
धेरै समयदेखि हराइरहेकी पहिले आफूसँग खुब मिल्ने साथीको कोठा नजिकको बाटो हिँड्ने काम पर्छ। म उसलाई सरप्राइज दिने बहानामा उसको कोठा छिर्छु।
अस्तव्यस्त, भद्रगोलबीच एउटा बाहिरबाट खाली देखिने सेतो पन्ना म तिर फर्किएको हुन्छ। जहाँ कुनै सम्बोधन छैन। तिथिमिति छैन। बस् छन् त यी शब्दहरु मात्र।