हतार हतार अफिसबाट फर्केर कोठा पस्ने बित्तिकै झोलालाई विस्तारा माथि नै फालेर लुगा पनि नफेरी सरासर छतमा गएँ। उसलाई परैबाट हेर्नको लागि मात्रै भएपनि म दैनिकजसो छत उक्लिने गर्थें।
तर त्यस दिन मैले उसलाई त्यहाँ देखिनँ। तैपनि ऊ आउने आशामा बेलुकीको शितल हावाको स्पर्श लिंदै त्यहीं बसिरहें। भोलिपल्ट शनिबार भएकाले अघिल्लो दिन राति अबेरसम्म बस्न पनि कुनै समस्या थिएन। नत्र त बिहानै साढे ६ बजेको क्लास भेटाउन मोबाइलमा ५ बजेको अलार्म राख्नु बाहेक अरु विकल्प नै हुँदैन थ्यो।
राजधानीमा साँघुरो कोठा भित्र बसेर स्नातकोत्तरको पढाइ र जागिरलाई समानान्तर रुपमा अगाडि बढाउनुका साथै आफ्ना अनगिन्ती सपनाहरुलाई विपनामा परिणत गर्न भविष्यका बाटाहरुलाई अझै फराकिलो बनाउने विविध योजनाहरु बुन्दै जीवन चलिरहेको थियो। मनमा अनेकन कुराहरु खेलिरहन्थे।
कहिले पढाइ र परिवारको तनाव त कहिले खर्चको अभाव। कलंकीबाट कोठा सरेर सामाखुसी आएको एक हप्ता मात्रै भएकाले म अझै केही समय त्यो ठाउँको लागि अपरिचित थिएँ। चिनेजानेका कोही थिएनन्। न त कोही आफन्त, न त नजिकै कोठा भएका कोही साथी भाइ नै।
जे होस पल्लो घरको तल्लो तलामा पसल गर्ने बिमल दाइसँग कोठा सरेर आएकै दिन नै परिचय भैसकेकाले बेला बेला भलाकुसारी गर्न भने पाइन्थ्यो। ती दाइलाई भेटेपछि कहिले हाँसो मजाक र ठट्टा त कहिले घरका व्यथा अनि दुख सुखका कुरा चलि नै रहन्थे।
दाङ घर हुने ती दाइलाई मैले कहिलेकाहीँ जिस्किएर ‘हेल्लो दंगाली दाइ!’ भनेर बोलाउँदा, ‘के भो सुर्खेती भाइ!’ भनेर जवाफ फर्काउन पनि पछि पर्दैनथे।
घाम अब डुब्नका लागि तम्तयार देखिन्थे। समय हेर्नको लागि पाइन्टको दायाँ गोजीबाट मोबाइल झिकें। चुरोटको मिनी प्याकेट पनि सोही गोजीभित्र राजधानीको माइक्रोमा सवार कुनै यात्रु जस्तै अंचेटिएको अवस्थामा रहेछ।
यसो प्याकेट हेरें। धन्न एक खिल्ली मात्रै बाँकी भएकाले ठूलो खर्चको मारमा परिएन भन्ने सोचेर अलिकति भएपनि हर्ष बटुलें। बाँकी गोजीहरुमा दोहोर्याई तेहर्याई छामछुम पारें तर लाइटर भेटिनँ। सायद कुनै साथीलाई दिएर फिर्ता लिन बिर्सिएको हुनुपर्छ भन्ने लाग्यो।
म बस्ने कोठासँगै जोडिएको अर्को कोठामा बस्ने एकजना भाइ मभन्दा केही पर उभिएर कानमा इयरफोन ठोसेर मस्किंदै मोबाइलमा भिडिओ कल गर्दै थिए। ती भाइलाई हातमा च्यापेको चुरोट देखाउँदै हातले इसारा गरेर 'लाईटर छ त भाइ?' भनेर सोधेँ।
उनले टाउको हल्लाउँदै छ भन्ने संकेत गरेर आफ्नो गोजीबाट झिक्दै मेरो नजिकै आएर हातमै थमाइदिए। मैले पनि मन्द मुस्कानका साथ धन्यवाद भन्ने संकेत गर्दै चुरोट सल्काएर तत्काल लाइटर फिर्ता गरें। म चुरोटको पफ तान्दै बेलाबेला ऊ बस्ने घरको छत माथि छड्के नजर लगाइरहेको थिएँ।
म बस्ने घरसंगै जोडिएको पछाडि पट्टिको घरमा ऊ आफ्नी आमा र भाइसँग बस्दै आएकी थिई। उनीहरु बस्ने घर र म बस्ने घरको छतबाट नै आउजाउ गरौं, भन्ने हो भनेपनि कुनै मुस्किल थिएन। कोठा सरेर आएको पहिलो दिन नै उसलाई मैले मज्जैले नियालेको थिएँ।
चट्ट मिलेको पातलो अग्लो शरीर, बाटुलो अनुहार, अनि लामो केश भएकी ऊ प्रायः कुर्ता-सुरुवालमै देखिन्थी। ऊ छतमा कहिले धोएर सुकाएका लुगा उठाइरहेकी हुन्थी त कहिले आफ्नो भाइसँग खेलिरहेकी हुन्थी।
कहिले आफ्नो सेतो जापानिज कुकुरसँग रमाइरहेकी हुन्थी भने कहिले एक्लै छतमा घोइरिएर केही लेखिरहेकी हुन्थी। उसलाई एक झलक देख्न मात्रै पाए पनि मनले छुट्टै किसिमको आनन्द पाउने गर्थ्यो।
हिजो म यस्तै साँझकै समयमा आफ्ना असाइन्मेन्टहरु गर्नका लागि कलेजको झोला सहित एउटा प्लास्टिकको गुन्द्री लिएर माथि आएँ। ऊ र उसको भाइ पनि आफ्नो छतमाथि आएर बसेका रहेछन्। ऊ एउटा सानो डायरीमा केही लेखिरहेकी थिई।
म एकटकले उसलाई नै हेरिरहेको थिएँ। शरीरमा टिपिक्क मिलेको फिक्का गुलाबी रंगको कुर्ता माथि छिर्केमिर्के दोपट्टालाई छड्के बनाई कम्मर निर सुर्के गाँठो बनाएर लगाएकी ऊ साँच्चै नै जो कोहीलाई पनि आफ्नो सुन्दरतामा मोहित पार्न सक्थी।
ऊ निरन्तर लेखिरहेकी थिई। छेवैमा भाइले सायद आफ्नो स्कुलको होमवर्क गर्दै थियो। भाइले बेलाबेला आनाकानी गर्दा आफूले लेखिरहेको कलमले प्याट्ट उसको टाउकोमा हिर्काउँदै छिटोछिटो होमवर्क सकाउन प्रेमपूर्वक आदेश गरिरहेकी थिई ऊ।
भाइले उसको ध्यान भंग गरेछ क्यारे, डायरीमाथिका उसका औंलाहरु एकाएक रोकिए। अनुहार अगाडि आएका आफ्ना केश मिलाउँदै उसले छेउमा रहेको बोत्तल उठाएर पानी पिउन थाली। यताउती हेर्दै बोत्तललाई भुइँमा राख्नै लाग्दा उसले ठ्याक्कै देखी मलाई।
मैले उसलाई अघि नै बाट नियालिरहेको भन्ने कुरा उसले प्रष्टै बुझी। म अवाक भएँ। कसो गरुँ न के बोलुँ भयो। निधारमा गाँठो पार्दै शिर निहुराएर उसले फेरि लेखनलाई नै निरन्तरता दिई।
भलै उसका लागि त्यो मप्रतिको आक्रोश होला तर मेरा लागि त नशालु नयनका प्रहार बनेर मनभित्रै गढ्यो। व्यक्त गर्न नसकेका असीमित प्रेमका भावनाहरु उसको मुहारमा छचल्किएको म सजिलै महशुस गर्न सक्थें।
म गुन्द्री ओछ्याएर थचक्क बसें अनि तत्काल आफ्नो काम सुरु गर्न तिर लागें। छतमा अग्ला रेलिङ भएकाले बसिबसी उसलाई हेर्न सम्भव थिएन। आँखा वरिपरि उसको त्यो माया लाग्दो अनुहार घुमिरहेको थियो।
पलेंटी कसेर अघिल्तिर किताब र कापी अनि हातमा कलम लिएर म आफ्नो काममा तल्लीन हुनै लाग्दा कागजको एउटा डल्लो मेरो घुंडामा आएर ठोक्कियो। कसले के फालेको होला भनेर खोलेर हेरें।
'के हो नयाँ मान्छे? मलाई किन त्यसरी हेरेको? मलाई मन पर्दैन है भन्देको छु', लेखेर उसैले फालेकी रहिछ।
मनमा हर्षको सीमा नै रहेन। उसले 'नयाँ मान्छे' लेखेर सम्बोधन गर्दा पनि कानमै आएर सुटुक्क भने जस्तो मनभित्रै कस्तो मिठो गरी गुन्जिएको। बसेको ठाउँबाट जुरुक्क उठेर उसलाई हेरें। भाइ तल गएर होला ऊ एक्लै थिई।
म ऊ भएतिरै गएर कुरा गर्न एक पाइला मात्र चाल्न खोज्दा उसले आफूतिरको भर्याङ् देखाउँदै तलबाट जो कोही पनि आउन सक्ने संकेत गर्दै लेखेर पठाउन अनुरोध गरी।
मैले हुन्छ भन्ने संकेत गर्दै उसैले पठाएको कागजको अर्कोपट्टि, 'हेर्दैमा अपराध हुन्छ भने भैराखोस्। म त तिमीलाई सधैँभरि यसरी नै हेरिरहने हो' लेखेर एउटा मुस्कान सहितको कार्टुन पनि थपेर उसले जस्तै डल्लो नै बनाएर फालें।
कोही माथि आउँदै छन् कि भनेर उसले बेला बेला सतर्क हुँदै आफ्नो भर्याङ् तिर हेर्थी। मैले फालेको कागजलाई दाहिने हातले च्याप्पै समाती तर खोलेर पढेपछि म तिर हेर्दै मलिन अनुहार बनाई उसले।
फेरि आफ्नो डायरीको अर्को पाना च्यातेर केही लेखिसकेपछि उस्तै डल्लो पारेर अलिक निराश हुँदै म तिर फाली। मैले पनि उसले जस्तै गरी च्यापै समात्न खोजें तर हातबाट फुस्किएर भुइँमा झर्यो। टिपेर ऊ तिर हेर्दै त्यो कागज खोलेर हेरें।
उसले लेखेकी थिई, 'अब त्यसरी नहेर्नु हस् नयाँ मान्छे! मलाई डर लाग्छ।'
कति मिठो गरी लेखेकी। भित्र भित्र यसै मख्ख थिएँ म। फेरि उसैले पठाएको कागजको अर्कोपट्टि, 'किन डराएकी? तिमीलाई अपहरण गरेर हैन, घरमै आइ तिम्रो हात मागेर लैजाने हो!' लेखेर साथमा तलपट्टि पानको पातको चित्र पनि थपेर अघिल्लो पटक जस्तै गरी फालें।
यत्तिकैमा फोनको घण्टी बज्यो। यसो हेरें। बुवाले गर्नु भएको रहेछ।
'बुवा ढोग गरेँ। आरामै हुनुहुन्छ?' फोन उठाएर भनेँ मैले।
'भाग्यमानी भएस् बाबु। यता सबै ठिकै छ। तँ सञ्चै छस?' बुवाले भन्नुभयो।
बुवा बोलिरहँदा उसको छत तिर हेरें। तर मेरो अन्तिम कागजको कुनै प्रतिक्रिया नदिई भक्कानिंदै भर्याङ हुँदै तल झरी ऊ। उसलाई के भयो केही बुझ्नै सकिनँ मैले। चित्त नबुझेको कुरा त भनेर जानु पर्थ्यो। केटीको मन न हो, घुमाएर बिहेको कुरा गर्दा पिर मानी होला भन्ने लाग्यो।
मैले अलिक हतार गरें कि भन्ने महशुस पनि भयो मलाई। मन अलि खिन्न भयो। बुवालाई यता आफूपनि आराम नै रहेको खबर सुनाइसकेपछि उहाँले भन्नुभयो, 'बाग्लुङ बाट तेजनाथ बाले फोन गरेर, एकजना मास्टरकी छोरीको कुरा गर्दै थिए। तँसँग एकदमै जोडा मिल्छ भन्दै थिए। केटी अनेक कि छ रे! कुरो अगाडि बढाउने हो त?'
मैले मलाई सुहाउने घरकी बुहारी भेटिसकें बुवा भन्न मन थियो तर भन्ने आँट नै आएन।
'हुन्छ बुवा म अर्को हप्तातिर घर आउँछु अनि मजाले सपरिवार बसेरै सल्लाह गरौंला नि' भन्दै बुवालाई बिहेको झुटो आश्वासन देखाएँ। बुवाले नि 'ल त ल! आफ्नो ख्याल राखेस्। पछि कुरा गरौंला' भन्दै फोन राख्नुभयो।
फर्केर आउँछे कि भनेर अझै केहीबेर पर्खेर बसेँ तर ऊ आइन। छरिएका कापी किताबलाई झोलामा हालें। गुन्द्रीलाई उठाएर पट्याउँदै बेला बेला उसकै छत तिर हेरिरहेको थिएँ। अबेरसम्म पनि ऊ नआएपछि सबै सामान बटुलेर कोठामा आएँ।
आज बिहानै कलेज जानुपर्ने भएकाले बाँकी रहेको असाइन्मेन्ट र खानपिनको काम सकेर हिजो बेलुका अलिक छिटै विस्तारामा गई लडें। बिहान कलेजमा र दिउँसो काममा म निराश भएको देखेर सबै साथीहरुले के भयो भनेर चासो देखाइरहेका थिए। खासै त्यस्तो केही होइन, अलिक सञ्चो नहोला जस्तो भैराछ भन्दै मूल कुरोलाई ढाकछोप गरें।
म झसंग भएँ। अचेत भएर पुनः होसमा आएको जस्तो अनुभूति भयो मलाई। हिजो बेलुकादेखि उसलाई देख्न पाएको थिइनँ। म यताउती टहल्दै आफ्नै अन्तरमनमा लुकेर बसेका भावनासँग कुरा गरिरहेको थिएँ। कानमा इयरफोन ठोसेर भिडिओ कल गर्ने भाइ पनि कतिबेला तल गएछ पत्तै पाइनँ।
यसो घडी हेरेँ, सात बजिसकेछ। झमक्कै अँध्यारो भैसक्दा पनि ऊ आइन। मन यसै अत्तालिन थाल्यो। कतै बिरामी पो भई कि अथवा कुनै अप्ठ्यारोमा पो परी कि! अझ त्यो पनि नभएर हिजोकै कुरामा ठुस्स परेर, मसँग रिसाएर पो नआएकी होकि।
यी र यस्तै यावत कुराहरुले मनमा हलचल मच्चाउन थाले। ऊ यसअघि बेलुकीको समयमा कुनै पनि दिन छतमा नआएको मलाई याद नै छैन। तर आज ठ्याक्कै के कारणले ऊ छतमा आइन भन्ने प्रश्नले मनमा ठाउँ बनाइछाड्यो।
राति आठ बजेसम्म पर्खिंदा पनि नआएपछि म तल झरें। राइस कुकरमा एक मुठी चामल र कढाइमा औसतभन्दा अलिक ठूलो एउटा आलु सहित प्याज, गोलभेंडा र खुर्सानी मिसाएर त्यसैको झोल बसालें।
मन उदास थियो। केही गर्ने जांगर चलेन। खाना खाएर जुठा भाँडा पनि यसै छोडेर विस्तारामा गई लम्पसार परें। मनमा नानाथरीका कुरा खेलाउँदा खेलाउँदा कतिबेला निन्द्राको गहिराइमा डुबेछु थाहै भएन।
शनिबारको दिन सबेरै उठ्ने बानी बसाल्न कहिल्यै सकिएन। करिब नौ बजे बिहान तिर बल्ल आँखा खुले। झन्डै १२ घन्टाको अबधि हुँदा पनि मेरो कोठामा झ्यालको चरबाट यसो एकैछिन छुस्स मात्रै पस्ने घामका किरणले पलास्टिकको बाटामा हिजो बेलुकादेखि राखेका जुठा भांडामा प्रकाश पारिरहेका थिए।
ओछ्यान छोड्नै मन थिएन तर के गर्नू, आफू नउठी पानी पनि पिउन पाइँदैन थ्यो। मन नलागी नलागी भएपनि ओछ्यानबाट उठेर हातमा ब्रस र मन्जन लिएर बाहिर निस्कें। मन्जनको प्याकेटको हालत पनि ठ्याक्कै रस निचोरेर फालेको कागतीको जस्तै भइसकेको थियो।
अझै एक चिम्टी त निस्केला भन्ने आशाले प्याकेटलाई पछाडिबाट बटार्दै ढक्कनसम्म ल्याइ पुर्याउँदा फुचुक्क निस्केको मन्जनलाई ब्रसमा दलेर मुख भित्र ठेल्दै बाथरुम पसेँ।
धन्न ढिलो उठेर बाथरूम जाने पालो पाइयो नत्र त हामी बस्ने तलामा सबेरै बाथरूम जानेको भिड थेग्न नसकेर घरबेटीले अब टोकन सिस्टमको व्यवस्था गर्न मात्रै बाँकी थियो।
केही बेरको नित्यकर्म अनि भाडा माझ्ने काम सकेर खाना बनाउने तयारीमा जुटें। यसो पानीको जार हेरेको सब्जी पखाल्न पुग्ने पनि रैनछ। सिरानीमुनि राखेको साँचो गोजीमा राख्दै ढोकामा झुन्डिएको पुन्टे ताल्चा पट्काएर म बिमल दाइको पसल तर्फ लागेँ।
'ओहो! भाइ आज कलेज गएनौ?' दाइले शनिबार भन्ने थाहा नपाएर सोधे या ठट्टा गरेर सोधे। हाँस्दै जवाफ फर्काएँ मैले, 'ल दाइ! शनिबार हो नि यार आज।'
मेरो जवाफ नसकिँदै फेरि जिस्किँदै भने, 'हा हा हा! थाहा छ हो थाहा छ! तिम्रो अस्तिदेखिको ह्यांग ओभर बाँकी छ कि सकियो भनेर जाँचेको नि।'
म अचम्मित हुँदै भनेँ, 'म रक्सी नै नपिउनेलाई केको ह्यांग ओभर हुनु र दाइ।'
'थरी थरीका हुन्छन् नि हो भाइ ह्यांग ओभर। जस्तै प्रेमको ह्यांग ओभर!' घुमाउरो पारामा कुरा गर्दै दाइले व्यंग्यात्मक हाँसो हाँस्न थाले।
के भन्ने भन्ने शब्दै भेटिनँ मैले। यत्तिकैमा मलाई पसल भित्र बोलाए दाइले। म तिर हेर्दै उनले प्रश्न तेर्साए, 'तिम्रो र ममताको बीच के भयो भन त?'
'ममता! को ममता? मैले कुनै ममतालाई चिन्दिनँ यार दाइ' भन्दै जवाफ फर्काएँ मैले।
'ममता क्या! त्यही छतवाली!' भन्दै अलि जिज्ञासु पारामा मेरो उत्तरको प्रतिक्षामा थिए उनी।
उसको नाम ममता भनेर मैले यी दाइकै मुखबाट थाहा पाएँ। दाइले हाम्रा कुरा कसरी थाहा पाए। म त झन् आश्चर्यमा परें।
दाइको अघिल्लो प्रश्नको जवाफ दिंदै उनीसँग खुलेर भनेँ मैले,' मलाई ऊ एकदमै मनपर्छ दाइ। अस्ति बेलुका अधुँरो परिचय भएपछि देखेको पनि छैन यार उसलाई।'
मैले सुरुदेखिका सबै वृतान्त सुनाएपछि दाइले पनि अलि निराश हुँदै भने, 'ममताका सपरिवार त हिजो बिहानै कोठा सरिसके बाबु।'
म छाँगाबाट खसे जस्तै भएँ। मस्तिष्क नै खाली भएको जस्तो भान भयो।
दाइलाई सबै कुरा भनिसकेकाले अब उनीसँग ममतालाई भेट्ने उपाय मात्रै खोज्नु थियो मैले।
'म उसलाई एकदमै माया गर्छु दाइ। उसलाई मनमा लागेको कुरा, म छतमा हुँदा नै मेरो सामुन्ने आएर खुलस्त भन्न सक्थी नि! सानो बच्चा त हैन नि यार त्यो।' थोरै आक्रोशमा धेरै निराशापन मिसाउँदै भनेँ मैले।
'उसको जीवनमा तिमीले भन्दापनि अधिक माया गर्छु भन्ने प्रेमी नआएको होइन नि बाबु' उनले त्यसैमा थप्दै बडो भावुक हुँदै फेरि भने, 'विचरीलाई जिन्दगीभरि ननिभ्ने आगोमा होमेर गयो यार।'
मन ज्यादै नै चिसो भएर आयो। गहिराइमा पुगेर कुरो बुझ्न अलिक कठिन नै भयो मलाई।
'के भन्नुभएको दाइ? कुरो बुझिनँ नि मैले!' थप जिज्ञासाका साथ सोधें।
हामी दुईले कुरा गर्दै गर्दा एकजना बुढा बा पसलमा आए।
बसेको ठाउँबाट उठ्दै दाइले ती बाले मागेको सामान दिएर पठाए अनि अघिकै ठाउँमा बस्दै भने, 'प्लस टु पढ्न काठमाडौं आएपछि लामै समयसम्म एकजना केटासँग 'लिभिङ टुगेदर' बसेकी रैछे। पछि गर्भमा रहेको सन्तान हुर्कंदै गएपछि उसलाई चटक्कै छोडेर केटो फरार भएछ।'
यो सब के भैरहेको थियो मैले केही सोंच्नै सकिरहेको थिइनँ। मेरा हातखुट्टा सबै लल्याकलुलुक भएर आए। दाइ बोलिरहेका थिए। मेरा आँखा एकाएक रसाए।
निन्याउरो अनुहार लगाउँदै सोधें मैले, 'अनि गर्भमा रहेको सन्तानलाई के गरी दाइ ममताले?'
'स्कुल जाने भैसक्यो नि छोरो त! ममतासँगै बस्थ्यो, देखेनौ र तिमीले?' मलिन अनुहारमा हलुका चमक निकाल्दै भने दाइले।
'त्योसँगै बस्ने त ममताको भाइ हैन र?' सोधें।
दाइले म तिर हेर्दै जवाफमा भने, 'कहाँ भाइ हुनू, सँगै बस्ने त ममताकै छोरो होनि।'
म खङगरंगै भएँ। मसँग बोल्नलाई कुनै शब्द नै थिएन। म अचेत हुन मात्र बाँकी थियो।
'तपाइलाई यी सबै कुरा कसरी थाहा भयो त दाइ?' मन अमिलो बनाउँदै सोधेँ।
जवाफमा उनले भने, 'ममताकी आमाले भनेकी हुन् भाइ। बेलाबेला पसलमा आएर मेरी श्रीमतीसँग दु:ख पोख्थिन् उनले। यो कुरो यस टोलमा कसैलाई थाहा छैन। तिमीलाई मात्रै भनेको मैले।'
चारैतिर उसको अनुहार, नाम, त्यो सानो छोरो अनि हामीले छत वारिपरिबाट कुराकानी आदानप्रदान गरेका डल्ले कागज इत्यादि सबै एकमुष्ट आँखा वरिपरि घुमिरहेका थिए। मलाई ऊप्रतिको माया र सम्मान झनै बढेर आयो।
एकछिनको मौनतापछि दाइले भने, 'ममताले मलाई सहोदर दाइ जस्तै ठानेर माया अनि सम्मान पनि उत्तिकै गर्थी। जानु अघि भेट्न आएको बेला तिम्रो कुरा गरेकी थिई उसले। एकपटक नराम्रोसँग धोका खाइसकेकी हुनाले तिमीसँग नजिकिने डरले यो माया अनि प्रेमको जालबाट उम्किनको लागि ऊ आफै पन्छिएकी हो भाइ।'
पसलमा दुई/तीन जना ग्राहक आएका थिए। सामान लिएर ग्राहकहरु गैसकेपछि मैले दाइलाई भनेँ, 'म उसलाई एकपटक भेट्छु नि दाइ। मेरो भाग्यमा ममता नै लेखेको छ भने उसको इतिहाससँग मलाई कुनै आपत्ती छैन। म सहर्ष उसलाई स्वीकार्न तयार छु दाइ।'
तत्काल दाइले भने, 'उसलाई त स्वीकारौला अनि उसको छोरोलाई?'
मैले भनेँ, 'ममता मेरी भएपछि उसको छोरो पनि मेरै छोरो हुन्छ नि दाइ। केवल एकपटक ऊसँग मेरो कुरा गराइदिनुस्, म उसलाई आफैँ सम्झाउँछु।'
बारम्बार बिन्ती गरेपछि उनलाई फोन नगरी सुखै भएन।
दाइले भनेँ, 'आमासँग मोबाइल छैन। ममताको नम्बरमा फोन लगाइदिन्छु तिमी आफैँ कुरा गर्नू।'
मैले हुन्छ भन्दै टाउको हल्लाएँ।
धेरै पटकसम्म फोन नलागेपछि दाइले भने, 'सिमकार्ड परिवर्तन गरेजस्तो छ भाइ, अब सम्पर्क गर्न गाह्रो छ।'
म केही बोलिनँ। हरक्षण उसको अनुहार मात्रै अगाडि आइरहेको थियो। एक पटक भेट्न मात्रै पाएपनि मनमा गुम्सिएका अथाह भावनाहरु एकसाथ पोख्न मन थियो।
दाइको मन पनि खल्लो भएको हुँदो हो। मलिन अनुहार बनाएर केही नबोली मोबाइलमा पटक-पटक उसलाई नै फोन लगाउन प्रयासरत थिएँ। बसेको ठाउँबाट जुरुक्क उठेर पानीको पैसा खातामा टिप्नु भन्दै भारी पानीको जारसँगै भारी मनपनि लिएर म कोठा तर्फ लागेँ।
अब उसँग सायदै भेट होला। आजीवनलाई पुग्ने प्रेमको मिठो आभास दिलाएर थाहै नपाई विलीन भइ ऊ।