‘१ खर्ब २१ अर्ब रुपैयाँ वार्षिक लाभ
६ हजार मेगावाट बिजुली’
यी घोकाइएका शब्दहरु
मैले कहिल्यै बोलिनँ
गणतन्त्रको आन्दोलन उत्कर्षमा पुग्दै गर्दा
मैले कहिल्यै ठोकुवा गरिनँ कि
'बयलगाढा चढेर अमेरिका जानेहरु
या पटमूर्ख हुन्
या भ्रमको खेती गर्ने दुष्ट मतिका हुन्'
किनकि
म दुष्ट मतिको होइन
म त जनवादको वकालत गर्छु
म त विचार विमर्शमा विश्वास गर्छु
सामन्तवादलाई जराबाट उखेल्न चाहने म
कसरी गणतन्त्रमा 'मेरो सरकार' भन्न सक्छु!
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो
६५ वर्षको अथक प्रयास
र सहिदको रगतले लेखिएको यो नारा
म हरबखत भट्ट्याइरहन्छु
म कसरी छोड्न सक्छु?
किनकि
म धोकेबाज होइन
म तालिम प्राप्त छैन
मलाई के थाहा?
अगाडि र पछाडि बोल्ने कुरा फरक हुन्छ भनेर
सन् २०१५ को कुरा हो
मालिकसँग झगडा गरेको देखेको साँचो हो
तर त्यो त डनहरुबीचको लडाइँ पो रहेछ
मलाई थाहै भएन
डन-डन फेरि मिलेछन्
जनताको विरुद्धमा
फेरि एक बनेछन्
आशा गर्न नछोड्ने बबुरो म
दुई-तिहाईको बास्ना सुँघ्दै थिएँ
तर गनाउन थालेको पत्तै भएन
बच्चा र बच्ची 'चिड-चिडा' खेलौना
कोपर्दै अनि च्यात्दै रहेछन्
तर म
देखेको नदेख्यै गर्न सकिनँ
किनकि
म कसैको मतियार होइन।