तिमी हुँदासम्म यी मान्छेले चिनेनन्
यहाँ भुस किन्नेले चामल किनेनन्
सायद स्वर्ग नै प्रिय ठाने ईश्वरले
र त पापी दुनियाँमा बाँच्न दिएनन्
करोडौँ ताराहरुको बीचबाट जुन हराएको दिन
फेरि कहिले नआउने गरी
सायद चिन्न ढिला भयो
सपना अधुरो रह्यो
त्यो आकाशबाट एउटा सूर्य
नउदाउने गरी गयो
जाऊ तिमी खुसी भएर जाऊ
केही पिर नलिनू
तिमीले मलाई फुलाएका छौ
म त्यति सजिलै ओइलिने छैन
तिमीले सारेका कोपिला झर्न दिने छैन
म तिम्रै पाइला पच्छ्याउनेछु
म तिम्रै बाटो हिँड्नेछु
तिमीले देखेका सपना साकार पार्नेछु
म पहिला देशको लागि सोच्नेछु
बल्ल आफ्नो लागि सोच्नेछु
म तिमी जस्तै 'उज्वल' बन्नेछु।