महामारीको व्याधिले
नागरिकको जिउज्यान
कमिलाले खुराक ओसारे झैँ
ओसारिरहेको दृश्यमा
भित्र लुकेको खोपको
कमिसन ठूलो हो?
हस्पिटलका डाक्टर नर्स
व्यवस्थापक सफाइकर्मीको
ठूलो चित्कार
निचिकेतको प्रश्नले
तर्सिएको यमराज झैँ
सभा बन्द गरी नसुनिने
बनाइएको विपक्षीको झिनो स्वर
जनतामा व्याप्त हाहाकार
आफ्ना संघसंस्थाका
मानिसहरु मोटाएमात्र
आफ्नो छाला गैँडाको छालामा
रुपान्तरण हुने सोच ठूलो हो?
चिनेजानेका नजिकका
छरछिमेकीका
हँसिला अनुहार
हस्पिटलमा बेड र अक्सिजनको अभावमा
शून्यतामा बिलाइरहँदा
अक्सिजन लिएर आएमा भर्ना गरिने
भनि निकालिएको सूचनाले
विन्ध्याचल पर्वत
उचाली बुटी ल्याऊ
भन्ने सरकार ठूलो हो?
दीर्घजीवी हुनु
लामो प्रकृयामा
समाहित हुनु
अभाव र आवश्यकताका
बेला भेन्टिलेटरका पाइप
थुतिनु वर्तमानमा झैँ
सेनिसाइडको बाटोमा
वृद्ध वृद्धालाइ विकट
पहाडमा लगेर एक्लै
छाडिनु युवा सुट
संस्कृति अंगाल्न
मरेपछि मात्र बेड खाली
पाइनु राज्य नीति ठूलो हो?
खुलेआम साँढे
डुक्रिएझैँ
सत्ताको नशाले
आफू र ईश्वरमा
भेद नदेख्नाले
माथि उड्दा उड्दै
घामको रापले
पखेटा क्षत विक्षत भई
इकारस समुन्द्रमा खसेझैँ
भ्रमको वायुपंखी घोडा
आफ्नै षड्यन्त्रको नियतिले
पर्खाल भत्काउँदै
मानवीय हत्याको दोषबाट उम्कन
लिइएको विश्वास मत
अविश्वासमा परिणत
भइदिँदाको खुसी ठूलो हो?